बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
पूर्वाधारमा क्षति

चार महिनादेखि ठप्प रसुवागढी नाका, कहिले बन्छ बेलिब्रिज ?

बिहीबार, २७ कात्तिक २०८२, १८ : ००
बिहीबार, २७ कात्तिक २०८२

सारांश

  • असार २४ गतेको बाढीले रसुवागढी नाकामा क्षति पुर्‍याएपछि चीनतर्फको नाका चार महिनादेखि बन्द छ।
  • बाढीले मितेरी पुल बगाएपछि व्यापार प्रभावित भएको छ र राजस्व संकलनमा कमी आएको छ।
  • अवरुद्ध नाका सञ्चालनका लागि पुल निर्माणमा ढिलाइ भइरहेको छ, तर अबको दुईदेखि तीन हप्ताभित्र पुल निर्माण सम्पन्न हुनसक्ने अनुमान छ।

काठमाडौँ । गत असार २४ गते लेन्देखोलामा चीनतर्फबाट आएको बाढीले १८ जनाको मृत्यु र रसुवागढी नाकामा ठुलो भौतिक क्षति भयो । बाढीले मितेरी पुल बगाएपछि रसुवागढी नाका चार महिनादेखि ठप्प छ । चीनले तत्काल बेलिब्रिज जडान गरेर सञ्चालनमा ल्याउने भनेपनि अहिलेसम्म काम हुन सकेको छैन ।  

चार महिनादेखि करिब ३०० वटा कन्टेनर चीनतर्फ भन्सार प्रक्रियामा अड्किएको र तत्काल आवश्यक पहल गर्न माग गर्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघले बुधबार परराष्ट्र मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ । ती कन्टेनरमा व्यापारीहरुले दसैं-तिहारका लागि सामान थिए, तर कति मूल्य बराबरका भन्ने लेखाजोखा छैन ।  

राजस्व संकलन प्रभावित 

अहिलेसम्म चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी ठप्प हुँदा व्यापार–व्यवसाय चौपट भएको छ भने यस नाकाबाट संकलन हुने राजस्वमा ठुलो प्रभाव परेको छ । चालु आर्थिक वर्ष (२०८२/८३) मा ४० अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो । हाल १२ करोड २६ लाख राजस्व प्राप्त भएको रसुवा भन्सार कार्यालयले जनाएको छ । यो बाढी आउनुपूर्व भन्सार क्षेत्रमा आई जाँचपास हुन नसकेका मालवस्तुको जाँचपासबाट उठेको राजस्व हो ।

यस्तै साउनदेखि कात्तिक (चार महिना) सम्म १३ अर्ब ५३ करोड (साढे १३ अर्ब) राजस्व उठाउने लक्ष्य थियो । तर बाढीका कारण आयात निर्यात ठप्प हुँदा प्रभावित बनेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ३० अर्ब २० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेकोमा ३० अर्ब १५ करोड संकलन भएको थियो । यस वर्ष राजस्व संकलन बढ्ने अनुमान थियो । 

अझै तीन साता लाग्ने 

अवरुद्ध रसुवागढी नाका सञ्चालनका लागि बनिरहेको पुल निर्माण सम्पन्न हुन अझै तीन साता जति लाग्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव केशवकुमार शर्माले रातोपाटीसँग भने, ‘उनीहरू (चिनियाँ पक्ष) काम गरिरहेका छौँ भन्छन्, तर ठ्याक्कै यो मितिमा सकिन्छ भनेर भन्दैनन् । मैले बुझ्दा अबको दुईदेखि तीन हप्ताभित्र पुल निर्माण सम्पन्न हुनसक्ने अनौपचारिक जानकारी आएको छ ।’ प्रारम्भिक परिकल्पनाभन्दा लामो बनाउनुपरेकाले निर्माण सम्पन्न हुन लामो समय लागेको शर्माको भनाइ छ । 

‘उनीहरूले सोचेको भन्दा फरक अवस्था सिर्जना भयो । पछि फेरि बाढी आएर पुल लामो बनाउनुपर्ने भयो, र लामो पुल बनाउनु प्राविधिक रूपमा गाह्रो हुन्छ,’ सचिव शर्माले भने, ‘लामो पुलका लागि बीचमा सपोर्ट राख्नुपर्ने हुन्छ । यो बीचमा बाढी आएर निर्माणमा ढिलाइ भयो ।’

चीनले दसैँअघि नै सञ्चालनमा ल्याउने गरी बेलिब्रिज जडान अघि बढाएको थियो । तर बेला-बेलाको वर्षाले नदीमा पानीको बहाव बढेपछि दसैँअघि सञ्चालनमा आउन सकेन । यसपछि कात्तिकको दोस्रो साताभित्र सञ्चालनमा आउने चिनियाँ पक्षले जानकारी गराएको थियो । असोजको तेस्रो साता आएको बाढीले पुनः क्षति गरेपछि सञ्चालनमा ल्याउन नसकेको सडक विभागले जनाएको छ । 

विभागका महानिर्देशक विजय जैसीका अनुसार हाल चिनियाँ पक्षले १०० मिटर लम्बाइको बेलिब्रिज जडान गरिरहेको छ । अलिलेसम्म के-कति काम सम्पन्न भयो भन्नेबारे चिनियाँ पक्षले पछिल्लो अपडेट नपठाएको जैसी बताउँछन् ।

महानिर्देशक जैसीले भने, ‘यो अहिलेसम्मको सबैभन्दा लामो बेलिब्रिज हो । यति लामो बेलिब्रिज जडान गर्न टेक्निकल्ली पनि च्यालेन्ज नै छ । यसकारण पनि समय धेरै लागेको हो । उताबाट बेलिब्रिज जडान गरिसकेपछि खबर आउला ।’

सडकको अवस्था के छ ?

असार २४ मा आएको बाढीले ठुलो क्षति पुर्‍याएपछि रसुवागढी सडकका विभिन्न खण्डमा पहिरो र कटानले सवारी आवतजावत बन्द भएको थियो । मर्मतपछि साउन ४ गतेदेखि सडक सञ्चालनमा आयो, तर फेरि साउन १४ मा आएको बाढीले सडक कटान गरेपछि पुनः अवरुद्ध बन्यो । यसपछि अस्थायी ट्रयाक निर्माण गरी सडक सञ्चालनमा आएको थियो । 

असोज तेस्रो साता आएको बाढीले पुन: सडकमा क्षति पुगेको थियो । हाल मर्मतपछि सञ्चालनमा आएको छ । यो सडक सञ्चालनमा आए पनि सिंगल लेन भएका कारण सवारी सञ्चालनमा सकस छ । हाल सडक विस्तार अघि बढेपनि अपेक्षित काम हुनसकेको छैन । गल्छी–त्रिशुली–स्याफ्रुबेँसी–रसुवागढी खण्डलाई तीन खण्डमा विभाजन गरेर विस्तार अघि बढाइएको छ । यसमध्ये स्याफ्रुबेँसी–रसुवागढी खण्ड चीनले विस्तार गरिदिने सहमति भइसकेको छ, काम अघि बढेको छैन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप