झापा महिला गोल्डकपः उद्घाटन खेलमा पुलिस क्लब विजयी
सारांश
- एलभिडी झापा महिला गोल्डकपको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले चर्च ब्वाइज युनाइटेडलाई ८-० गोलले पराजित गर्यो।
- नेपाल पुलिस क्लबकी मीना देउवाले पाँच गोल र रेखा पौडेलले ह्याट्रिक गरेर खेल जिताए।
- प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ भने विजेताले १० लाख १० हजार र उपविजेताले ५ लाख पाउनेछन्।
झापा । शिवसताक्षी नगरपालिकास्थित दुधे रङ्गशालामा आजबाट सुरु भएको एलभिडी झापा महिला गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लब विजयी भएको छ ।
डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडलाई ८–० को फराकिलो गोलअन्तरले हराउँदै पुलिस सेमिफाइनलमा प्रवेश गरेको हो । पुलिसका तर्फबाट मीना देउवाले पाँच गोल र रेखा पौडेलले ह्याट्रिक पूरा गरे । रेखाले खेलको ३७औँ, ८०औँ र दोस्रो हाफको इन्जुरी समयमा गोल गरेकी थिइन् । यस्तै, मीनाले खेलको ५१औँ, ६०औँ, ६२औँ, ६८औँ र ८१औँ मिनेटमा गोल गरिन् । पन्धौँ मिनेटमा चर्चले पहिलो अन टार्गेट सट लियो । बाइस यार्डको दूरीबाट चर्चकी प्रतीक्षा मल्लको सट पुलिसकी गोलकिपर उषा नाथले सहजै कलेक्ट गरेकी थिइन् ।
सत्रौँ मिनेटमा पुलिसकी फरवार्ड मीना देउवाले चर्चको डिफेन्डरलाई बिट गर्दै लिएको पावरफुल सट चर्चको पोष्ट नजिकैबाट बाहिरिएको थियो । ३७औँ मिनेटमा पुलिसले खेलमा खाता खोल्न सफल भयो । दुई राष्ट्रिय खेलाडी कम्बिनेसनमा पुलिसले सुन्दर गोल गर्यो । केही दिनअघि मात्रै राष्ट्रिय टोलीमा डेब्यु गरेकी मीनाको क्रसमा रेखा पौडेलले सुन्दर फिनिस गरिन् ।
दोस्रो हाफको सुरुआती समयदेखि चर्चविरुद्ध दबाब बनाएको पुलिसले ५१औँ मिनेटमा मीना देउवाको गोलमा अग्रता दोब्बर बनाउन सफल भयो । चर्चको डिफेन्डर र गोलकिपरबीच राम्रो तालमेल नहुँदा मीनाले त्यसको फाइदा उठाइन् । ५९औँ मिनेटमा मीनाले सुन्दर फिनिस गर्दै व्यक्तिगत दोस्रो तथा टोलीको तेस्रो गोल गरिन् । उनले सम्झना लावतीको पासलाई गोलमा परिणत गरिन् । त्यसको पाँच मिनेट बित्न नपाउँदै मीनाले अर्को गोल थप्दै आफ्नो ह्याट्रिक पूरा गरिन् । पुलिसको लङ्गभली क्रसलाई चर्चकी गोलकिपर करुणाले राम्रो कलेक्ट गर्न नसक्दा मीनाले त्यसको फाइदा उठाउँदै टोलीलाई ४–० गोलको अग्रता दिलाउन सफल भइन् ।
६८औँ मिनेटमा रेखाको सुन्दर क्रसमा मीनाले आफ्नो चौथो गोल गरिन् । ८०औँ मिनेटमा रेखाले ३० यार्डको लामो दूरीबाट गरेको सटले सिधै चर्चको जाली चुम्न पुग्यो । रेखाको उक्त सटमा चर्चकी गोलकिपरले कुनै मौका पाइनन् । त्यसको तीन मिनेट बित्न नपाउँदै मिनाले टोलीका लागि सातौँ तथा व्यक्तिगत पाँचौँ गोल पूरा गरिन् । खेलको अन्तिम समयमा रेखाले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गर्दा टोलीलाई ८–० गोलको फराकिलो अन्तरको जित सुरक्षित गराइन् ।
खेलको प्लेयर अफ द म्याच पुलिसकी मीना देउवा भइन् । उनले नगद रु १५ हजार र ट्रफी पाइन् । मङ्गलबारको दोस्रो क्वार्टरफाइनल खेल एपिएफ फुटबल क्लब र सिङ्ग्लिङ स्पोर्टिङ क्लब सिक्किमबीच हुनेछ । दुधे रङ्गशालामा जारी प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।
प्रतियोगिताको विजेता टिमले नगद रु १० लाख १० हजार, उपविजेताले नगद रु पाँच लाख पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई नगद रु एक लाख ५० हजार प्रदान गरिने गोल्डकपका अध्यक्ष थोप्राले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण