जेनजी आन्दोलनपछि प्रयोगविहीन भए राजमार्गमा जडान गरिएका क्यामेरा
सारांश
- बारामा भएको आन्दोलनका कारण राजमार्गमा जडान गरिएका सीसी क्यामेरा र राडार गन प्रयोगविहीन भएका छन्।
- आन्दोलनमा ट्राफिक कार्यालय भवनमा आगजनी र तोडफोड भएपछि दुर्घटना न्यूनीकरणमा समस्या भएको छ।
- प्रहरीका अनुसार, मधेस प्रदेशमा वार्षिक ६ हजारभन्दा बढी सवारी दुर्घटना हुने गर्छन्, जसमा ५५० देखि ६०० जनाको ज्यान जाने गरेको छ।
बारा । सवारी दुर्घटना न्यूनीकरण र गति नियन्त्रण गर्न पूर्व–पश्चिम राजमार्गमा जडान भएका सीसी क्यामेरासहितका ‘राडार गन’ (गति मापन यन्त्र) जेनजी आन्दोलनपछि प्रयोगविहीन भएका छन् ।
आन्दोलनका क्रममा ट्राफिक कार्यालय भवन आगजनी र तोडफोड भएपछि राजमार्गमा जडान भएका राडार गनसमेत बन्द भएका हुन् । यी राडार गन सर्भरको माध्यमबाट सञ्चालन हुन्छन् ।
मधेस सरकारले राजमार्गका पाँच स्थानमा राडार गनसहित सीसी क्यामेरा जडान गरेको छ । ती क्यामेरा बन्द हुँदा पूर्व–पश्चिम राजमार्गका हुने सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीलाई हम्मे–हम्मे भएको छ ।
राडार गनले राजमार्गमा गुडेका सवारी साधन कुन गतिमा छन् भन्ने विवरण संकलन गर्दछ । सोही अनुसार तीव्र गतिका सवारी साधनलाई कारबाही गर्दा चालकहरू निश्चित गतिमा सीमित रहेर सवारी साधन सञ्चालन गर्दछन् ।
पूर्व–पश्चिम राजमार्गको पथलैथादेखि पूर्वतर्फका २ लेनका साँघुरा सडकखण्डमा अत्यधिक सवारी चाप हुने भएकाले दैनिकजसो सवारी दुर्घटना हुने गर्दछन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका प्रमुख तथा प्रहरी उपरीक्षक राजकुमार सिलवालले जेनजी आन्दोलनले सबैभन्दा ठुलो समस्या दुर्घटना न्यूनीकरणमा भएको बताए ।
‘जेनजी आन्दोलनमा मधेसका ८ जिल्लामध्ये बारा, पर्सा बाहेकका ६ जिल्लामा क्षति भए । धनुषामा हाम्रो कार्यालय, सवारी साधन, प्रहरीका पोसाक समेत जलेर नष्ट भए,’ प्रहरी उपरीक्षक सिलवालले भने, ‘आन्दोलनपछि स्थानीयहरूको सहयोगमा भवनहरू मर्मतसम्भार गरेर काम चलाउ भए पनि हाम्रो सर्भर सिस्टम बन्द हुँदा राजमार्गमा जडान भएका सीसी क्यामेरा प्रयोगविहीन छन् । काम गर्न धेरै गाह्रो भएको छ ।’
बारा, पर्सा, रौतहट, धनुषा, सप्तरी, सिराहा र महोत्तरी लगायतका जिल्लामा राजमार्ग क्षेत्रमा सवारी साधनको गति नियन्त्रण गर्न र दुर्घटना न्यूनीकरण गर्न सीसी क्यामेरा जडान गरिएको छ । पर्सामा भने वीरगञ्ज महानगरले जडान गरेको हो ।
मधेस प्रदेशकका ८ जिल्लामा साना–ठुला गरेर वार्षिक ६ हजारभन्दा बढी सवारी दुर्घटना हुने गर्दछन् । दुर्घटनामा ५५० देखि ६ सय (विगत ३ वर्षको तथ्याङ्कका आधारमा) जनाको ज्यान जाने गर्दछ ।

‘सीसीटीभी चलिरहेको छैन । दुर्घटना भएपछि आवश्यक तथ्य पहिचान गर्न समस्या भएको छ,’ प्रहरी उपरीक्षक सिलवालले भने ।
राजमार्गमा जडान भएका राडार गनबाहेक जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका कार्यालयहरू सरसफाई गरेर जसोतसो गरेर सञ्चालनमा ल्याएको राजमार्ग ट्रफिक व्यवस्थापन कार्यालय बाराले जनाएको छ ।
‘हाम्रा मोटरगाडीहरू जलेर नष्ट भए पनि सेवा प्रवाह जसोतसो गरेका छौँ,’ प्रहरी नायब उपरीक्षक वकिल बहादुर सिंहले भने, ‘क्षति भएका भवन, मोटरगाडी, ट्राफिक उपकरणहरूको लेखापढी भएको छ । माथिबाट सहयोग आउला भन्ने आशमा छौँ ।’
आन्दोलनमा धनुषाको जिल्ला ट्राफिक कार्यालय भवन, निजी तथा सरकारी सवारी साधन, ट्राफिक उपकरण, प्रहरीको पोसाकसहित सम्पूर्ण सामग्री जलेर नष्ट भएको सिंहको भनाइ छ ।
‘एकसरो प्रहरीको पोसाकसम्म जेनतेन हामीले पठायौँ । त्यो बाहेक हामीसँग पनि बजेट छैन,’ उनले भने, ‘धनुषा बाहेक अरु जिल्लामा कतै भवन जलेका छन्, कतै सवारी साधन जलेका छन् । कतै प्रहरीले पोसाकसम्म बचाउन सफल भएको छ । यस्तै–यस्तै छ ।’
२४ सै घण्टा फिल्डमा खटिने ट्राफिक प्रहरीहरू जेनजी आन्दोलनपछि पनि उच्च मनोबलका साथ काममा खटिएका छन् । ‘परिस्थिति जस्तोसुकै हुँदा पनि हामी उच्च मनोबलका साथ फिल्डमा खटिएका छौँ र हाम्रो मातहतका प्रहरी कर्मचारीलाई पनि उच्च मनोबलका साथ खटिन निर्देशन दिएका छौँ,’ प्रहरी नायब उपरीक्षक सिंहले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण