शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
लघुकथा

अपरेसन फेन्सी

शनिबार, २९ कात्तिक २०८२, १४ : ०६
शनिबार, २९ कात्तिक २०८२

‘काम तमाम भए मात्र सफल हुन्छ ।’, कुखुराको फिला टोक्दै एडम बेलले भनी ।

एडम बेल इजरायली युवती हो । करिब आठ महिनादेखि उ पोखराको लेक साइडमा बस्दै आएको बताउँथी । कुरा गर्दै जाँदा पो थाहा भयो, उ त खुफिया एजेन्सीकी सदस्य पो रहिछ । उसको एजेन्सीको नाम– मुसादी रहेछ ।

पारा हेर्दा त जतिबेलै गाँजाको नसामा लट्ठ देखिन्थी मोरी । काम भने मुसाले जस्तै मुसादीको काम गर्ने रहिछे । ऊसँग बसेर उसकै चरित्रबारे सोच्दै थिएँ, यत्तिकैमा उसलाई देखेर एउटा झ्याप्ले कपाल पालेको ‘बाबा’ आइपुग्यो ।

‘हाय बेल’, परैबाट उ चिच्यायो । 

उनीहरूले अलिबेर नाना–भाँती कुरा गरे । खासै बुझिन मैले । खोइ के–के भनेर हाँस्दै, जिस्काउँदै बुढो गयो । उ गएपछि बेलले भनी, ‘उ यहाँ चिनिया रेस्टुरेन्टबारे अध्ययन गरिरहने बाबा हो ।’

मैले कुरा बुझिन भन्ने शैलीमा टाउको हल्लाएँ । उसले मजाकिया शैलीमा हाँस्दै भनी, ‘उ क्या, तिम्रो छिमेकी मान्छे ।’, मैले फेरी पनि कुरा बुझिन भनेर टाउको हल्लाएँ । ‘तिमी पनि’ भन्दै उसले आफ्नो हातले मेरो साप्रामा हानी र लाडिएको स्वरमा भनी– ‘खाआ’ क्या । 

विश्वासै नलागेर, आँखा झिमिक्क पनि नपारी चर्को स्वरमा– ‘खाआ ?’ भनी सोधेछु । 

उसले आँखा झिम्याई । हो भनी वा मलाई आँखा झिम्क्याई मैले बुझिन् । जे होस, उसले बहुतै मायालु पाराले आँखा झिम्क्याई र फेरि बिस्तारै आँखा उघारेर मलाई नै हेरी रही । 

बाबाजी त विगत दुई बर्षदेखि धर्ममा लिन रहेछन् । उनी चिनिया रेस्टुरेन्टबारे रुचि राख्छन् र मनाङ–मुस्ताङको भ्रमण गरिराख्छन् । 

यत्तिकैमा खाना थप्न होटेलको वेटर आइपुग्यो । उसले जेनजी आन्दोलनको विषय उठान गरेर उत्सुकतापूर्वक बेललाई हेरिरह्यो ।

‘के हेरेको यसरी ?’, म झर्किएँ । 

‘उहाँलाई जेनजी आन्दोलन कस्तो लाग्यो भनेर सोध्न खोजेको’, वेटरले मेरो झर्काइको कुनै वास्ता नगरी भन्यो । जेनजीबारे कुरा चलि नै रहेको थियो, यत्तिकैमा युएसपेडमा काम गर्ने मेरो पुरानो साथी आइपुग्यो । उसलाई त्यहाँ देखेर म अलिक झस्याङ् भएँ । 

‘ओ हो, माइक तिमी यहाँ ?’, मैले भनेँ ।

‘आई लभ पोखरा’, भन्दै टाढैबाट उत्साहित हुँदै आइरहेको थियो उ । 

मेरो साथी लामो समयदेखि विकासे पेनपेनजीओमा काम गर्छ । कुनै बेला डीडीबीमा काम गर्ने उ, अहिले भने युएसपेडमा छ । कुनै एउटा कार्यक्रममा भेटेपछि साथी भएका थियौँ हामी ।

तर यसै विषयमा मेरो र बेलको कुरा मिलेन । म भन्छु उ ‘विकासे खन्सल्टेन्ट’ हो, बेल भन्छे, उ ‘लेम्पोम्याट’ हो । यत्तिकैमा उ हामी भएकै टेबल अगाडि उभिन आई पुग्यो । खन्सल्टेन्ट र लेम्पोम्याटको बहसले निष्कर्ष पाउन सकेन । 

मसँग हात मिलाएर उसले बेलसँग चिनजान गर्‍यो । 

‘हाय, म माइक ।’, उसले भन्यो । बेलले म चिन्छु भनेपछि उ अलिक झस्कियो । 

‘चिन्छ्यौ, कसरी ?’, उ निस्फिक्री बोलिरहेको थियो ।

त्यसपछि बेलले भनी, ‘हाय, आएम– एडम बेल’

त्यसपछि माइकको अनुहार हेर्न लायकको भयो । उ एडम बेल नाम सुन्ने बित्तिकै एक पाइला पछि सर्‍यो र दुवै हात हावामा उचाल्दै, ‘आर यु सिरियस’ भन्यो ।

वेटर कामै नपाए जसरी हामीलाई नै हेरेर मजा लुटी रहेको थियो । हामी सबै दङ्ग । 

त्यसपछि बियर र ह्विस्कीका ढक्कनहरू खुले । मैले पनि मात्ने गरी खाएँ । बेल र माइक म भन्दा पुराना साथीले जस्तै कुरा गरिरहेका थिए । 

यत्तिकैमा बेलले आफ्नो खल्तीबाट गाँजाको स्टिक झिकी र कस लिन थाली । माइक पनि खुसी हुँदै धुवाँ उडाइरहेको थियो । माहौल बहुत सुन्दर र शान्त थियो ।

शान्त तलाउमा ढुङ्गा हान्दै, बेलले माइकलाई तिम्रो पछिल्लो टाक्स कस्तो रह्यो भनी सोधी । 

एक सासमा माइकले भन्यो, ‘गुड एचिभमेन्ट !’  

‘गुड एचिभमेन्ट, कुन काममा थियौँ र तिमी ?’, मैले सोधेँ ।

माइकले केही बोल्नु अगावै बेलले भनी, ‘अघि वेटर भाइले सोधेको सबै प्रश्नको जबाफ माइकसँग छ ।’ 

‘माइकसँग ?’, मैले जिज्ञासा राखेँ ।

माइक मुस्काउँदै, होइन–होइन भनी रहेको थियो ।

‘ओह... कम अन...’, बेलले अघि मलाई जस्तै माइकको साप्रामा जोडले हानी । बेलको कलिलो हातमा आफ्नो हात राख्दै माइकले भन्यो– ‘सुरुमा अपरेसन फेन्सी, निकै अप्ठेरो लागि रहेको थियो । तर, अन्ततः अपरेसन फेन्सीले नै जेनजीलाई अधिकार सम्पन्न गरायो । आखिर पीआईएले कोरेको प्लान न हो, त्यति सजिलै फुस हुँदैन ।’

बाहिर हेरेको बिहान भइसकेछ । नयाँ दिन, नयाँ समय । चौरमा नयाँ खेलाडीहरू प्रवेश गरिसकेका थिए ।  

हेलम्बु– ६, सिन्धुपाल्चोक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बालकृष्ण गजुरेल
बालकृष्ण गजुरेल
लेखकबाट थप