साँफेमा वारुण यन्त्रको विकल्प बनेका जेसीबी, ‘पर्भाली गाड’ र ‘माँझी कुलो’
सारांश
- अछामको साँफेबगरमा आगलागी हुँदा खोला र कुलोको पानीले बस्ती जोगाइयो।
- आगलागी नियन्त्रणका लागि दमकलको अभाव र स्थानीय युवा, प्रहरीको प्रयास महत्त्वपूर्ण रह्यो।
- आगलागीबाट १ करोड ९२ लाख ८० हजार बराबरको क्षति, तर खोला र कुलोले ठूलो क्षति हुनबाट जोगायो।
धनगढी । विपदका समयमा सानो कुलो पनि जीवनरेखा बन्न सक्छ भन्ने पाठ हालै अछामको साँफेबगरमा भएको आगलागीले सिकाएको छ । अछाम जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी आन्नद सारुका अनुसार बस्ती नजिक रहेका खोला र कुलोको पानीले मान्छेको जीवन बचाउन सकिन्छ भन्ने त्यो एक गतिलो उदाहरण हो ।
साँफेबगरमा गत शनिबार राति आगलागी भएको थियो । करिब ९ बजे स्थानीय सुमन कुँवरको पसलमा विद्युत् सर्ट भएर लागेको आगोले क्षणभरमै रौद्र रूप लियो । परिणामस्वरुप आसपासका केही पसल जले । अधिकांश संरचना काठबाट बनेका कारण आगो फैलिँदै गएको थियो ।
वारुण यन्त्र नहुँदा आगलागी नियन्त्रण निकै चुनौतीपूर्ण बन्यो । प्रहरीका सई देवेन्द्र कुँवरको कमाण्डमा प्रहरी टोली उद्धारमा खटियो । यद्यपि आगलागी नियन्त्रणको कुनै साधन उपलब्ध थिएन ।
‘हामी फिल्डमा पुग्दा आगो अनियन्त्रित भइसकेको थियो । हामीसँग पानीको स्रोत थिएन, न त आगो निभाउने आधुनिक उपकरण,’ सई कुँवरले भने, ‘पसलभित्र रहेका ग्यास सिलिन्डर एकपछि अर्को गर्दै ठुलो आवाजका साथ पड्किरहेका थिए, जसले गर्दा कोही पनि नजिक जाने आँट गर्न सकिरहेको थिएन । स्थिति अत्यन्तै चुनौतीपूर्ण र त्रासपूर्ण थियो ।’
यस्तो घटना साँफेबगरका लागि नौलो थिएन । ६ महिनाअघि मात्रै सोही ठाउँमा भएको आगलागीले करोडौँको क्षति पुर्याएको थियो । पटक–पटकको आग्रह र मागका बाबजुद बजारमा एउटा दमकलसम्मको व्यवस्था हुन सकेको थिएन ।
साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्रबहादुर कुँवरका अनुसार छिमेकी चार पालिका (साँफेबगर, चौरपाटी, जयगढ र मेल्लेख) मिलेर दमकल किन्ने योजना अन्तिम चरणमा छ । ‘हामीले दमकल किन्न बजेट छुट्ट्याएर हस्ताक्षर प्रक्रियासमेत अघि बढाएका छौँ । त्योभन्दा पहिल्यै यो अर्को दुःखद् घटना भयो,’ उनले भने ।
खोलाको पानी कुलो हुँदै नालीमा आइपुग्यो र आगोको लप्का नजिकै पानीको स्रोत उपलब्ध भयो । बजारका स्थानीय युवा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली एकजुट भएर आगो निभाउन खटिए ।
सई कुँवरका अनुसार दन्किरहेको आगोका कारण त्यो रात सबैतिर निराशा र छटपटी थियो । स्थानीयवासीको एकताका कारण आगो निभाउन प्रकृतिले दिएका स्रोत–साधन प्रयोग गर्ने जुक्ति निकालियो ।
बजारको पछाडि बगरिरहेको खोला ‘पर्भाली गाड’को पानी निकै गहिरो सतहमा थियो । त्यहाँबाट पानी निकालेर ल्याउन असम्भव थियो । त्यहीँ नजिकै सिँचाइका लागि बनाइएको ‘माँझी कुलो’ सुक्खा मौसमका कारण रित्तो थियो ।
स्थानीय व्यवसायी गौतम कुँवर आफ्नो जेसीबी लिएर अघि सरे । उनको जेसीबीले तत्कालै पर्भाली गाडमा माटो र ढुङ्गा थुपारेर अस्थायी बाँध बनाउन थाल्यो । खोलाको प्राकृतिक बहावलाई छेकेपछि गहिरोमा रहेको पानीको सतह ह्वात्तै बढ्यो र रित्तो माँझी कुलोमा उक्लिन थाल्यो । त्यो कुलो बजारको सडकसँगै रहेको नालीसँग जोडिएको थियो ।
केहीबेरमै खोलाको पानी त्यो कुलो हुँदै नालीमा आइपुग्यो र आगोको लप्का नजिकै पानीको स्रोत उपलब्ध भयो । बजारका स्थानीय युवा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली एकजुट भएर आगो निभाउन खटिए । कसैले नालीबाट बाल्टीमा पानी भर्दै थिए । कसैले माटो र बालुवा फाल्दै थिए, त कसैले नजिकै रहेका अन्य पसलबाट सामान सुरक्षित स्थानमा सार्दै थिए ।

‘हामीले बाल्टी, गाग्री, जे–जे भाँडा भेटियो, त्यसैले नालीबाट पानी उघाएर आगोमा खन्याउन थाल्यौँ,’ सई कुँवरले भने ।
आगजनी भइरहेको ठाउँ नजिकैका अन्य पसलमा आगो सल्किन नदिन गौतम कुँवरको जेसीबीले दायाँ–बायाँका केही पसल भत्काएर ‘फायर लाइन’ बनायो । डेढ घण्टाको सामूहिक प्रयासपछि मध्यरातमा आगो नियन्त्रणमा आयो ।
आगो निभ्दासम्म सात वटा पसल पूर्ण रूपमा जलेर खरानी भइसकेका थिए भने दुई वटामा आंशिक क्षति पुगेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार आगलागीबाट करिब १ करोड ९२ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भयो । त्यो रात खोला, कुलो र स्थानीयको जुक्ति नभएको भए क्षति अझै भयावह हुने र पूरै बजार खरानी हुन सक्ने खतरा थियो ।
यो घटनाले परम्परागत संरचना र प्राकृतिक स्रोतहरूको महत्त्वबारे गहिरो पाठ सिकाएको साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्रबहादुर कुँवरको भनाइ छ ।
अतिक्रमण गर्दै र मास्दै आएका कुलो, नहर, खोलाहरू यस्तो संकटको बेला जीवनरेखा बन्न सक्ने एक पाठ सिकाएको उनले बताए । यो घटनाले पानी संरक्षण गर्नुपर्ने रहेछ भन्ने पाठ सिकाएको उनले प्रस्ट पारे ।
‘अघिल्लो पटकको आगलागीमा पनि यही कुलोले हामीलाई ठुलो राहत पुगेको थियो । यसले हामीलाई यी संरचनाहरूको संरक्षण गर्नुपर्छ र यिनको महत्त्व बुझ्नुपर्छ भन्ने सन्देश दिएको छ,’ नगर प्रमुख कुँवरले भने ।
प्रमुख जिल्ला अधिकारी सारुका अनुसार आगलागी जस्तो विपदमा दमकल आवश्यक हुन्छ । दमकल नभएको विकट पहाडी क्षेत्रमा कुलो, पोखरीजस्ता पानीको स्रोत जुटाउन उनी स्थानीयलाई सुझाव दिन्छन् ।

‘हामीले घनत्वको हिसाबले सानो–सानो बजार क्षेत्रभन्दा माथि डाँडातिर ट्याङ्की बनाएर पानी जम्मा गरेर राख्यौँ भने त्यसबाट पाइप लगाएर बजार क्षेत्रतिर ल्याएर आगजनीजस्तो आपतविपतमा प्रयोग गर्न सकिन्छ,’ उनले भने ।
भवन संरचना बनाउँदा पनि यस्ता कुरामा ध्यान दिन सके काम लाग्न सक्ने प्रमुख जिल्ला अधिकारी सारुको भनाइ छ । उनका अनुसार पहिला संघीय सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत तत्काल राहत वितरणका लागि व्यवस्था गरेको हुन्थ्यो ।
अहिले राहत वितरणको प्रक्रिया फरक छ । अब पालिकाको विपद् फोकल पर्सनले विपद् पोर्टलमा विवरण प्रविष्ट गरेपछि मात्रै राहत वितरण हुन्छ । सो विवरणका आधारमा पालिकाले राहत उपलब्ध गराउँछ । त्यसका लागि जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयपछि प्रशासनमार्फत संघीय सरकारलाई अनुरोध पठाइन्छ र त्यसपछि मात्रै स्थानीय तहलाई राहत पठाउने गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण