प्रदीप र शिभालीले जिते मिस्टिक माउन्टेन ग्रान्ड ओपनको उपाधि
सारांश
- प्रदीप खड्का र शिभाली गुरुङले होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिसको एकल उपाधि जिते।
- प्रदीपले प्रणव मानन्धरलाई हराएर १७औं एकल उपाधि जिते भने शिभालीले स्वस्तिका विष्टलाई पराजित गरिन्।
- प्रतियोगितामा यू-१२, यू-१४, यू-१६ लगायतका जुनियर स्पर्धामा पनि खेलहरू सम्पन्न भए।
काठमाडौँ । नेपालका नम्बर एक टेनिस खेलाडी प्रदीप खड्का र शिभाली गुरुङले होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको एकल (सिंगल्स) उपाधि जितेका छन्।
शनिबार सम्पन्न प्रतियोगितामा प्रदीप पुरुषतर्फ र शिभाली महिलातर्फ च्याम्पियन बनेका हुन्। यी दुवै खेलाडी प्रतियोगिताको पहिलो च्याम्पियन पनि हुन्, किनभने गत वर्षको पहिलो संस्करणमा पुरुष र महिला एकल स्पर्धा समावेश गरिएको थिएन।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको पुरुष एकलको फाइनलमा प्रदीपले प्रणव मानन्धरलाई ६–३, २–६ र ६–२ को सेटमा पराजित गर्दै आफ्नो करियरको १७औँ एकल उपाधि जिते। उनले युगल (डबल्स) तर्फ ९ उपाधि हात पारेका छन्। यस स्पर्धामा राजवीर प्रधान र निसान श्रेष्ठ तेस्रो स्थानमा रहे।
नेपाल टेनिस संघको सहयोगमा होटल मिस्टिक माउन्टेनले आयोजना गरेको यस प्रतियोगिताको महिला एकल फाइनलमा शिभालीले स्वस्तिका विष्टलाई ६–० र ६–२ को सोझो सेटमा हराउँदै उपाधिमाथि कब्जा जमाइन्।
यो जितसँगै उनले यू–१६ एकलको फाइनलमा स्वस्तिकसँग बेहोरेको हारको बदला पनि लिइन्। सिनियरतर्फ शिभालीले समग्रमा दोस्रो पटक च्याम्पियनसिप जितेकी हुन्। प्रकृति श्रेष्ठ र सुनियर थापाले तेस्रो स्थान हासिल गरे।
पुरुष र महिला एकलतर्फ पहिलो हुनेले ४० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुने खेलाडीले ५र५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। प्रतियोगितामा जुनियरतर्फ पनि विभिन्न स्पर्धा सम्पन्न भए। यू–१२ ब्वाइज एकलमा विश्वविशेष डल्लाकोटीले वेदान्त चालिसेलाई ७–५ र ६–४ ले हराएर पहिलो भए।
सोही स्पर्धाको गर्ल्समा सारा पन्त च्याम्पियन भइन्। दोहोरो स्वर्ण जितेकी साराले यू–१४ एकलको फाइनलमा एरा खत्रीलाई ६–२ र ६–० को सोझो सेटमा पाखा लगाइन्। यू–१४ ब्वाइज एकलमा साङ्गे रोकायाले फाइनलमा वेदान्तलाई ६–२ र ६–२ को सोझो सेटमा पन्छाउँदै स्वर्ण जिते।
एकलतर्फ यू–८ ब्वाइजमा सर्वज्ञजंग खत्री र गर्ल्समा स्वर्णिमा श्रेष्ठ, यू–९ र यू–१० को ब्वाइजमा कायान चालिसे र गर्ल्समा निम्ति कुँवर तथा यू–१६ ब्वाइज एकलमा दर्शिल श्रेष्ठले पहिलो स्थान हात पारेका थिए।
पाँचदिने प्रतियोगितामा पुरुषतर्फ १ सय ३६ र महिलातर्फ ८३ खेलाडी सहभागी थिए। जुनियर टेनिस इनिसिएटिभ (जेटीआई) को संयोजनमा भएको यस प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख ४२ हजार रुपैयाँ रहेको थियो। प्रतियोगितामा विभिन्न १४ स्पर्धामा प्रतिस्पर्धा भएको संयोजक सूर्यभूषण वज्राचार्यले जानकारी दिएका छन्।
विजेता खेलाडीहरूलाई नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मुल र होटल मिस्टिक माउन्टेनका अध्यक्ष बालकृष्ण ध्वजुलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण