भूपाल राईका तीन कविता
सारांश
- कवि भूपाल राईका तीन कविता रातोपाटीमा प्रस्तुत छन्, जसमा प्रेम, जीवन र अस्तित्वका विविध पाटा समेटिएका छन्।
- पहिलो कवितामा, कविले वर्तमान जीवनको महत्त्व र प्रेमको अनुभवबारे आफ्नो तीव्र चाहना व्यक्त गर्छन्।
- अन्य कविताहरूमा, उनले देश र आदिवासी कथाको माध्यमबाट समदुरी र पृथ्वीप्रतिको आफ्नो धारणा राखेका छन्।
समकालीन नेपाली कवितामा आफ्नो छुट्टै धार र पहिचान निर्माण गरिसकेका कवि हुन् भूपाल राई । झण्डै १३ वर्षको उमेरदेखि कवितामा कलम चलाउन थालेका राई विभेद विरुद्ध, पहिचान र अधिकारका पक्षमा कविता सृजना गर्छन् ।
रातोपाटीमा यस पटक उनै राईका तीन कविता पस्केका छौँ ।
मेरी यारी मलाई एकदमै हतार छ
जुलुस जस्तो जिन्दगी हाँकेर
हेर
म तिम्रो ८४ लाख जुनीमा उपस्थित छु
तर माफ गर मलाई
म तिम्रो प्रेमको आरामदायी काउचमा बसेर
कुनै उत्तर जन्मको भविष्यवाणी
पर्खिरहन सक्दिन
मलाई अफसोच छ
किनभने मलाई एकदमै हतार छ
सय सय जुनीको तिम्रो भक्तिलहरी
कुनै धुरन्धुर वस्तादको स्वरमा गुन्जिए जस्तै
मेरो पनि जन्म जन्मान्तर हुने भए
म छुट्टाउने थिएँ एउटा जुनी गीतलाई
अर्को जुनी छुट्ट्याउँथेँ दुखको सौन्दर्यलाई
छुट्ट्याउँथेँ तेस्रो जुनी मुक्तिको उज्यालोलाई
र अन्तिम जुनी तिम्रो प्रेमलाई
तर अफसोच छ
मलाई एकदमै हतार छ
सक्छौ !
बन्द गर त्यो ८४औँ योनिको लीला
च्यात दिमागबाट
आधा लेखेर पट्याइएको कागज
र माया गर– मेरो मायाको विज्ञानलाई
कि सबथोक मायाको न्युटन सिद्धान्त
र प्रणयशास्त्रको आइन्स्टाइन सुत्र
मैले यही जुनीमा परिक्षण गरिसक्नु छ
बाँचिन्जेल भूतका रसायन
र भविताका अणु परमाणुहरु
मैले यही जिन्दगीले भोग्नु छ
धेरै गाँसहरु बैँसको हतारमा
या कुनै अनासक्त हातमा
छाडेर हिँडेको छु
म त्यो दिनको पनि भोको छु
धेरै सासहरू अर्काको इच्छामा
अर्काकै छातीमा जो फेरेको छु
म त्यसको पनि भोको छु
सिङ्गै खोला धाएर मेट्न नचाहेको तिर्खा
सिङ्गै ब्रह्माण्ड पाएर चढ्न नसकेको चोमोलुङ्मा
यात्राको यस टाकुराबाट हेरी पठाउँछु
म त कहाँ हो कहाँ
झर्दै झर्दै आइपुगेछु
अफसोच छ
मलाई साँच्ची नै हतार छ
हतार हतारमै टिपेर हिँड्नु छ
मैले जुलुसबाट एउटा जिन्दगी
बदल्नु छ एकपछि अर्को स्टेसन
छुट्नु छ रेल
र हतार हतारमै फेरि
हाँक्नु छ मैले अर्को जुलुस
पिउन नजानेर चोखै बगी गएको खोला
चढ्न नसकेर झन्–झन् अग्ली गएको चोमोलुङ्मा
र छाडेर हिँडेका युगीन भोकहरू
जसलाई गालेर दुई थोपा पदार्थमा
जम्मै जम्मै क्षतिको हिसाबस्वरुप
मैले यही जुनीमा रोइदिनु छ
यही जुनीमा लेखिसक्नु पर्नेछ
दुःखको सौन्दर्यशास्त्र
ढलेका छन् आफ्नै आँसुको धरहरामुनि
अनाम गाथाका शिरहरू
तिनलाई कसैगरी उठाउनु छ
लड्नु छ सघन लडाइँ अँध्यारो पृथ्वीसँग
र हल्लाउँदै मुक्तिको उज्यालो ग्रहमा
तिम्रो प्रेमको गुलाफी रुमाल
यही जुनीमा गाउनु छ
मैले सय सय जुनीको गीत
विश्वास छैन मलाई
कुनै अर्को अतिरिक्त जन्मको
हेर ! एक दिनको मेरो एक डल्ला घाम
मेरै थाप्लोको क्षितिजबाट
अब उत्तरार्द्ध ढल्किसकेको छ
बिस्तारै साँझ पर्नै लागेको छ
र, एकैछिनपछि तिमीलाई छाडेर
मैले फेरि घर फर्किनु छ
मेरी यारी !
त्यसैले मलाई हतार छ
मलाई एकदमै हतार छ ।।
तटस्थ
दायाँ तिर दुस्मनहरू छन्
बायाँ तिर छन् मित्रहरू
बिचमा छु म
कोसिस गरिरहेछु
कि दुवै तिरको समदुरीमा बसूँ
र, बाँचूँ सबैको भएर
तर बिचमा हुनु भनेको
एक किसिम सङ्कटको घेरामा उभिनु हो
जहाँ दुस्मनहरूले दुस्मन ठान्दैनन्
मित्रहरूले मित्र भन्दैनन्
समदुरी एक किसिमको भ्रान्ति हो
जो कुनै पनि बेला भङ्ग हुन सक्छ
सत्य त यो हो कि
सबैको भएर बाँच्नु असम्भव छ ।।
देश र आदिवासी कथा
देश पनि एक कथा हो
मात्र केही सय वर्ष अगाडि रचिएको
नयाँ कथा
म त देशभन्दा धेरै पुरानो मानिस हुँ
देशको परिकल्पना भन्दा पनि पुरानो
यस धर्तीको एक आदिम कथा
मेरो कथामा न देश छ
न छ सिमाना
छ त केवल ‘पृथ्वी’ छ
सुन,
तिम्रो बाँकी कथाका लागि
अब म– पृथ्वी बाँड्न दिन्न ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण