रेशमले छुट्टै दल गठन गरेपछि रञ्जिताको राजनीतिक भविष्य के होला ?
सारांश
- नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक रेशम चौधरीले पार्टी परित्याग गरी नयाँ दल गठन गरे।
- रेशम र रञ्जिताबीचको शक्ति संघर्षपछि नाउपाले विरासत जोगाउन सक्ने वा नसक्ने प्रश्न उठेको छ।
- पार्टी विभाजनपछि अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीलाई कसरी अगाडि बढाउँछिन् भन्ने चासो बढेको छ।
धनगढी । पार्टी गठन भएको छोटो समयमै सहानुभूति र पहिचानको जगमा सुदूरपश्चिमको राजनीतिमा प्रभावकारी भूमिकासहित उदाएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) अहिले सबैभन्दा कठिन मोडमा उभिएको छ ।
पार्टीका संस्थापक तथा संरक्षक रेशम चौधरीले उक्त पार्टी परित्याग गरी नागरिक उन्मुक्ति पार्टी नेपाल नामक नयाँ दल गठन गरेका छन् । रेशमको यो कदमले नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठको राजनीतिक भविष्य कस्तो होला भन्नेबारे चासो बढाएको छ ।
रेशम र रञ्जिता पति–पत्नी हुन् । रेशम जेलमा रहँदा रञ्जिताले पार्टीको नेतृत्व गर्दै स्थानीय तह र प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उल्लेख्य सफलता दिलाइन् । जब रेशम रिहा भए, त्यसपछि पार्टीभित्र पति–पत्नीबिच शक्ति सङ्घर्ष चुलिँदै गयो ।
पति–पत्नीबिचको राजनीतिक संघर्षले निम्त्याएको यो ‘विच्छेद’ पछि नाउपाले आफ्नो विरासत जोगाउन सक्ला या रेशको नेतृत्वमा गठित नाउपा नेपालले जनविश्वास बटुल्छ भन्नेबारे निकै ठुलो चासो छ ।
नागरिक उन्मुक्ति पार्टीको उदय २०७२ भदौ ७ गते भएको टीकापुर घटनासँग अभिन्न रूपमा जोडिएको छ । उक्त घटनामा आरोपित भएपछि रेशम चौधरी जेल परे । उनको राजनीतिक प्रभाव भने कम भएन । जेलभित्रैबाट उनले आफ्नो राजनीतिक यात्रालाई निरन्तरता दिए । परिणामस्वरुप २०७८ पुस १९ गते उनकी पत्नी रञ्जिता श्रेष्ठको अध्यक्षतामा नाउपाको जन्म भयो ।
‘ढकिया’ चुनाव चिह्न लिएर चुनावी मैदानमा होमिएको यो पार्टीले छोटो समयमै आश्चर्यजनक सफलता हासिल ग¥यो । विशेषगरी कैलाली र बर्दियाका थारु समुदायको बाहुल्य रहेको क्षेत्रमा यसले ठुला दलहरूको किल्ला भत्काइदियो । कैलालीमा त नाउपा सबैभन्दा ठुलो दल बन्न सफल भयो ।
पहिलो निर्वाचनमै प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ३ र प्रदेश सभामा ५ सिट जित्नु चानचुने कुरा थिएन । सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि नाउपा एक निर्णायक शक्ति बन्यो । यो सफलताको पछाडि रेशम चौधरीप्रतिको सहानुभूति र थारु समुदायको पहिचानको मुद्दाले मुख्य भूमिका खेलेको धेरै विश्लेषण छ ।
तर, नागारिक उन्मुक्ती पार्टीको सफलताको यो उचाइ लामो समय टिकेन । २०८० जेठ १५ मा गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएर रेशम चौधरी जेलमुक्त भएपछि पार्टीभित्र नयाँ अध्याय सुरु भयो, जुन सुखद् रहेन । जेल बाहिर आएका रेशम र पार्टीको नेतृत्व गरिरहेकी रञ्जिताबिच शक्ति र रणनीतिको विषयमा गम्भीर मतभेद देखिन थाल्यो । सरकारमा सहभागिता, मन्त्री छनोट र पार्टी सञ्चालनका विषयमा उनीहरूबिचको टकराव सतहमा आयो । यो विवादले संघीय सरकारदेखि सुदूरपश्चिम प्रदेशसम्मै पार्टीलाई अस्थिर बनायो ।
सांसदहरू रेशम र रञ्जिताको गुटमा स्पष्ट रूपमा विभाजित भए । यसले पार्टीको आन्तरिक एकतालाई क्षतविक्षत बनायो । अन्ततः यही वर्षको भदौमा रेशम चौधरीले आफूले जन्माएको पार्टीसँग सबै सम्बन्ध तोडेको घोषणा गरे । फेसबुक लाइभमार्फत भावुक हुँदै उनले आफूलाई पार्टीभित्रै ‘साधारण सदस्य पनि नरहेको’ र ‘कानुनी हैसियत नभएको’ भन्दै बारम्बार अपमानित गरिएको गुनासो पोखे । लगत्तै उनले ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ नामक नयाँ दल दर्ता गरेर छुट्टै राजनीतिक यात्राको सुरुवात गरे ।
पार्टीबाट रेशम अलग भएपछि अध्यक्ष रञ्जिता श्रेष्ठले अब पार्टीलाई कसरी अगाडि बढाउँछिन् भन्नेमा सबैको नजर छ । पार्टीभित्रकै कोही सांसद भने यो विभाजनलाई सकारात्मक रूपमा हेर्छन् । नाउपाका सुदूरपश्चिम प्रदेश सभा सदस्य रामेश्वर चौधरी अब पार्टीमा विवादको औचित्य समाप्त भएको बताउँछन् । उनका अनुसार, रेशम चौधरी अलग भएपछि अब कुनै द्वन्द्व र किचलो रहने छैन ।
‘पहिले रेशम र रञ्जिताजीको कुराले जुन विवाद देखिन्थ्यो, अब त कित्ताकाट नै भइसक्यो,’ उनले भने, ‘अब कुनै द्वन्द्व छैन, कुनै कन्फ्लिक्ट छैन । हामी २०८४ को चुनावका लागि थप सशक्त भएर जान्छौँ ।’
चौधरीले पार्टीको मूल एजेन्डा स्पष्ट रहेको र पछाडि पारिएका, दबाइएका सबै नागरिकको मुक्तिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘नागरिक उन्मुक्ति भनेको कुनै व्यक्ति विशेषको होइन, यो सबै नागरिकको हो । पिछडिएका, दबाइएका, सीमान्तकृत, दलित सबैलाई माथि उठाउने हाम्रो लक्ष्य हो,’ उनले भने ।
उनले विगतमा सुदूरपश्चिममा आफू भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री हुँदा मुक्त कमैया, कमलरी, हलिया पुनर्स्थापना कार्यविधि बनाएको स्मरण गर्दै पार्टीको नीति जनपक्षीय रहेको दाबी गरे ।
रेशमको नयाँ पार्टीसँग भविष्यमा एकताको सम्भावनाबारे उनी आशावादी सुनिन्छन् । ‘भोलि गएर नागरिक उन्मुक्ति पार्टी नेपाल र हाम्रो पार्टी एक हुन पनि सक्छ । किनभने हाम्रो मुद्दा र एजेन्डा एउटै हो, हामी पहिचानको मुद्दा बोकेको पार्टी हौँ,’ उनले भने ।
पार्टीका सबै सांसद रामेश्वर चौधरी जस्तै आशावादी छैनन् । सुदूरपश्चिम प्रदेश सभामा नाउपाका संसदीय दलका नेता घनश्याम चौधरीले पार्टी कसरी अगाडि बढ्छ भन्ने विषयमा अध्यक्षबाट कुनै स्पष्ट निर्देशन नआएको बताए ।
‘अहिले पार्टीगत रूपमा खासै केही जानकारी आएको छैन । अब पार्टी कसरी अगाडि बढ्ने भन्ने विषयमा अध्यक्षज्यूसँगै बुझ्नुपर्छ,’ उनले भने ।
रेशम बाहिरिएपछि नाउपाका लागि ठुलो धक्का लागेको चर्चा छ । पार्टीको मुख्य आधार नै थारु समुदायको सहानुभूति र रेशमको ‘व्यक्तित्व’ थियो । अब रञ्जिताले एक्लै त्यो जनमतलाई कसरी जोगाउँछिन् भन्नेमा पार्टीको भविष्य निर्भर गर्दछ । सांसद रामेश्वर पार्टीलाई व्यक्तिगत प्रभावबाट बाहिर निकालेर एक संस्थागत संरचनामा ढाल्न सक्नुपर्ने बताउँछन् ।
जेनजी आन्दोलनजस्ता नयाँ राजनीतिक उभारहरू देखिइरहेको बेला नाउपाले आफ्नो पहिचानको मुद्दालाई थप परिष्कृत गर्दै जनताको विश्वास जित्नुपर्ने उनको सुझाव छ ।
‘ठुला माछाले साना माछालाई खान्छ भनेजस्तै हाम्रो सानो पार्टीमाथि खेल्ने अवसर पाए,’ अब पार्टीले यस्ता बाहिरी अवसरवादबाट जोगिँदै आन्तरिक एकता बलियो बनाउनुपर्नेछ,’ चौधरीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण