आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
राजनीति

कम्युनिस्ट पार्टीमा फुटेर जानेले दिन सकेनन् विकल्प

शुक्रबार, २१ कात्तिक २०८२, ११ : १७
शुक्रबार, २१ कात्तिक २०८२

सारांश

  • नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी विभाजन भयो, जनार्दन शर्मा र घनश्याम भुसालको असहमतिपछि।
  • विभिन्न कम्युनिस्ट पार्टीहरू पटकपटक विभाजित भए, तर उनीहरूले आफ्नो औचित्य स्थापित गर्न सकेनन्।
  • पुष्पलालले पार्टी विभाजन नगरे पनि, कम्युनिस्ट पार्टीमा कार्यनीति, विचार र स्वार्थका कारण विवाद भइरह्यो।

काठमाडौँ । विभिन्न १० वटा वामपन्थी दलसँग एकता गर्ने निर्णयसँगै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी विभाजन भयो । माओवादी, एकीकृत समाजवादी लगायत वामपन्थी दलहरूले कात्तिक १६ गते पार्टी एकता सम्बन्धी १८ बुँदे सहमतिमा हस्ताक्षर गरेका थिए ।

नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको विषयमा लगातार बहस गर्दै आएका जनार्दन शर्मा र घनश्याम भुसालले आ–आफ्ना पार्टीका नेतृत्वलाई दबाब दिए । नेतृत्व हस्तान्तरणपछि मात्र पार्टी एकीकरण हुनुपर्ने शर्मा र भुसालको प्रस्ताव पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले अस्वीकार गरे । यी दुवै पार्टीले कात्तिक १९ गते एकता गरी ‘नेपाली कम्युनिस्ट पार्टी’ घोषणा गरिसकेका छन् ।

माओवादीको महाधिवेशन आयोजक समितिका सचिवालय सदस्य रहेका शर्माले ‘प्रगतिशील अभियान, नेपाल’ घोषणा गरेर वामपन्थीबिच एकता र ध्रुवीकरणको प्रयास सुरु गरेका छन् । एकीकृत समाजवादीका महासचिव भुसालले अलग्गै पार्टी खोल्ने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरी उनले नयाँ बनाउने पार्टीको २० बुँदे विशेषता सार्वजनिक गरे ।

यता नेपाल र भुसाल दुवै समूहमा नलागेकी रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायत नेताहरू एमालेमै फर्किने तयारीमा छन् । २०७८ साल भदौमा एमालेबाट अलग भएर गठन भएको एकीकृत समाजवादी चार वर्षमै विघटन भयो ।

  • फुटेर जानेको दुःखान्त इतिहास

२०३१ भदौ ३० गतेदेखि असोज ७ गतेसम्म भारतको वाराणसीमा मोहनविक्रम सिंहको अगुवाइमा नेपाल कम्युनिस्ट पार्टीको चौथो महाधिवशेन आयोजना गरियो । त्यसले एकता कायम गर्नेभन्दा नेकपामा अर्को विभाजन ल्याउने काम गर्‍यो । सिंहको नेतृत्वमा रहेको समूह नेकपा (चौथो महाधिवेशन) का नामले चिनिन थाल्यो । नेकपा (चौम) धारको मूल नेतृत्व अहिले पनि नेकपा मसालको नाममा सिंहले नै गरिरहेका छन् । यसबाट टुक्रिएर बनेको नेकपा मशालको अविच्छिन्न नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिरहेका छन् । चिनियाँ क्रान्तिका नायक माओत्सेतुङको विचारबाट प्रभावित भएर नेपालमा पार्टी खोल्नेको संख्या १२ वटा पुगिसकेको छ ।

तर चौथो महाधिवेशनलाई मान्यता नदिएर नेकपा (माले) ले २०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म सिरहाको विष्णुपुरकट्टी, सर्रे अम्बासमा चौथो राष्ट्रिय महाधिवेशन आयोजना गर्‍यो । उक्त महाधिवशेनले नयाँ जनवादमा बहुदलीय प्रतिस्पर्धाको मान्यतालाई अङ्गीकार गर्ने नीति अघि सार्‍यो ।

२०४६ सालमा राजनीतिक परिवर्तनपछिको परिस्थितिमा २०४७ पुस २२ गते नेकपा (माले) र नेकपा (मार्क्सवादी) बिच एकता भई नेकपा (एमाले) गठन भयो । नेकपाको मूलप्रवाहका रूपमा आफू स्थापित भएको एमालेले दाबी गर्दै आएको छ । यसको नेतृत्व अहिले केपी ओलीले गरिरहेका छन् ।

विभिन्न खालखण्डमा टुटफुट र विभाजन भएको नेपालको कम्युनिस्ट आन्दोलन पछिल्लो समय एमाले र माओवादी (प्रचण्ड) धारले नै अगाडि बढाएको देखिन्छ । नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७६ वर्षमा पटकपटक नेकपा विभाजन, एकता र ध्रुवीकरण हुँदै आएको छ । २०१९ साल वैशाख ४ गतेदेखि १५ गतेसम्म भारतको बनारसमा सम्पन्न तेस्रो महाधिवेशनबाट नेकपा विभाजनको शृङ्खला सुरु भयो । टुटफुट, एकता, विभाजन र ध्रुवीकरण प्रक्रिया आजसम्म पनि जारी छ ।

भदौ २३ र २४ गते भएको जेनजी विद्रोहका कारण कम्युनिस्ट पार्टी एकता र विभाजनको ग्राफ झनै बढेको छ । तर मूल पार्टी विभाजनपछि खुलेका विभिन्न कम्युनिस्ट पार्टी दोकान चल्न सकेका छैनन् । केहीको सटर नै बन्द भइसकेको छ । नेकपा(चौम) विभाजन पश्चात् राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी भूमिका खेल्ने पार्टीमा एमाले र माओवादी (प्रस्तावित नेपाली कम्युनिस्ट पार्टी) देखिएको छ ।

२०४३ सालमा सेक्टर काण्ड असफल भएपछि नैतिक जिम्मेवारी लिँदै मोहन वैद्यले राजीनामा दिएपछि २०४५ सालमा प्रचण्ड महामन्त्री भए । नेतृत्वमा आए लगत्तै उनले विभिन्न वामपन्थी पार्टीलाई मिलाएर २०४८ सालमा एकता गरे । जनसत्ता स्थापना गर्ने योजनासाथ २०५२ सालमा तत्कालीन नेकपा माओवादीले शाही सत्ता विरुद्ध सशस्त्र विद्रोह गर्‍यो । २०६२ सालमा १२ बुँदे सहमति पश्चात् १० वर्षे सशस्त्र विद्रोहको अन्त्य भयो । जनयुद्धको जगमा २०६२÷६३ को जनआन्दोलनले २४० वर्ष लामो निरङ्कुश राजतन्त्र ढाल्न सफल भयो । संघीयता, गणतन्त्र, समावेशी लोकतन्त्र, धर्म निरपेक्षता लगायत माओवादीकै एजेण्डामा देश अहिले चलिरहेको छ । १० वर्षमै राजनीतिक उथलपुथल ल्याउन सफल माओवादी आन्दोलन टुटफुट तथा विभाजनले अहिले आफैँ शिथिल छ ।

शान्ति प्रक्रियामा आएको २० वर्षमा माओवादीबाट २०६९ असारमा अलग भएका मोहन वैद्य ‘किरण’ले नेकपा माओवादी बनाए । जनयुद्धका मुख्य नेता किरणलाई रामबहादुर थापा, सीपी गजुरेल, पम्फा भुसाल, देव गुरुङ, नेत्रविक्रम चन्द ‘विप्लव’, हेमन्तप्रकाश ओली, धर्मेन्द्र बास्तोला, हरिभक्त कँडेल, कुलप्रसाद केसी लगायत थुप्रै नेताले साथ दिए । तर किरणले प्रचण्डकोभन्दा फरक तरिकाले पार्टी चलाउन सकेनन् । स्पष्ट क्रान्तिकारी रोडम्यापको अभावमा उनी आफैँ रुमल्लिन पुगे । किरणले पार्टीसमेत जोगाउन सकेनन् । २०७१ सालमा पार्टीबाट विप्लव समूह अलग भए । गत वर्ष मंसिरमा सम्पन्न क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाविधेशनबाट महासचिव बनेका किरण जेनजी विद्रोहपछि स्वास्थ्यको कारण देखाउँदै पदत्याग गरेका छन् । अहिले पार्टीको महासचिव सीपी गजुरेल छन् ।

  • अलमलमा विप्लव

किरणसँग सम्बन्ध विच्छेदपछि एकीकृत जनक्रान्तिको बाटोमा लागेको विप्लव १३ वर्षपछि फेरि संसदीय राजनीतिमा फर्किएका छन् । आगामी निर्वाचनमा भाग लिने गरी निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिइसकेका छन् । २०७४ सालमा उनले नेतृत्व गरेको नेकपामाथि सरकारले प्रतिबन्ध लगाएको थियो । करिब दुई वर्ष भूमिगत गतिविधि गरेका विप्लवको पार्टीमा व्यापक क्षति भयो । २०७७ साल फागुनमा सरकारसँग तीन बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा अवतरण गरे ।

विप्लवले उत्पादन र जनक्रान्तिलाई सँगै अगाडि बढाएका छन् । विप्लवले नमरुन्जेल नेतृत्वमा बस्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । नेकपाले बिहीबार काठमाडौँमा गरेको सभामा बोल्दै उनले भने, ‘राजनीतिक भारी बढो अचम्मको हुने रहेछ । मर्ने, पिस्ने तर मरे नदिने के होला यो भारी ? तर त्यो भारी नयाँ पुस्तालाई हस्तान्तरण गर्न सक्नुभएन, एउटा स्पष्ट विचार, सिद्धान्त, दृष्टिकोण सहितको आन्दोलन दिन सक्नुभएन भने तपाईं सिद्धिएको दिन नेपालमा कम्युनिस्ट आन्दोलन समाप्त हुने खतरा छ ।’

शान्ति प्रक्रियामा आएको चार वर्षमा विप्लवको पार्टी ६ वटाभन्दा बढी टुक्रामा विभाजन भइसकेको छ । एकीकृत जनक्रान्तिको नाममा विप्लवले पनि १२ वर्षमा केही गर्न नसकेको उनका साथ छोडेका नेताहरूको आरोप छ । 

जनयुद्धका अर्का प्रमुख नेता डा. बाबुराम भट्टराईले माओवादी छाडेर नयाँ शक्ति अभियान चलाएको पनि १० वर्ष भइसक्यो । २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपछि उनले पार्टीमात्र होइन, कम्युनिस्ट सिद्धान्त नै त्यागेका थिए । २०७४ सालमा भट्टराईकै नेतृत्वमा निर्वाचनमा भाग लिएको नयाँ शक्ति ठुलो धक्का खायो । त्यसपछि संघीय समाजवादी, जनता समाजवादी, नेपाल समाजवादी हुँदै गत वर्ष माघमा सम्पन्न महाधिवेशनबाट नेसपा (नयाँ शक्ति)का अध्यक्ष निर्वाचित भएका उनले जेनजी विद्रोहपछि यही असोजमा पद त्यागे । उनले पुराना पार्टीहरूलाई निर्वाचनबाट नै हराउनका लागि विभिन्न नयाँ र वैकल्पिक समुहसँग परामर्श जारी राखेका छन् ।

भट्टराईले बिहीबार बिहानमात्रै रास्वपा, माओवादी छोडेका जनार्दन शर्मा समूह, विवेकशील साझा, उज्यालो नेपाल र जेनजीका प्रतिनिधिहरूसँग छलफल गरे । छलफलमा उनले नयाँ र वैकल्पिक शक्तिहरू एकजुट नभए सत्तामा फेरि पुरानै दलहरू आउन सक्नेतर्फ सचेत गराएका छन् ।

‘जेनजी विद्रोहपछि दुला पसेका पुराना भ्रष्ट दलहरूले फेरि टाउको उठाइराखेका छन् । जेनजी आन्दोलन सामान्यकरण बन्दै गएको छ । निर्वाचनबाट नै पुराना दलहरूलाई हराउनका लागि म सम्पूर्ण नयाँ र वैकल्पिक शक्तिलाई अपिल गर्छु’, उनले भने ।

भट्टराई फरक धारको रूपमा स्थापित हुन खोजे पनि राजनीतिक रूपमा सफल हुन सकेका छैनन् । नेसपा (नयाँ शक्ति) पनि झन्डै ६ टुक्रामा विभाजित भइसकेको छ । जनयुद्धकालमा भट्टराईलाई साथ दिएका गंगानारायण श्रेष्ठ, विश्वदीप पाण्डे लगायत नेताहरू नवगठित नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरिसकेका छन् । भट्टराईसँगै माओवादीमा एकता प्रक्रियामा जोडिन खोेलेका महिन्द्र राय यादव समेत प्रचण्ड नेतृत्वको पार्टीमा समाहित भए ।

  • थापा र लेखराज एमालेमा गुमनाम

माओवादीकै प्रमुख नेता रामबहादुर थापा, लेखराज भट्ट, मणि थापा, गौरिशंकर चौधरी, ज्वाला कुमारी साह लगायत नेताहरू एमालेमा गुमनाम जीवन बिताइरहेका छन् । टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेलमा छन् । प्रभु साह एमालेबाट विद्रोह गरी छुट्टै पार्टी खोलेका छन् ।

नेतृत्वको कार्यशैली र पार्टी नीतिप्रति असहमति जनाउँदै भर्खर अलग भएका जनार्दन शर्मा, राम कार्की, सुदन किराती लगायत नेताहरू आगामी दिनमा कसरी अगाडि बढ्छन् र उनीहरूको प्रगतिशील वामपन्थी एकता र रुपान्तरण अभियान कत्तिको सफल हुन्छ, त्यो हेर्न बाँकी छ । माओवादीबाट विभाजित भएर बनेका अनेकौँ समूहमध्ये विघटित प्रतिनिधि सभामा माओवादीमात्रै थियो ।

Badal-and-Lekhraj-Bhatta

  • एमालेमा पनि उस्तै

प्रचण्ड नेतृत्वको पार्टीमा जस्तै टुटफुट र विभाजनको सिकार एमाले पनि भएको छ । यद्यपि माओवादी धारमा भन्दा यो पार्टी विभाजन रेखा धेरै कोरिएको छैन । २०५४ सालमा महाकाली सन्धि हुँदा तत्कालीन एमालेका नेता वामदेव गौतमले पार्टी विभाजन गरेका थिए । साहना प्रधान, सीपी मैनाली, राधाकृष्ण मैनाली लगायत एमालेका झन्डै आधा हिस्सा लिएर माले पुनर्गठन गरेका गौतम २०५६ सालको आम निर्वाचनमा नराम्रो पराजयपछि २०५८ सालमा पुनः एमालेमै फर्किए । गौतम, प्रधान लगायत धेरै नेता एमाले फर्किएपछि सीपीले पार्टी पुनर्गठन गरे । पार्टी विभाजन भएको २८ वर्षमा विभाजित भएको कुनै पनि पार्टीले मूल पार्टीलाई टक्कर दिन सकेन । त्यसपछि व्यक्तिगत रूपमा पार्टी छोड्ने वा निष्क्रिय बस्ने बाहेक एमाले विभाजन भएको देखिँदैन ।

२०७५ साल जेठ ३ गते तत्कालीन तत्कालीन एमाले र माओवादी मिलेर नेकपा कम्युनिस्ट पार्टी गठन गरे । तर अध्यक्षद्वय ओली र प्रचण्डको सत्ता स्वार्थ र शक्ति संघर्षका कारण तीन वर्ष पनि टिकेन । २०७७ साल फागुन २३ गते सर्वोच्च अदालतले नेकपा विघटन गरिदिएपछि एमाले र माओवादी साविक अस्तित्वमा आयो । एमालेभित्र ओली र माधवबिचको संघर्ष अन्ततः पार्टी विभाजनमा पुग्यो । २०७८ भदौ ९ गते माधवकै नेतृत्वमा एकीकृत समाजवादी गठन भयो । यद्यपि एकीकृत समाजवादीले विभाजनको औचित्य पुष्टि नगरी नेपाली कम्युनिस्ट पार्टीमा विलय भयो ।

नेता हरिबोल गजुरेलले सिद्धान्त र विचार सही नहुँदा पटक पटक कम्युनिस्ट पार्टी विभाजन भएको तर्क गरे । ‘पार्टीभित्र विभिन्न स्वार्थ समूह हावी भए । विचार र सिद्धान्तलाई भन्दा पद, प्रतिष्ठा, सुख–सुविधालाई ध्यान दिन थाले । विरोध गर्नेले पनि सही ठाउँमा उभिएर विरोध गरेनन् । समर्थन गर्नेले पनि सही ठाउँमा बसेर समर्थन गरेनन्’, उनले भने ।

  • पुष्पलाल नेतृत्वबाट हटे, पार्टी विभाजन गरेनन्

नेपालमा कम्युनिस्ट पार्टीको आवश्यकता महशुस गरी पुष्पलाल श्रेष्ठले २००६ साल वैशाख १० गते भारतको बनारसमा नेपाल कम्युनिस्ट पार्टी गठन गरेका थिए । संस्थापक महासचिव रहेका उनलाई २००८ सालमा हटाएर मनमोहन अधिकारी नेतृत्वमा आए । २०१० सालमा नेकपाको पहिलो महाधिवेशनमा पार्टीको नीति पुष्पलालको अनुमोदन भयो तर नेतृत्वमा अधिकारी निर्वाचित भए । २०१४ सालमा भएको दोस्रो महाधिवेशनमा पनि नीति पुष्पलालको पारित भयो तर नेतृत्वमा डा.केशरजंग रायमाझी निर्वाचित भए । २०१७ साल पुस १ गते राजा महेन्द्रले बीपी कोइराला नेतृत्वको जननिर्वाचित सरकार अपदस्थ गरी संसद विघटन गरे । त्यतिबेला रायमाझीले राजाको कदमलाई समर्थन गरेका थिए ।

२०१९ सालमा भएको तेस्रो महाधिवेशनअघि नै नेकपाले रायमाझीलाई हटाएर तुलसीलाल अमात्यलाई महासचिव बनायो । यही महाधिवेशनबाट नै कम्युनिस्ट पार्टी छिन्नभिन्न भयो । तर संस्थापक पुष्पलालले नेतृत्व नपाए पनि कहिल्यै पार्टी विभाजन गरेनन् । बरु नेकपालाई एकढिक्का बनाउने प्रयास गर्दागर्दै २०३५ साल असार ७ गते उनको निधन भयो ।
नेपाली कम्युनिस्ट इतिहासमा कार्यनीति, कार्यदिशा, विचार र सिद्धान्तलाई लिएर सधैँ विवाद हुँदै आएको छ । वास्तवमा वैचारिक र सैद्धान्तिक पक्षभन्दा पनि व्यक्तिगत तथा गुटगत स्वार्थका कारण पटकपटक पार्टी विभाजन भएको देखिन्छ । कुण्ठा, प्रतिशोध, शक्ति र सत्ता स्वार्थको चक्रव्यूहमा एमाले र माओवादी विचार बोक्ने पार्टी त्यसबाट चोइटिएर गएका स–साना घटकसमेत फसेको देखिन्छ । नेतृत्वलाई टक्कर दिँदै पार्टी विभाजन गरेका नेताहरूले न पार्टी विभाजनको औचित्य पुष्टि गर्न सके, न वैकल्पिक शक्तिलाई स्थापित गर्न सफल भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप