गण्डकीमा सहकारीको साढे ५ अर्ब हिनामिना, कुनमा कति ?
सारांश
- गण्डकी प्रदेशका सहकारी संस्थाहरूमा रकम हिनामिना बढ्दै गएको छ, जसमा २१ सहकारीको ५ अर्बभन्दा बढी रकम हिनामिना भएको पुष्टि भएको छ।
- पोखराको प्राइम सहकारीमा सबैभन्दा ठूलो रकम हिनामिना भएको छ, भने केही सहकारीहरूमा मिलापत्र भई बचत फिर्ता गर्ने क्रम सुरु भएको छ।
- सहकारी रजिष्ट्रारको कार्यालयले छानबिन गरी प्रहरीमा पठाएको छ, जसले अदालतमा मुद्दा दायर गरेको छ र केही व्यक्तिहरू पुर्पक्षका लागि थुनामा परेका छन्।
पोखरा । गण्डकी प्रदेशमा सहकारी संस्थाको रकम हिनामिना गर्ने क्रम बढ्दो छ । हालसम्म प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले गरेको छानबिन र अदालतमा मुद्दा समेत परिसकेका २१ सहकारी छन् । ती सहकारीको साढे ५ अर्बभन्दा बढी रकम हिनामिना भएको छानबिन रिपोर्टले देखाएको छ ।
हालसम्म प्रारम्भिक छानबिन भएका २१ सहकारी संस्थाबाट ५ अर्ब ६३ करोड ४१ लाख रुपैयाँ हिनामिना भएको देखिएको छ ।
पोखराको प्राइम सहकारीबाट सबैभन्दा ठुलो रकम हिनामिना भएको छ । उक्त सहकारीको मात्रै १ अर्ब ५४ करोड रुपैयाँ हिनामिना भएको पुष्टि भएको हो । म्याग्दीको कुमारी सहकारीको १ अर्ब ४९ करोड, बागलुङको इमेज सहकारीको १ अर्ब ३३ करोड र अन्तिममा छानबिन भएको पोखरा बचत तथा ऋण सहकारीको ८८ करोड ७० लाख रुपैयाँ हिनामिना भएको छ ।
पोखराकै मित्रमिलन सहकारीको २६ करोड ८६ लाख, लमजुङको कालिका सहकारीको ९ करोड ११ लाख रुपैयाँ सञ्चालक समिति र कर्मचारीको मिलेमतोमा गडबडी गरिएको छ ।
यस्तै, पोखराकै विन्ध्यवासिनी सहकारीको ७ करोड ६९ लाख, पर्वतको तपाईं हाम्रो सहकारीको २९ करोड ९८ लाख, पर्वतकै ग्रामीण विकास कृषि सहकारीको ९ करोड १ लाख र नवलपुरको छिपछिपे सहकारीको १६ करोड ६८ लाख हिनामिना भएको छानबिन रिपोर्टमा देखिएको छ ।
पर्वतको नागढुंगा सहकारीबाट ५ करोड ३८ लाख, पोखराकै संघर्षशील सहकारीको २ करोड ९६ लाख, स्याङ्जाको सूर्याेदय सहकारीको बिरुवा सेवा केन्द्रबाट ४ करोड, लमजुङको जनकल्याण सहकारीको ११ लाख ४४ हजार, लमजुङकै सुनौलो भविष्य सहकारीको ६ करोड ४४ लाख, पर्वतको वैशाली कृषि सहकारीबाट १८ करोड, पर्वतकै कुर्घा चिसापानी सहकारीको ४३ लाख हिनामिना भएको देखिएको छ ।
हिनामिना भएका सहकारीमध्ये केहीमा मिलापत्र भएको छ । लमजुङको कालिका सहकारीको पूर्ण रूपमा मिलापत्र भएर बचत फिर्ता गर्ने क्रम सुरु भइसकेको रजिष्ट्रारको कार्यालयले जनाएको छ । यता, बागलुङको इमेज सहकारी र पर्वतको नागढुंगा सहकारीको पनि आंशिक मिलापत्र भएको छ ।
प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले यी सहकारीहरूको अध्ययन गरेर छानबिनसहितको रिपोर्ट प्रहरीमा पठाएको छ । प्रहरीले हिनामिना भएको रकमबारे अनुसन्धान गरी अदालती प्रक्रिया सुरु गरेको छ । जसअनुसार केही पुर्पक्षका लागि थुनामा पनि गएका छन् ।
चालु आर्थिक वर्षमा ४० भन्दा बढी सहकारीको अनुगमन र निरीक्षण गरिएकोमा कानुन विपरीत काम गरेका १९ सहकारीबाट १० लाख ६१ हजार रुपैयाँ जरिबाना असुल गरिएको छ ।
प्रदेशभर दर्ता भएका ३५१ सहकारी खारेजीका लागि सूचना निकालेको छ । चालु आर्थिक वर्षमा मात्रै ३ वटा सहकारीको दर्ता खारेजी भइसकेको छ भने हालसम्म १६ सहकारीको दर्ता खारेज भएको छ । चालु आर्थिक वर्ष लागेपछि थप ३१ सहकारीको कारोबारबारे उजुरी दर्ता भएको सहकारी रजिष्ट्रार भेषराज रिजालले जानकारी दिए ।
गण्डकीभरि तीनै तहको सरकार मातहत रहेका २ हजार ६७१ सहकारी छन । तीमध्ये प्रदेशको मातहतमा रहेका ९०१ सहकारी छन् ।
प्रदेश मातहत रहेका पनि ३१८ सहकारी निष्क्रिय भइसकेका कार्यालयले जनाएको छ । केही सहकारी अहिले पनि दर्ता हुने क्रम जारी छ । सहकारीहरूमा सेयर पुँजी १३ अर्ब ९३ करोड छ भने बचत ६० अर्ब ४७ करोड छ । यी सहकारीले ६३ अर्ब ६२ करोड ऋण लगानी गरेकोमा ४ अर्ब ५० करोड ऋणको भाखा नाघिसकेको छ । औद्योगिक क्षेत्रमा ६४ करोड लगानी छ भने कृषि क्षेत्रमा ३ अर्ब ७३ करोड छ । बाह्य ऋण २ अर्ब ९ करोड र अन्य लगानी १ अर्ब ८९ करोड छ ।
सहकारीहरूले ४ अर्ब ७३ करोडको जगेडा कोष खडा गरेका छन् । सहकारीमा ६ लाख ९४ हजार २१९ जना सेयर सदस्य छन् भने ३ हजार २३५ कर्मचारी र ५ हजार ४८१ सञ्चालक समितिको तथ्यांक रहेको सहकारी रजिष्ट्रार रिजालले जानकारी दिए ।
यसबाहेक स्थानीय तहमा रहेका धेरै सहकारीको रकमसमेत हिनामिना भएको भेटिएको छ । पोखराकै सूर्यदर्शन सहकारीदेखि शिव शिखर लगायत सहकारीको बचत हिनामिना भएको रिपोर्ट निकालिएको छ । यसमा पनि छानबिनसहित अनुसन्धान फाइल अदालतमा पुगेको छ ।
अधिक लाभांश वितरण गर्ने तथा पुँजी र निक्षेपबिच अनुमात नमिल्दा सहकारी संस्थाहरु क्रोनिक बनेका छन् । सहकारीको आफ्नै आन्तरिक नियन्त्रण र सुशासन कमजोर पनि निकै कमजोर रहेको रिजालले बताए ।
‘कमजोर धितो राखी ऋण प्रवाह गर्ने र विनाधितो ठुला ऋण प्रवाह गर्दा अहिलेको अवस्था आएको छ,’ उनले भने, ‘धेरै सहकारीले ऋण असुलीमा खासै ध्यान दिएका छैनन् । कतिपयले जगेडा कोषको रकमबाट बोनस लिने गरेका छन् ।’
अहिले सहकारीमा विश्वासको संकटले गर्दा बचत संकलन ठप्पजस्तै छ । धेरै बचतकर्ताहरू आफ्नो रकम फिर्ता लिन आउने क्रम जारी छ । ‘घरजग्गा, सेयर कारोबारजस्ता अनुत्पादक क्षेत्रमा सहकारीले लगानी गरेका छन् । धेरै सहकारीहरू केही सञ्चालक वा कर्मचारीको मिलेमतोमा चल्दा पनि डुब्ने अवस्थामा पुगेको छ,’ उनले भने ।
अहिलेको समस्या समाधानका लागि राज्यले विशेष अभियान सञ्चालन गर्नुपर्ने र सकभर सरकारी तवरबाट सफ्टवेयर मार्फत नियमन गर्नुपर्ने रिजालले सुझाए । उनले सहकारी बिग्रिँदा सञ्चालकसँगै ऋणीलाई पनि दोषी बनाउने कानुनी व्यवस्था जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण