काठमाडौँ । सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन मिति घोषणा गरिसकेको छ । यस घोषणालगत्तै निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि कात्तिक ३० गतेसम्मको समयसीमा तोकेको छ ।
बुधबार मध्यरातसम्म दुई लाख ३९ हजार ९४० नयाँ मतदाता देशभरि थपिएका छन् । नयाँ मतदाता परिचयपत्र बनाउन आएका युवाहरू मतदान गर्न आतुर देखिन्छन् तर प्रक्रियामा उनीहरूले भोग्नुपरेका झन्झट र सरकारी संयन्त्रको फितलो व्यवस्थापनले उनीहरू खिन्न पनि देखिन्छन् ।
यस पटकको निर्वाचनमा नयाँ पुस्ता विशेषगरी ‘जेनजी’ का युवाहरूमा देखिएको उत्साह विगतका निर्वाचनहरूभन्दा भिन्न र प्रबल छ । उनीहरूले मतदानलाई केवल अधिकारमात्र नभई देशको भविष्य निर्माण गर्ने महत्त्वपूर्ण जिम्मेवारीका रूपमा लिएका छन् । ललितपुरको जावलाखेलस्थित जिल्ला निर्वाचन कार्यालयमा भेटिएका अभय कुशवाहा, मल्लिका श्रेष्ठ र मोहम्मद अबुलैज जस्ता युवाहरूले यसलाई ‘देशको भविष्य निर्धारण गर्ने अवसर’ को रूपमा व्याख्या गरे ।

रौतहट स्थायी घर भएका मोहम्मद अबुलैज आफ्नो भोटलाई नयाँ परिवर्तनको माध्यम मान्छन् । उनले भने, ‘नयाँ परिवर्तनका लागि, नयाँ सरकारका लागि हामी सबै युवा एकजुट भएका छौँ ।’ उनले विगतका पुराना पार्टीहरूबाट निराश भई नयाँ शक्तिलाई भोट दिनुपर्नेमा जोड दिएका छन् । उनले आक्रोश व्यक्त गरे, ‘पुरानो शक्तिले देश खाइसक्यो, केही छैन । कलकारखाना बेचिखायो, केही पनि छैन । एमाले, माओवादी, कांग्रेस यस्तै यिनैले त हो नि त अहिलेसम्म चलाएको ।’
यस्तै ललितपुरकै मल्लिका श्रेष्ठ मतदानलाई आफ्नो व्यक्तिगत जिम्मेवारीका रूपमा हेर्छिन् । उनी भोट हाल्नुलाई आफ्नो जिम्मेवारी सम्झेको र राम्रो नेता छनोट गर्नुपर्नेमा जोड दिँदै भन्छिन्, ‘गलत मान्छेलाई भोट दिएमा पछि आफूलाई नै हानि हुन्छ ।’
निर्वाचन कार्यालयमा भेटिएका अधिकांश युवा मतदाताहरू आफैँ जागरुक भई स्वस्फूर्त रूपमा मतदाता नामावलीमा नाम दर्ता गर्न आएका छन् । अभय कुशवाहाले कसैले नभनेर आफैँ जागरुक भई आएको बताए । यो पटक युवा मतदाताको संख्या बढ्ने र यसले सकारात्मक प्रभाव पार्ने विश्वास उनीहरूमा देखिन्छ ।
उनीहरूले आफ्नो सामाजिक सञ्जालको पहुँच र सूचना आदानप्रदानको माध्यमबाट अरू युवाहरूलाई पनि मतदानको महत्त्वबारे जानकारी गराउँदै आएका छन् । मल्लिका श्रेष्ठका साथीहरू पनि नामावली दर्ता गरिरहेको बताउँदै उनले यसपटकको जेनेरेशनल ग्यापले गर्दा आफूलाई जे सही लाग्छ, त्यही कुरा गर्ने पुस्ताको उदय भएको दाबी गरिन् ।
युवा पुस्ताको यो उत्साहजनक सहभागिताका बाबजुद निर्वाचन आयोगको व्यवस्थापन र प्राविधिक पूर्वाधारको कमजोरीले मतदाता नामावली दर्ता प्रक्रियालाई झन्झटिलो बनाएको छ । ललितपुर र काठमाडौँका विभिन्न निर्वाचन कार्यालयहरूमा लामो लाइन, सर्भर डाउनको समस्या र अनलाइन स्लटको अभावले सेवाग्राहीहरूले चरम सास्ती भोग्नुपरेको छ ।
मतदाता नामावली दर्ता प्रक्रियामा प्राविधिक समस्याहरूले सेवाग्राहीलाई निकै समस्या पारेको छ । सोलुखुम्बुमा स्थायी घर भएर ललितपुर बस्ने अमूल्य श्रेष्ठले भने, ‘अड्किएको अड्कियै गर्ने, ओटीपी नआउने, डाउनलोड राम्ररी नहुने जस्ता प्राविधिक समस्याले हैरानी दिइरहेको छ ।’
नयाँ पुस्ता केवल भोट हाल्ने औपचारिकता पूरा गर्न चाहँदैनन्, बरु आफ्नो मतको माध्यमबाट सकारात्मक परिवर्तन ल्याउन कटिबद्ध छन् । उनीहरू आफ्नो भविष्यको लागि जिम्मेवार लिडर चुन्न चाहन्छन्, जसले देशलाई सही मार्गमा डोर्याओस् ।
१२–१५ पटकसम्म प्रयास गर्दा पनि समस्या समाधान नभएको गुनासो गरे । उनको अनुभव अनुसार वेबसाइटमा पनि अत्यधिक ह्याङ्ग हुने र त्यसले गर्दा समयको बर्बादी भएको छ । यो समस्या केवल अमूल्य श्रेष्ठको मात्र नभई अन्य धेरै सेवाग्राहीले पनि झेल्नुपरेको छ, जसका कारण उनीहरूले पटक–पटक निर्वाचन कार्यालय धाउनुपरेको सुनाउँछन् ।
अनलाइनमा स्लट बुक गर्न पनि हम्मेहम्मे परेको र उपलब्ध स्लटहरूको संख्या अपर्याप्त रहेको धेरैको गुनासो छ । काठमाडौँ र ललितपुरमा समेत स्लट नपाएर टाढाटाढाबाट आएकाहरू निराश छन् । कैलालीबाट आएका राजन खनाल अघिल्लो साल दर्ता गर्ने व्यवस्था सहज भएकोमा यस वर्ष त्यस्तो सुविधा नहुँदा थप कष्ट भोगेको बताउँछन् । निर्वाचन कार्यालयमा लामो लाइनमा बस्दा उनीहरूको दैनिक काम प्रभावित भएको छ भने कतिपयले त बिदा लिएर आउँदा पनि काम सम्पन्न गर्न नसकेको गुनासो गरेका छन् ।
आगामी फागुन २१ गतेको निर्वाचनका लागि कार्तिक ३० सम्म तोकिएको नामावली दर्ताको म्याद अपुग भएको सेवाग्राहीको भनाइ छ । राजन खनालले भने, ‘१५ दिनको मात्र समय दिएको छ, त्यसमाथि सर्भर डाउन हुने, शनिबार बिदा हुने जस्ता समस्याले गर्दा धेरैले दर्ता गर्न पाएनन् ।’
उनले निर्वाचन आयोगलाई अझै १५–२० दिन म्याद थप गर्नुपर्ने माग गरेका छन् । अमूल्य श्रेष्ठले पनि काम गर्ने मान्छेलाई पटक पटक बिदा मिलाएर आउन गाह्रो हुने र यसरी समय खेर जाँदा सास्ती भएको उल्लेख गरे । छोटो समयावधि, त्यसमाथि प्राविधिक समस्या र साप्ताहिक बिदाका कारण धेरै योग्य मतदाताहरू आफ्नो नाम दर्ता गर्नबाट वञ्चित हुने सम्भावना बढेको छ ।
यसैबीच निर्वाचन आयोगले मतदाता नामावली दर्ता प्रक्रियालाई केही सहज बनाएको छ । अब राष्ट्रिय परिचयपत्र बनाइसकेका नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउन पुनः बायोमेट्रिक (औँठा छाप र तस्बिर) विवरण दिनु नपर्ने भएको छ ।
_CwxRDMxaSJ.jpg)
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले राष्ट्रिय परिचयपत्रको भण्डारमा रहेको बायोमेट्रिक विवरणलाई सोझै मतदाता नामावलीको अनलाइन आवेदनसँग जोड्ने निर्णय गरेको जानकारी दिए। यो व्यवस्थाले नागरिकले बेहोर्दै आएको झन्झट अन्त्य हुने र दर्ता प्रक्रिया छिटो र प्रभावकारी हुने उनले बताए ।
यो नयाँ व्यवस्थाअनुसार, राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका व्यक्तिले निर्वाचन आयोगको वेबसाइटमार्फत अनलाइन फाराम भर्न सक्नेछन् । आयोगले उक्त आवेदनलाई राष्ट्रिय परिचयपत्रको प्रणालीमा रहेको बायोमेट्रिक विवरणसँग आबद्ध गरी प्रमाणीकरण गर्नेछ । यसले गर्दा नागरिकले नामावली दर्ताका लागि जिल्ला निर्वाचन कार्यालय वा इलाका प्रशासन कार्यालयमा भौतिक रूपमा उपस्थित भएर घण्टौँ लाइन बस्नुपर्ने बाध्यता पनि हट्ने अपेक्षा गरिएको छ ।
हाल मतदाता नामावली दर्ताका लागि देखिएको अत्यधिक चापलाई व्यवस्थापन गर्न आयोगले दर्ता केन्द्रहरूमा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म दुई सिफ्टमा काम गरिरहेको पनि उनले जानकारी दिए। अनलाइन प्रणाली र राष्ट्रिय परिचयपत्रसँगको आबद्धताले आगामी दिनमा यो चाप स्वतः घट्ने आयोगको विश्वास छ । नाम दर्ताको समय कात्तिकसम्म छ ।
प्रतिक्रिया