नयाँ पार्टीको गृहकार्य : कुलमानको नेतृत्व, बालेनको समर्थन
सारांश
- कुलमान घिसिङको नेतृत्वमा नयाँ राजनीतिक दल गठनको तयारी भइरहेको छ, जसमा वैकल्पिक शक्ति र जेनजी पुस्ताका नेताहरूको सहभागिता रहनेछ।
- बालेन शाहले नयाँ दललाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन्, तर उनी कुनै दलमा आबद्ध नहुने र मेयरको कार्यकालपछि मात्रै यस विषयमा सोच्ने बताए।
- राष्ट्रिय स्वतन्त्र पार्टी पुनर्गठनको सम्भावना रवि लामिछानेको अडानका कारण लगभग टरेको छ, र जेनजी फ्रन्ट लगायतका समूह नयाँ दलमा सहभागी हुन छलफलमा छन्।
काठमाडौँ । विकास निर्माणसम्बद्ध तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका कुलमान घिसिङको नेतृत्वमा वैकल्पिक शक्ति र जेनजी पुस्तासम्बद्ध दल गठनको तयारी अघि बढेको छ ।
उज्यालो नेपाल अभियानका संस्थापकसमेत रहेका घिसिङको नेतृत्वमा र सबै पक्षको सहभागी हुने गरी नयाँ दल गठनको गृहकार्य भइरहेको छ ।
सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेको छ, यसका लागि राजनीतिक दल दर्ता गर्ने अवधि यही कात्तिक मसान्तसम्म मात्रै छ ।

यस अवधिभित्र दल दर्ता गर्नैपर्ने बाध्यताबिच उज्यालो नेपाल महाअभियान, वैकल्पिक शक्तिको रूपमा रहेका राजनीतिक दलका नेताहरू, स्वतन्त्र अभियन्ता तथा जेनजी पुस्ताका नेताहरूले संवाद र छलफललाई तीव्रता दिएका छन् । अन्य विषय टुङ्ग्याउन बाँकी भए पनि नयाँ बन्ने पार्टीमा कुलमानलाई नेतृत्व स्वीकार गरेर जाने सहमति भइसकेको निकटस्थ स्रोत दाबी गर्छ ।
- बालेनको समर्थन, सुमना र सुदनको सहभागिता
स्रोतका अनुसार कुलमानको नेतृत्वमा रहने नयाँ राजनीतिक दलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ठुलो हिस्सा सहभागी हुँदै छ । केही समयअघि मात्रै रास्वपा परित्याग गरेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठसहित रास्वपाको संस्थापन (रवि लामिछाने) इतर पक्ष नयाँ पार्टीमा पुनर्गठित हुन तयार देखिएको छ, यसका लागि उनीहरूले छलफल गरिरहेका छन् ।

सुमनाले वैकल्पिक शक्तिहरू टुक्रा–टुक्रामा नभई एकै ठाउँमा उभिनुपर्ने बताउँदै आएकी छन् । सुरुमा सुमनाकै नेतृत्वमा नयाँ शक्ति गठनको अभ्यास भए पनि वैकल्पिक शक्तिलाई निर्णायक बनाउन रास्वपाको एक खेमा र जेनजीसमेत कुलमानलाई नै नेतृत्व स्विकार्न तयार देखिएका हुन् ।
‘वैकल्पिक शक्तिलाई एकीकरण गरेर अगाडि लैजानुपर्छ भन्ने सुमनाजीकै कन्सेप्ट हो, नेतृत्व जो भए पनि नयाँ पुस्ताको माग र जेनजी आन्दोलनको भावनालाई समेट्नुपर्छ भन्ने उहाँले सुरुदेखि नै भन्दै आउनुभएको छ,’ सुमनानिकट एक नेता भन्छन्, ‘कोही साथीहरूले मान्नुहुन्न भने जबरजस्ती गर्ने कुरा हुँदैन, तर त्यहीअनुसार छलफल भइरहेको छ ।’
त्यस्तै ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङको टिम पनि कुलमानले नेतृत्व गर्ने पार्टीमा सहभागी हुन तयार भएका छन् । गुरुङनिकट स्रोतका अनुसार यसका लागि हामी नेपालले सुरुमा आफू नजिक रहेकाहरूले वैकल्पिक दल खोल्न आह्वान गर्नेछ, त्यसपछि कुलमानले पार्टी घोषणा गर्ने रणनीति बनाइएको छ ।
_Ym8CXmd1F4.jpg)
गुरुङको टिमलाई समेटेर कुलमानले पार्टी खोल्ने तयारी गरेपछि निर्वाचनमा सहभागी भएर अघि बढ्न तयार भएका जेनजी समूहहरू पनि उक्त टिममा जोडिन चाहेको छ । खासगरी रक्षा बमको नेतृत्वमा गठन भएको ‘जेनजी फ्रन्ट’ समेत मिलेर जाने विषयमा छलफल गरिरहेको गुरुङनिकट स्रोत दाबी गर्छ ।
उल्लिखित सबै अवस्था हेर्दा कुलमानको नेतृत्वलाई सबैले स्विकार्न तयार देखिन्छ । यसरी बन्ने शक्तिलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) समेत समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेको बुझिएको छ । बालेन आफैँले भने कुनै दलमा सहभागी नहुने र काठमाडौँ महानगरपालिकामा मेयरको कार्यकाल सकिएपछि मात्रै यसबारे सोच्न सक्ने बताएका स्रोत बताउँछ ।

‘मेयरसाब (बालेन) अहिले कुनै पनि पार्टीमा जाने वा खोल्ने मनस्थितिमा हुनुहुन्न । स्वतन्त्र रूपमा उठेको मेयर स्वतन्त्र भएरै कार्यकाल पूरा गर्नुपर्छ भन्नेमा हुनुहुन्छ । तर आन्दोलनको मर्म बुझेर वैकल्पिक शक्ति राष्ट्रिय राजनीतिमा निर्णायक बन्नुपर्छ भन्ने उहाँको पनि मान्यता हो,’ बालेननिकट एक सदस्य दाबी गर्छन्, ‘यसरी कुनै शक्ति बन्छ भने खुलेर समर्थन गर्छु भन्नुभएको छ । कुलमान घिसिङको नेतृत्वबारे उहाँ सकारात्मक हुनुहुन्छ ।’
- रविको कारण टर्यो रास्वपा पुनर्गठनको सम्भावना !
त्यसो त नयाँ शक्ति निर्माणको कुरा गर्दैगर्दा रास्वपा पुनर्गठनको विषय पनि नउठेको होइन । तर नेतृत्वमा रवि लामिछाने नै हुनुपर्ने रास्वपा संस्थापन पक्षको अडानका कारण उक्त पार्टी पुनर्गठनको सम्भावना लगभग सकिएको छ ।

अहिले लामिछाने सहकारी ठगी प्रकरणमा जेलमा छन् । अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि कार्यवाहक सभापतिका रूपमा डीपी अर्यालले काम गरिरहेका छन् । तर रास्वपाको सबै निर्णय लामिछानेकै निर्देशनमा हुने गरेको छ । सहकारी ठगीमा अदालतले पुर्पक्षका लागि थुनामा पठाउँदा पनि आफ्नो दोष स्वीकार नगरेर उनले आफैँ नेतृत्वमा रहनुपर्छ भन्ने हठ देखाउँदा पुनर्गठन सम्भव नभएको रास्वपा संस्थापनइतरका एक नेता बताउँछन् ।
‘रास्वपालाई नै पुनर्गठन गरौँ भनेर अरू सबै पक्षलाई हामीले मनाएकै हौँ । विगठित संसद्मा हामीले राम्रो प्रभाव छाडेका थियौँ । यही पार्टीभित्र नयाँ शक्ति पुनर्गठित हुँदा वैकल्पिक शक्ति थप सशक्त बन्न सक्थ्यो । एउटा लिगेसी र संसदीय अभ्यासको इन्सिच्युसनल मेमोरीसहित चुनावमा जान सकिन्थ्यो,’ ती नेताले भने, ‘रविजीको नेतृत्वमा गठन भएको पार्टी बलियो हुँदा उहाँलाई पनि राम्रै हुन्थ्यो । भोलि अदालतबाट निर्दोष ठहरिएको अवस्थामा उहाँलाई फेरि नेतृत्वमा ल्याउन हामी नै सहयोग गर्थ्यौँ, तर उहाँले मान्नुभएन ।’
लामिछानेले आफूले गल्ती गर्दै नगरेको र आफूलाई फसाइएको भन्दै आएका छन् । गल्ती नै नगरी किन पद छोड्ने भन्ने प्रश्न बारम्बार उनले गर्ने गरेका छन् । ती नेता भन्छन्, ‘पाँच वटा अदालतले निर्दोष भन्ने अवस्था देखिएन भनेको छ । उच्च अदालतले त्यसलाई सदर गरेको छ । गल्ती स्विकार्दै नस्विकार्ने, षड्यन्त्र भयो मात्रै भन्ने, नेतृत्व आफूबाहेक अरू हुनै हुँदैन भन्ने, यो हिसाबले त कसरी हुन्छ ?’
- विवेकशील धारको अलमल
आन्दोलनपछि चर्चामा आएका जेनजी नेताहरूमध्ये करिब ६० प्रतिशत विवेकशील साझा पार्टीनिकट छन् । रक्षा बमको नेतृत्वमा रहेको जेनजी फ्रन्टका अधिकांश जेनजीहरू यही स्कुलिङबाट आएका हुन् । यस्तै जेनजी मुभमेन्ट अलायन्समा रहेका व्यक्तिहरू पनि विवेकशीलनिकट छन् । सुदन गुरुङको टिममै रहेकी भावना राउतसहित केही युवा पनि त्यही पृष्ठभूमिका हुन् ।

यो स्कुलिङबाट हुर्किएका मध्ये धेरै अहिलेको सरकारमा समेत जोडिएका छन् । प्रधानमन्त्री, गृहमन्त्रीदेखि अन्य मन्त्रीहरूको सचिवालयसम्म उनीहरूको उपस्थिति देखिन्छ ।
तर केहीबाहेक यो टिमका अधिकांशले कसरी अगाडि बढ्ने भन्ने निर्णय गर्न सकेका छैनन् । यसबारे उनीहरूमा अझै अन्योल कायमै देखिन्छ । विवेकशीलका नेताहरू भने उनीहरूलाई आफ्नै पार्टीलाई थप बलियो बनाउनुपर्ने भन्दै फकाउने प्रयासमा रहेको बुझिएको छ ।
‘हामी सबै एकै ठाउँमा हुनुपर्छ भन्नेमा सहमत छौँ, तर कुन प्लेटफर्मबाट हिँड्ने भन्ने निर्णय भएको छैन,’ जेनजी फ्रन्टका एक सदस्य भन्छन्, ‘हामीले चाहेको भनेको सुशासन र भ्रष्टाचारमुक्त देश हो । यसको प्रत्याभूति गर्ने वैकल्पिक शक्ति जुनसुकै भए पनि हामी मूलधारको प्लेटफर्म मानेर सहभागी हुन तयार छौँ । तर अहिले ठ्याक्कै कहाँ जाने भन्ने निश्चित भइसकेको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
-
मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा
-
विदेशमा पढेर आएका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण