आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

कैलालीका आगजनीग्रस्त स्थानीय तहमा सेवा पुनःसञ्चालन, क्षतिपूर्ति र पुनर्निर्माणमा चुनौती

शनिबार, २२ कात्तिक २०८२, १० : ०३
शनिबार, २२ कात्तिक २०८२

सारांश

  • कैलालीका स्थानीय तहहरूले जेनजी प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडबाट क्षतिग्रस्त संरचनामा आधारभूत सेवाहरू पुनः सञ्चालन गरेका छन्।
  • गौरीगंगा, कैलारी, गोदावरी र घोडाघोडी नगरपालिकामा करोडौंको क्षति भएको छ, र सहयोगीहरूको सहयोगमा सेवाहरू सञ्चालन भइरहेका छन्।
  • क्षतिग्रस्त भवन मर्मतका लागि टेन्डर प्रक्रिया अघि बढाइएको छ, र स्थानीय तहहरूले सार्वजनिक अपिलमार्फत सहयोग जुटाइरहेका छन्।

धनगढी । जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते भएको आगजनी र तोडफोडबाट क्षतिग्रस्त कैलालीका स्थानीय तहहरूले आधारभूत सेवाहरू पुनः सञ्चालन गरेका छन्। अधिकांश स्थानीय तह सहयोगीहरूको भरमा कार्यालय सञ्चालन गर्न बाध्य छन् भने केहीले विद्यालय, स्वास्थ्य चौकी र क्लबका भवनबाट सेवा प्रवाह गरिरहेका छन्।

आगजनीबाट प्रभावित गौरीगंगा नगरपालिका, कैलारी गाउँपालिका, गोदावरी नगरपालिका र घोडाघोडी नगरपालिकामा करोडौंको क्षति पुगेको छ।

यी पालिकाहरूले दाता तथा सहयोगीहरूबाट जिन्सी सामग्री जुटाएर कामचलाउ रूपमा सेवा सुरु गरेका हुन्।

गौरीगंगामा नगरपालिकामा प्रारम्भिक अनुमान अनुसार साढे सात करोड बराबरको क्षति भएको छ। नगरपालिकाले सार्वजनिक रूपमा सहयोगको अपिल गरेपछि हालसम्म करिब ८० लाख बराबरको जिन्सी सामग्री सङ्कलन भएको छ। यही सहयोगबाट कार्यालयको अत्यावश्यक काम अघि बढाइएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिए। नगरपालिकाका ११ वडामध्ये ९ वडा पूर्ण रूपमा र दुई वडामा आंशिक क्षति पुगेको थियो। यस्तै कैलारी गाउँपालिकाको प्रशासनिक भवन र नौवटै वडा कार्यालयमा क्षति पुगेको थियो।

सूचना अधिकारी यगम कलेलका अनुसार, सहयोगीहरूबाट अत्यावश्यक सामग्री जुटाएर सेवा सञ्चालन गरिएको छ। पूर्ण रूपमा क्षतिग्रस्त वडाहरूमध्ये केहीलाई युवा क्लब, स्वास्थ्य संस्था र विद्यालयका भवनमा सारिएको छ।

यस्तैगरि गोदावरी नगरपालिकामा ९ करोड ५४ लाखको क्षति भएको प्रारम्भिक अनुमान छ। वडा कार्यालयहरूमा सामान्य क्षति भए पनि नगरपालिकाको मुख्य प्रशासनिक भवन पूर्ण रूपमा जलेर नष्ट भएको छ।

इन्जिनियर जनक खड्काका अनुसार, सार्वजनिक अपिलमार्फत सङ्कलित सामग्रीबाट अत्यावश्यक सेवा प्रवाह भइरहेको छ। क्षतिग्रस्त भवन मर्मतका लागि टेन्डर प्रक्रिया अघि बढाइएको छ।

यसैगरी घोडाघोडी नगरपालिकामा यहाँ साढे आठ करोड बराबरको क्षति अनुमान गरिएको छ। अधिकृत उमेश रेग्मीका अनुसार, आगजनी र तोडफोडबाट बचेका सामग्री तथा सहयोगीहरूबाट प्राप्त सहयोगले अत्यावश्यक सेवा पुनः सञ्चालनमा ल्याइएको छ।

जेनजी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाले स्थानीय तहको भौतिक संरचनामा क्षति भएपछि हाल सेवा प्रवाहमा पनि गम्भीर असर पारेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप