पिसाब फेर्नेबित्तिकै पोल्छ ? कारण, लक्षण र उपचार विधि
सारांश
- पिसाब गर्दा जलन हुनुका विभिन्न कारणहरू र यसका लक्षणहरू बारे जानकारी दिइएको छ।
- मूत्रनलीको संक्रमण, यौनजन्य संक्रमण, मिर्गौलाको पत्थरी, र प्रोस्टेटसम्बन्धी समस्याहरू यसका मुख्य कारण हुन्।
- पर्याप्त पानी पिउने, क्रेनबेरी जुस पिउने, र सरसफाइमा ध्यान दिने जस्ता घरेलु उपचार विधिहरू पनि उल्लेख गरिएको छ।
काठमाडौँ । पिसाब गर्दा वा गरिसकेपछि जलन हुनु वा पोल्नु सामान्य भए पनि कष्टकर समस्या हो । यसलाई चिकित्सा भाषामा ‘डिस्युरिया’ भनिन्छ । यो जलन जुनसुकै उमेर र लिङ्गका मानिसहरूमा हुन सक्छ ।
धेरैजसो अवस्थामा, यो गम्भीर रोगको संकेत होइन, तर मूत्र प्रणालीमा समस्या वा संक्रमणको कारणले हुने गर्छ । पिसाब गर्दा जलन हुनुका धेरै कारणहरू हुन सक्छन् । आज हामी यसका कारण, लक्षण र उपचार विधिहरूबारे चर्चा गर्नेछौँ ।
१ मूत्रनलीमा संक्रमण
पिसाब गर्दा पोल्नुको सबैभन्दा सामान्य र प्रमुख कारण मूत्रनलीमा संक्रमण हो, ब्याक्टेरिया (सामान्यतया ई. कोली.) मूत्रनलीमा छिर्यो भने वा त्यहाँभन्दा अगाडि जान थाल्यो भने यस्तो हुन्छ ।
महिलाहरूको मूत्रनली छोटो हुन्छ, जसले गर्दा ब्याक्टेरिया कम समयमै मूत्रनलीमा पुग्छ । त्यसैले पुरुषहरूको तुलनामा महिलाहरूमा मुत्रनलीको संक्रमण र पिसाब पोल्ने समस्या धेरै हुन्छ । यो समस्या पुरुषहरूमा कम हुन्छ । केहीलाई प्रोस्टेट–सम्बन्धित समस्याहरूको कारणले यो समस्या निम्तन सक्छ ।
मुत्रनलीमा संक्रमणको मुख्य लक्षणः
- पिसाब गर्दा अत्यिधिक जलन वा दुखाइ ।
- मुत्राशय भरिएको नभए पनि बारम्बार पिसाब फेर्न मन लाग्नु ।
- पिसाबको रंग फिक्का हुनु वा कडा गन्ध आउनु ।
- कहिलेकाहीँ पिसाबमा रगत आउनु ।
- तल्लो पेट वा ढाडको तल्लो भागमा दुखाइ हुनु ।
- संक्रमण मिर्गौलासम्म फैलियो भने ज्वरो आउनु र काम्नु ।
२. यौनजन्य संक्रमण
असुरक्षित यौन सम्पर्कबाट फैलिने केही संक्रमणहरूले पनि पिसाब गर्दा जलन हुन सक्छ । यी संक्रमणहरूले मूत्रनली सुन्निन सक्छ । क्लामाइडिया, गोनोरिया र जननांग हर्पेसजस्ता रोगमा यस्तो देखिन्छ ।
लक्षणहरूः पिसाब गर्दा जलन हुनु, यौनाङ्ग चिलाउनु, असामान्य श्राव वा घाउहरू देखापर्नु
३. मिर्गौला वा मूत्राशयको पत्थरी
पिसाबमा हुने खनिजहरू (जस्तैः क्याल्सियम वा युरिक एसिड) धेरै गाढा भए भने यिनीहरूले क्रिस्टल (पत्थरी)को रूप लिन्छन् ।
जलनको कारणः यी पत्थर मूत्रनली वा मूत्राशयमा पुग्छन्, बाटो अवरुद्ध गर्न सक्छन र भित्री पर्खाल कोतरिन्छन् । जसले गर्दा पिसाब गर्दा गम्भीर पीडा र जलन हुन्छ ।
अन्य लक्षणहरूः पेट वा ढाडको छेउमा असह्य तीव्र दुखाइ, बान्ता हुने र पिसाबमा रगत देखिने ।
४. प्रोस्टेटसँग सम्बन्धित समस्या
५० वर्षको उमेरपछि पुरुषमा प्रोस्टेट ग्रन्थी बढ्न थाल्छ, यो अवस्थालाई बेनाइन प्रोस्टेटिक हाइपरप्लासिया (बीपीएच) भनिन्छ ।
पोल्नुको कारणः बढेको प्रोस्टेट ग्रन्थीले मूत्रनलीलाई थिच्छ, पिसाबको प्रवाहमा बाधा पुर्याउँछ । पिसाब पूर्ण रूपमा निस्कन सक्दैन, जसले संक्रमण निम्त्याउन सक्छ र पोल्न सक्छ ।
अन्य लक्षणहरूः पिसाब फेर्न गाह्रो हुनु, पिसाब राम्ररी ननिस्कनु र राति बारम्बार पिसाब फेर्न मन लाग्नु ।
५. संक्रमणबाहेकका कारणहरू
जलन सधैँ संक्रमणको कारणले हुँदैन, केही दैनिक बानीहरू वा अन्य अवस्थाहरूले पनि यो समस्या निम्त्याउन सक्छ ।
निर्जलीकरणः तपाईंले पर्याप्त पानी पिउनुभएन भने पिसाब अत्यधिक गाढा र अम्लीय हुन्छ । यस्तो पिसाबले मूत्रनलीमा पीडा गराउँछ । पिसाब फेरेपछि जलन हुन्छ ।
रासायनिक जलनः कठोर रसायनहरू भएका साबुन वा बडी वास, पर्फ्युम भएको ट्वाइलेट पेपर वा स्यानेटरी प्याड वा कपडा धुने डिटर्जेन्टजस्ता उत्पादनहरूको प्रयोगले जनेन्द्रीयहरू भएको क्षेत्रमा जलन गराउन सक्छन् ।
इन्टस्र्टिसियल सिस्टाइटिसः यो पुरानो रोग हो, जसले मूत्राशयको भित्ता सुन्निने बनाउँछ र पीडा निम्त्याउँछ । जसका कारण पिसाब गर्दा र फेरेपछि जलन हुन्छ ।
औषधिहरूः केही औषधिहरू (जस्तैः क्यान्सरको उपचार गर्न प्रयोग गरिने औषधि)ले पनि मूत्रनलीमा जलन गराउन सक्छ ।
डाक्टरलाई कहिले भेट्ने ?
पिसाब पोल्नुका साथै निम्न लक्षणहरू अनुभव गर्नुभयो भने, तपाईंले तुरुन्तै डाक्टरलाई सम्पर्क गर्नुपर्छ :
- धेरै ज्वरो आउनु र चिसो लाग्नु ।
- तल्लो ढाड वा तल्लो पेटमा गम्भीर दुखाइ ।
- पिसाबमा रगत देखिनु । यस अवस्थालाई हेमेटुरिया भनिन्छ ।
- वाकवाकी लाग्नु र बान्ता हुनु ।
- तीन दिनभन्दा बढी समयसम्म जलन महसुस भइरहनु ।
घरेलु उपचार र रोकथामः
जबसम्म तपाईंले डाक्टरसँग परामर्श लिनुहुन्न, तबसम्म पोलाई वा जलन कम गर्न तपाईंले यी काम गर्न सक्नु हुन्छ ।
प्रशस्त पानी पिउनेः यसो गर्नु महत्त्वपूर्ण छ । प्रशस्त पानी पिउनाले पिसाब पातलो हुन्छ र शरीरबाट हानिकारक ब्याक्टेरिया बाहिर निस्कन्छ ।
गुलियो नहालिएको क्रेनबेरी जुसः यस्तो जुस पिउनाले मुत्रनलीमा संक्रमण निम्त्याउने ब्याक्टेरियालाई मूत्राशयको भित्तामा टाँसिनबाट रोक्न मद्दत मिल्छ ।
प्रोबायोटिक्सः दही वा प्रोबायोटिक सप्लिमेन्ट सेवन गर्दा राम्रो ब्याक्टेरियाको वृद्धिलाई बढावा मिल्छ, जसले संक्रमणसँग लड्न मद्दत गर्दछ ।
सरसफाइः जनेन्द्रीय आसपासको ठाउँ सधैँ सफा र सुक्खा राख्नुस् । ब्याक्टेरिया फैलिनबाट रोक्न महिलाहरूले हरेक पटक शौचालय गएसँगै जनेन्द्रीय आसपास पुछेर सुक्खा बनाउनुपर्छ ।
कसिलो कपडा नलगाउनेः सिन्थेटिक वा धेरै कसिलो भित्री वस्त्र पनि लगाउनु हुँदैन ।
(अस्वीकरणः सल्लाहसहित यो सामग्री सामान्य जानकारीका लागि अनलाइनबाट तयार पारिएको हो, योग्य चिकित्सकीय राय होइन । थप जानकारीका लागि सधैँ विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोला ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण