बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कांग्रेसले निर्वाचनलाई केन्द्रबिन्दुमा राखेर सम्पूर्ण गतिविधि सञ्चालन गर्नुपर्छ : नेता गुरुङ

मङ्गलबार, २५ कात्तिक २०८२, ०९ : ५९
मङ्गलबार, २५ कात्तिक २०८२

सारांश

  • नेपाली कांग्रेसका नेता कल्याण गुरुङले आगामी निर्वाचनलाई केन्द्रमा राखेर पार्टी परिचालन गर्नुपर्ने बताए।
  • उनले चुनावले मात्रै संविधानलाई सही बाटोमा ल्याउने र लोकतन्त्रलाई चलायमान बनाउने धारणा राखे।
  • गुरुङले पार्टीभित्र युवालाई अवसर दिनुपर्ने र आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने सुझाव दिए।

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले  २०८२ फाल्गुन २१ गते हुने निर्वाचनलाई केन्द्रबिन्दुमा राखेर पार्टीले आफ्नो सम्पूर्ण गतिविधि सञ्चालन गर्नुपर्ने बताएका छन् । 

विषम परिस्थितिजन्य बाध्यताले सीधा बाटोबाट अलिकति अलग हुन बाध्य भएको नेपालको संविधानलाई चुनावले मात्रै मूलबाटोमा ल्याउन सक्ने उनले बताए । 

 कांग्रेसको केन्द्रीय कार्यसमिति देखि वडा कार्य समितिसम्मका सबै तहहरू तन, मन र वचनले चुनावको तयारीमा लाग्नुपर्नेमा उनले जोड दिए । चुनावले मात्रै बहुलवादमा आधारित बहुदलीय लोकतन्त्रलाई जीवित राख्न सक्छ र चलायमान बनाउन सक्ने उनको भनाइ छ । 

प्रतिनिधि सभा पुनर्बहालीको सम्बन्धमा सर्वोच्च अदालतको निर्णय नेपाली काँग्रेसलाई स्विकार्य हुने पनि उनले बताए । 

गुरुङले बुँदागत रूपमा केही सुझाव समेत अघि पारेका छन्–

१, नेपाली कांग्रेसले प्रतिनिधि सभा (प्रत्यक्ष र समानुपातिक तर्फ), राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहहरूको निर्वाचनमा अहिलेसम्म कुनै पनि अवसर नपाएकाहरूलाई उम्मेदवार बनाउनु पर्छ । पार्टीमा  राजनीतिक न्याय, राजनीतिक सुरक्षा र राजनीतिक अवसरको समान र न्यायोचित वितरण हुन्छ भन्ने व्यवहारिक विश्वास र अनुभूति हुनु पर्छ ।   

२, नेपाली कांग्रेसको विधानको धारा (२३) अनुसार गठन हुने केन्द्रीय कार्य सम्पादन समितिलाई पूर्णता दिनु पर्छ र यसमा अहिलेसम्म कुनै पनि अवसर नपाएका  युवाहरू (५० प्रतिशत पुरुष र ५० प्रतिशत महिला)लाई मनोनीत गर्नु पर्छ ।   

३, नेपाली कांग्रेसको विधानको धारा ३१ को उपधारा १ (घ) अनुसार गठन हुने  केन्द्रीय संसदीय समितिलाई पूर्णता दिनु पर्छ र यसमा  अहिलेसम्म कुनै पनि अवसर नपाएका युवाहरू (५० प्रतिशत पुरुष र ५० प्रतिशत महिला)लाई मनोनीत गर्नु पर्छ ।   

४, नेपाली कांग्रेसले १६५ प्रतिनिधि सभा, ३३० प्रदेश सभा र ७५३ स्थानीय तहको निर्वाचनमा एक्लै आफ्नो उम्मेदवार लिएर चुनावमा जानु पर्छ । अन्य कुनै पनि दलसँग प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नु हुँदैन ।  

५, तर, राष्ट्रिय सभा, राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनमा नेपाली कांग्रेसले आवश्यक अवस्थामा आवश्यकता अनुसार अन्य दलहरूसँग गठबन्धन गर्न सकिने ढोकालाई पनि खुल्ला राख्नु पर्छ ।  

६, नेपाली कांग्रेसले या त प्रतिनिधि सभामा आफ्नो एकल बहुमत नआएसम्म सरकार गठन नगर्ने वैधानिक व्यवस्था गर्नु पर्छ । या त प्रतिनिधि सभामा पार्टीको एकल बहुमत नरहेको अवस्थामा सरकार निर्माणको क्रममा अन्य दलहरूसँग आवश्यकता अनुसार गठबन्धन गर्न सकिने विकल्पलाई पनि खुल्ला राख्ने निर्णय गर्नु पर्दछ । 

गठबन्धनको विषयमा मौसम अनुसार बोल्ने र मुड अनुसार बोली परिवर्तन गरिरहने प्रवृत्तिलाई रोक्ने वैधानिक व्यवस्था पार्टीले गर्नुपर्ने गुरुङले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप