शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
विप्लवको यूटर्न : संसदीय राजनीतिको बाटोमा

प्रचण्डले छाडे, विप्लवले अँगाले

२०५२ मा हतियार उठाए, ०८२ नेकपा (माओवादी) ब्युँत्याए
मङ्गलबार, ०२ मङ्सिर २०८२, २१ : ४०
मङ्गलबार, ०२ मङ्सिर २०८२

सारांश

  • विप्लवले निर्वाचन आयोगमा पार्टी दर्ता गरेर संसदीय निर्वाचनमा सहभागी हुने बाटो रोजेका छन्।
  • विप्लवले पार्टीको नाम परिवर्तन गरी नेकपा (माओवादी) राखेका छन्, र उनलाई निर्वाचन आयोगले गुलाफको फूल चुनाव चिन्ह दिएको छ।
  • विप्लवले सशस्त्र विद्रोह त्यागेर शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेका छन् र राष्ट्रियता र सुशासनका लागि अभियान चलाउने बताएका छन्।

काठमाडौँ । संसदीय निर्वाचन ‘बहिष्कार’ नै गर्दै आएका नेत्रविक्रम चन्द ‘विप्लव’ अन्ततः निर्वाचनमार्फत संसद् छिर्ने बाटोमा आइपुगेका छन्, अर्थात् मंगलाबार निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । उनले दल मात्र दर्ता गराएनन्, पार्टीको नामै फेरे । 

१२ वर्षपछि विप्लवले पार्टीको नाम फेरेका हुन्, राखे ‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी)’ । तर यो १२ वर्षमा उनको पार्टी नेकपा(माओवादी) को नाम दुई पटक फेरिइसक्यो । अथवा पुनर्गठन भइसक्यो । 

biplab-(6)_meAC25MDeE

गएको असोज २५ देखि ३० गतेसम्म कपिलवस्तुमा बसेको उक्त पार्टीको केन्द्रीय समितिको विशेष बैठकले फागुन २१ गते चुनावमा जाने निर्णय गरेको थियो । बैठकको म्यान्डेट बोकेर कात्तिक ११ गते कम्युनिस्ट पार्टी नेपाल दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । 

मंगलबार दल दर्ता प्रमाणपत्र लिन निर्वाचन आयोगमा बाजागाजासहित पुगेका विप्लवले पार्टीको नाम परिवर्तन गरी नेकपा(माओवादी) राखेका हुन् । प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विप्लवलाई प्रमाणपत्र र चुनाव चिह्न गुलाफको फूल दिए ।

वैद्यबाट अलग्गिएपछि पुनर्गठन

२०७१ सालमा मोहन वैद्य किरण नेतृत्वको नेकपा–माओवादी विभाजन गरी उनले नेकपा(माओवादी) गठन गरेका थिए । २०७३ सालमा भएको कपिलवस्तुमा भएको राष्ट्रिय सम्मेलनबाट पार्टीको नाम फेरेर नेपाल कम्युनिस्ट पार्टी बनाए । नेकपा लोकनारायण सुवेदीको नाममा पहिल्यै आयोगमा दर्ता भएकाले उक्त नाम पाएनन् । 

सुवेदीले दर्ता गरेको नेकपा, प्रचण्ड नेतृत्वमा भएको नेपाली कम्युनिस्ट पार्टी र विप्लवको नेतृत्वमा दर्ता गरेको कम्युनिस्ट पार्टी नेपाल उस्तैउस्तै भएकाले आयोगका पदाधिकारीले दलको नाम फेर्न सुझाव दिए । त्यही सुझावका आधारमा प्रवक्ता खड्गबहादुर विश्वकर्मा, चिरञ्जीवी ढकाललगायत नेताहरू सोमबार आयोग पुगेर नाम संशोधनका लागि निवेदन दिएका थिए । ‘नाम नै परिवर्तन गर्नुपर्ने भएपछि नेकपा(माओवादी) नै राख्न हामीले निवेदन दिएका हौँ,’ विश्वकर्माले बताए । 

‘हामीले नेकपा(माओवादी)को नाममा २०५२ देखि २०६२ सालसम्म राष्ट्रियता र जनताको मुक्तिका लागि लड्यौँ । माओवादी जनयुद्धको बलमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो’, रातोपाटीसँग उनले भने, ‘प्रचण्डजीले माओवादी केन्द्र त्यागेपछि हामीले पार्टीको नाम परिवर्तन गर्नुपर्ने महसुस गर्‍यौँ । हिजो निर्वाचन आयोग पुगेर प्रस्तावित कम्युनिस्ट पार्टी नेपाल संशोधन गरी नेकपा(माओवादी) राख्न निवेदन दियौँ ।’

राष्ट्रियता, जनतन्त्र र वर्गीय मुक्तका लागि माओवादी सशक्त भएर अगाडि बढ्ने बताए । महान् जनयुद्धको विराशत बोकेको यस पार्टीमा सम्पूर्ण माओवादी घटकहरू गोलबद्ध हुने विश्वकर्माले विश्वास व्यक्त गरे ।
निर्वाचन प्रमुख आयुक्त भण्डारीले दल परिवर्तनका लागि सोमबार निवेदन दिएकाले सोही अनुसार नाम परिवर्तन गरिएको बताए । 

‘उहाँहरूले यसअघि आयोगमा दर्ता गरेको नाम फेर्नका लागि संशोधन निवेदन दिनुभएको थियो । निवेदन उपर हामीले कानुनी समस्याबारे छलफल गर्यौँ । नेकपा(माओवादी) नामको दल दर्ता गर्न कानुनी बाधा नदेखिएकाले दल दर्ताको प्रमाणपत्र दिएका हौँ,’ भण्डारीले भने । 

राज्यसत्ताविरुद्ध विद्रोह

प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा(माओवादी)ले २०५२ साल फागुन १ गते शाही राज्यसत्ता विरुद्ध सशस्त्र विद्रोह गरेका थिए । १० वर्ष(२०५२–२०६२)सम्म सञ्चालन भएको जनयुद्धमा १७ हजार नागरिकले ज्यान गुमाएका थिए, हजारौँ घाइते अपांगत भए । युद्धको क्रममा सयौँ बेपत्ता नै छन् । 

त्यतिबेला संसद्वादी सात राजनीतिक दल र विद्रोही माओवादीबिच भएको १२ बुँदे सहमतिको बलमा भएको १९ दिने जनआन्दोलनले २०६३ साल वैशाख ११ गते परम्परागत राजतन्त्र ढाल्यो । २०६४ सालमा भएको ऐतिहासिक संविधानसभा निर्वाचनबाट माओवादीले २३८ सिटसहित पहिलो दल हुन सफल भयो । २०६५ साल जेठ १५ गते देश विधिवत रूपमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो ।

निर्वाचनपश्चात् प्रचण्ड जनवादी सत्ता स्थापना गर्नतिर अग्रसर नभई संसदीय पुँजीवादी बुर्जुवा गणतन्त्रको गोलचक्करमा फसेको आरोप लगाउँदै किरणसँग मिलेर विप्लवले २०६९ साल असारमा पार्टी विभाजन गरे । 
नेपालबाट दलाल पुँजीवादी राज्यसत्ताको अन्त्य गर्न जनक्रान्ति अपरिहार्य रहेका निष्कर्ष निकाल्दै किरण समूहले विद्रोहको बाटो अँगाल्यो । किरणले माओवादी पुनर्गठन गरी नेकपा–माओवादी राखे । 

यता नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपा एकता केन्द्र मशालसँग पार्टी एकता गरी बनेको नेकपा(एकीकृत माओवादी)को नेतृत्व प्रचण्डले गरे । २०७१ सालमा विप्लवले नेकपा–माओवादी विभाजन गरी आफ्नै नेतृत्वमा नेकपा(माओवादी) पुनर्गठन गरे । तर एकीकृत जनक्रान्तिको कार्यभार पुरा गर्न विप्लवे २०७३ साल मंसिर ८ गते पार्टी पुनर्गठन गरी नेपाल कम्युनिस्ट पार्टी राखे । 

दलाल पुँजीवादी बुर्जुवा संसदबाट राष्ट्रियताको रक्षा र जनतन्त्र स्थापना हुन नसक्ने निष्कर्ष निकाल्दै सशस्त्र एकीकृत जनक्रान्तिको कार्यदिशा अंगाल्यो ।

तर २०७४ सालमा केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले नेकपामाथि प्रतिबन्ध लगायो । प्रतिबन्धित अवस्थामा भूमिगत युद्ध गरेका विप्लवको नीति असफल देखियो । सरकारको दमनबाट रक्षात्मक भएका उनले २०७७ साल फागुन २१ गते तीन बुँदे सम्झौता गरी शान्तिपूर्ण राजनीतिमा अवतरण गरे । 

त्यसयता पार्टीकै नेतृत्वमा उत्पादन नीति लिएर अगाडि बढे । उत्पादन र जनक्रान्तिलाई विप्लवले सँगैसँगै नीति अंगीकार गरेका छन् । 

३० वर्षपछि उनी फेरि २०५२ सालमै फर्किएका छन् । संयोग नै मान्नुपर्छ २०८२ सालमा प्रचण्डले ‘माओवाद’ त्यागेर नेपाली कम्युनिस्ट पार्टी बनाउँदा उनकै उत्तराधिकारी विप्लवले माओवादीको झण्डा उठाएका छन् । 

बन्दुक छाडेका उनले गुलाफको फूल हातमा लिएर प्रतिस्पर्धात्मक संसदीय प्रणालीमा भाग लिने योग्यता हासिल गरेका छन् । आयोग परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै विप्लवले नयाँ विश्वास र अभियानसँगै माओवादी अगाडि बढेको प्रतिक्रिया दिए ।

राष्ट्रियता र सुशासन सहितको समाज निर्माण गर्नका लागि देशव्यापी अभियानमा जोडिन नेता तथा कार्यकर्तालाई उनले अपिल गरे ।  

‘जनताको अधिकारको लागि नेकपा(माओवादी) नयाँ विश्वास र नयाँ अभियानसँगै अगाडि बढेको छ । भोलिदेखि विशेष अभियानमा लाग्न म सबैलाई आग्रह गर्छु,’ उनले भने, ‘हामी हिजो पनि जनतामै थियौँ । अब पनि जनतामै जानेछौँ । सबै दललाई समेटेर निर्वाचनमा जान सक्छौँ भन्ने हाम्रो विश्वास छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप