लेखनले आफ्नो माटोसँग जोडिन बल पुर्याउँछ: सुरेश राई
सारांश
- खोटाङका लेखक सुरेश राई हाल कोरियामा छन्, र उनले विदेशमा साहित्य सिर्जना गर्न समयको अभाव हुने अनुभव सुनाए।
- राईले लेख्नका लागि प्रत्यक्ष घटना र परिस्थितिहरूले प्रेरित गर्ने बताए, र उनले आफ्नो कृतिमा माया, प्रेम, र जीवन दर्शनका कुराहरू समेटेका छन्।
- उनले 'कुइख्याङ' र 'लेभ टोस्टोयका प्रतिनिधि कथाहरू' पढेको र आफूले लेखेर केही नगुमाएको तर चेतना कमाएको अनुभव सुनाए।
खोटाङ जिल्लाको तत्कालीन बाम्राङ गाविस वार्ड नम्बर ९ चुप्ला (हाल दिरुम नगरपालिका– ३) का सुरेश राई कविता, कथा र गीत लगायत विधामा कलम चलाउँछन् । उनको ‘सम्झनाको फोटोकपी’ (२०८१) कविता सङ्ग्रह प्रकाशित छ । हाल वैदेशिक रोजगारीका सिलसिलामा दक्षिण कोरियामा रहेका उनीसँग रातोपाटीकी रमा सुवेदीले ‘नौ प्रश्न’ शृङ्खलाका लागि गरेको कुराकानी ।
१. वैदेशिक रोजगारीमा हुनुहुन्छ, विदेशमा रहेर साहित्यकर्म गर्न कत्तिको सजिलो/अप्ठेरो छ ?
सन् २०१६मा रोजगारीका लागि दक्षिण कोरिया आइपुगेँ । देशबाट टाढा रहेर साहित्यकर्म गर्न सजिलो नहुने रहेछ । मुख्य चुनौती भनेकै समय नहुनु हो । घडीको अलार्मबाट सुरु हुने दिन घडीकै फेरोसँगै आराम गर्छ । यहाँ घाम डुब्दैन, केवल घडीको चक्र डुब्छ र नयाँ उदाउँछ । तथापि साहित्यिक मनलाई केहीले रोक्न नसक्ने रहेछ । उ त बगिदिन्छ । विदेशी भूमिमा रहेका साहित्यानुरागीहरू बिदाका दिन साहित्यकर्ममा जुटिरहेका हुन्छन् ।
मलाई के लाग्छ भने साहित्य सिर्जनाको काम फुर्सदमा गर्ने काम होइन । लेख्छु भनेर समय मिलाएर बसे पनि लेखिने होइन । मेरो अनुभव त कस्तो छ भने शारीरिक रूपमा धेरै जोतिँदा म झनै रचनात्मक भइदिन्छु । ड्युटी, घरपरिवार र साथीसँगीसँगको मैत्रीपूर्ण सन्तुलन कायम गर्दै यद्यपि सिर्जनामा लागेकै छु ।
२. तपाईंलाई के कुराले लेख्न प्रेरित गर्छ ?
प्रत्यक्ष साक्षी बनेका घटना–परिस्थितिले नै विशेषगरी लेख्न हौस्याउँछ । कुनै विषयले भित्रैदेखि छोएमा त्यसलाई अक्षरमा नपोख्दासम्म अशान्त भइरहन्छु । त्यसैले आफ्नो शान्तिका लागि पनि लेख्छु । यसैमा एउटा प्रसङ्ग छ । एक पटक हाम्रो आँगनमा मृत भँगेराको आधा च्यातिएको शरीर मेरो खुट्टामा ठोक्किने गरि आइपुग्यो । अनि मैले त्यो भँगेराको दुःखद कथा लेखेँ ।
साथीकी छोरी जन्मिँदा त्यसको खुसीमा कविता लेखेँ । यसरी कतिबेला के कुराले छुन्छ त कहिले केले उद्वेलित बनाउँछ । तर, कुनै विचार, वाद वा मुद्दामा टेकेर अब केही लेख्नै पर्छ भनेर लेख्ने गरेको छैन ।
३. नेपाल र विदेशको साहित्यिक माहौलमा के कस्तो भिन्नता पाउनु भएको छ ?
विदेश भनेको मातृभुमी त हुँदै होइन । जरूर नेपालभन्दा सानो समूहमा साहित्यिक गतिविधिहरू हुन्छन् । लेखन, प्रकाशन तथा वितरण जस्ता पक्षहरूमा तुलनात्मक रूपमा नेपालमा भन्दा यहाँ केही सीमाहरू हुन्छन् तर मुख्य कर्म त सृजना नै हो । हिजोआज एउटा राम्रो पक्ष के छ भने नेपालमा कुनै पुस्तक प्रकाशन हुने बित्तिकै यहाँको डायस्पोरामा राम्रो मात्रामा वितरण हुन थाल्छ ।
देशको ठुलो सङ्ख्या विदेशमा बसोबास गर्ने भएकाले आफ्नो माटोमा सृजना गरिएका रचनाहरूप्रति यहाँ धेरै ठुलो चाख मानिन्छ । विदेशमा बसोबास गर्ने नेपालीहरूले कयौँ देशमा पुस्तकालय पनि खोलेका छन् । त्यसले नेपाली साहित्यको उत्थानमा केही न केही सघाउ पुगेकै छ । त्यहाँ विचार–विमर्शहरू हुन्छन् । त्यसले हामीलाई देशसँग जोडिन सजिलो बनाउँछ । आफ्नो माटोसँग जोडिन मद्दत गर्छ ।
४. तपाईंले अन्तिम पटक पढेको कृति कुन थियो अनि कस्तो लाग्यो ?
मैले भर्खरै ‘कुइख्याङ’ र ‘लेभ टोस्टोयका प्रतिनिधि कथाहरू’ पढि सिध्याएँ । ‘कुइख्याङ’ रोल्पामाथि विभिन्न समयमा लेखिएका ५१ कविताहरूलाई सङ्ग्रह हो, जुन कवि युग सर्वनामले सङ्कलन र सम्पादन गरेका हुन् । खासगरी रोल्पालाई विम्ब बनाएर प्रगतिशील चेतनाका प्रखर कविहरुले त्यसमा आवाज दिएका छन् । त्यसमा राम्रो वैचारिक खुराक लुकेको पाएँ मैले ।
दोस्रो, टोल्स्टोयका ६ लामा कथाहरूको सङ्ग्रह हो । यो पुस्तक मैले २० वर्षपछि दोहोर्याएर पढेको हुँ । पहिले स्कुले जीवनका आखिरी वर्षमा पढेको थिएँ । फेरि पढ्दा आफू पुनः उही कालको किशोरावस्थामा फर्केको महसुस भयो । आख्यानमा रूचि हुनेलाई यो निकै मन पर्न सक्छ । कथामा स–साना कुराहरुलाई यति मसिनोगरी व्याख्या गरिएको छ कि त्यसबाट निस्केर आउने तस्वीरले पाठकलाई सिनेमा हेरे जस्तै बनाउँछ ।
५. तपाईंलाई अहिलेसम्म लेखेर के कमाएँ वा के गुमाएँ भन्ने लागेको छ ?
स्पष्ट शब्दमा भन्ने हो भने लेखेर केही पनि गुमाएको छैन । तर कमाउन चाहिँ अहिलेसम्मको चेतना कमाएँ ।
६. आफूंलाई झक्झकाएको कुनै एउटा कृति सम्झिनु पर्र्या भने के सम्झनु हुन्छ ?
आफूलाई बेस्सरी प्रभाव पारेका साहित्यिक कृतिहरू धेरै छन् । स्कुले जीवनमा प्रकाश कोविदका उपन्यासले प्रभाव पारे । वेदप्रकाश शर्माको ‘सुलग उठा सिन्दुर’ भन्ने सम्झन्छु । ‘मुनामदन’ र ‘गौरी’ सम्झन्छु । ‘शिरिषको फूल’ सम्झन्छु । काफ्काको उपन्यास ‘द मेटामोर्फोसिस’ को नाम लिन चाहन्छु । त्यस उपन्यासको पात्र ग्रेगर साम्सालाई सुम्सुम्याएपछि एक्लै उदास डुलिहिँड्थेँ कुनै समय म । भनेपछि त्यसले प्रभाव पार्यो होला कि पारेन त ?
७. कविता, कथा, निबन्धमा उत्तिकै सक्रियता साथ कलम चलाइरहनु भएको छ । आफूलाई पोख्न केमा सहज हुने रहेछ ?
मेरा लागि यो निर्मम प्रश्न हो । मलाई ती सबै विधासँग उतिकै प्रेम छ । यदि रोज्नैपर्ने बाध्याता आईलागेमा म कविता रोज्छु । त्यसमा मेरो स्वार्थ र चलाखी दुबै लुकेको छ ।
८. ‘सम्झनाको फोटोकपी’ मा त्यस्तो के छ, जुन पाठकहरूले पढ्नै पर्ने भन्ने लाग्छ ?
सर्वप्रथम त्यस्तो ‘पढ्नै पर्छ’ भन्ने दावि म गर्दिन । बरू त्यसभित्र के छ भन्न सक्छु । म सरल भाषामा लेखिने कविताको प्रशंसक हुँ । बिम्बमाथि बिम्ब थुपारेर मुख्य कुरा लुकाइने क्लिष्ट कविता म रुचाउँदिन । त्यसैले आफ्नो कविता सङ्ग्रहमा मैले सरल भाषामा लेखिएका कविता पस्केको छु । मिठो छ वा छैन पाठकले त्यसको मुल्यांकन गर्नु हुनेछ । त्यसमा माया–प्रेम, परदेशका पीडा, आमाको सम्झना, राजनीतिको उहापोह, जीवनदर्शनसँग सम्बन्धीत कविता छन् ।
९. जिन्दगीलाई परिभाषित गर्न गाह्रो छ, तथापि जिन्दगी के रहेछ ?
एक जना अमेरिकन गायक छन्– एडी भेडर । उनी प्रसिद्ध पर्ल ज्याम ब्यान्डका भोकलिस्ट हुन् । उनले लेखेको एउटा गीत छ– ‘आइ एम माइन’ भन्ने । गीतमा उनी भन्छन्, ‘मलाई थाहा छ, म जन्मेको हुँ र मलाई थाहा छ, म मर्नेछु । तर बीच भाग चाहिँ मेरो हो ।’
जिन्दगी सायद उनले भने जस्तै त्यही ‘इन–बिट्विन्’ नै केही हो । त्यस्तो इन–बिट्विन्, जो नितान्त आफ्नो हो । त्यसै भित्र प्रेम, इष्र्या, घमण्ड, लेखनी र आफ्नो जीवनको जिजिविषा जोडिन आई पुग्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण