बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कर्णालीको विकासका लागि तीनै तहका सरकारबीच सहकार्य अनिवार्यः मुख्यमन्त्री कँडेल

बुधबार, २६ कात्तिक २०८२, १४ : २७
बुधबार, २६ कात्तिक २०८२

सारांश

  • मुख्यमन्त्री कँडेलले जनताको विश्वास जित्ने गरी काम गर्नुपर्ने बताए।
  • उनले संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए।
  • कँडेलले विकास निर्माण र सेवा प्रवाहमा तीनै तहका सरकारबीच सहकार्यको खाँचो औंल्याए।

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले जनताको विश्वास जित्ने गरी काम गर्न सके मात्र राजनीति बलियो हुने बताएका छन् ।
त्यसका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्यका साथ काम गर्नुपर्ने बताए ।

बुधबार सुर्खेतमा प्रदेश तथा स्थानीय सरकारबीच अन्तरसरकारी सम्बन्धका विषयमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै कँडेलले विकास निर्माण र सेवा प्रवाहमा तीनै तहका सरकारबीच सहकार्य र समन्वयको अभाव रहेको धारणा राखे । 

मुख्यमन्त्री कँडेलले दोहोरोपन, अधूरा काम र गुणस्तरहीन विकासबाट जोगिन सहकार्यको आवश्यकता रहेको बताए । उनले भने, ‘भूगोल सबैको एउटै हो, त्यसैले विकास निर्माणमा सहकार्य र समन्वय हुनुपर्छ, तब मात्र जनताले प्रत्यक्ष लाभ पाउँछन् ।’ 

मुख्यमन्त्री कँडेलले अहिलेको परिवर्तित अवस्थामा जननिर्वाचित निकाय प्रदेश र स्थानीय तहबीचको सम्बन्ध अझ सुदृढ गर्दै जानुपर्ने उल्लेख गरे ।

उनले भने, ‘आन्दोलनपछि बनेको गैरदलीय सरकारले प्रदेश र स्थानीय तहलाई आफ्नो एकाइ हो कि जस्तो गरी गरेको पत्राचार तथा व्यवहारमा केही सुधार भएका छन्, तर त्यसैमा ढुक्क हुने अवस्था छैन ।’
राजनीतिक दलमाथि प्रश्न उठिरहेको सन्दर्भमा उनले दलको विश्वसनीयता पुनःस्थापना गर्न जनताको समर्थनका साथ काम गर्नुपर्नेमा जोड दिए ।

 ‘दर्शकको ठाउँमा बसेका जनतालाई अब राम्रो काम गरेर स्वतन्त्र रूपमा आफ्नो रक्षक बनाउने योजना तथा कार्यक्रममा ध्यान केन्द्रित गर्नुपर्छ,’ मुख्यमन्त्री कँडेलको अनुरोध थियो । उनले भने, ‘जनताको विश्वास जित्ने गरी काम गर्न सके मात्र राजनीति बलियो हुन्छ ।’ 

मुख्यमन्त्री कँडेलले जनगुनासो नउठ्ने गरी योजना छनोट र कार्यान्वयन गर्न सुझाव दिए । ‘हामी हाम्रो क्षमताअनुसारको सरकार चलाउने व्यवस्थामा छौँ,’ उनले थपे, ‘आम्दानी बढाउनेतर्फ ध्यान दिनुपर्छ, त्यसका लागि दुवै तहका सरकारबीच समन्वय अनिवार्य छ ।’


प्रदेश र स्थानीय दुवै सरकारको उद्देश्य एउटै–विकास र जनसेवा भएको हुनाले प्रतिस्पर्धा होइन, सहकार्यबाट मात्र कर्णालीको विकास सम्भव हुने विश्वास मुख्यमन्त्री कँडेलले व्यक्त गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप