बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तेम्बा बजारमा आगलागी : एक करोड १८ लाखभन्दा बढी क्षति (अपडेट)

बुधबार, ०३ मङ्सिर २०८२, १३ : २४
बुधबार, ०३ मङ्सिर २०८२

सारांश

  • ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा चार घर पूर्ण रूपमा नष्ट भएर १ करोड १८ लाखभन्दा बढीको क्षति भएको छ।
  • आगलागीमा परी स्थानीय इन्द्रकुमार लिम्बू, राजकुमार लिम्बू, अनिल लिम्बू र विष्णुप्रसाद लिम्बूको घर पूर्ण रूपमा क्षति भएको छ।
  • आगलागीमा दुई वटा मोटरसाइकल, सुनचाँदी, नगद, पशुचौपाया, लत्ताकपडा, खाद्यान्न र आवश्यक कागजातसमेत जलेर नष्ट भएका छन्।

ताप्लेजुङ । ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा रु एक करोड १८ लाखभन्दा बढी क्षति भएको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा गएराति भएको आगलागीले चार घर पूर्ण रूपमा नष्ट हुँदा रु एक करोड १८ लाखभन्दा बढीको क्षति भएको हो ।

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंका अनुसार स्थानीय इन्द्रकुमार लिम्बू, राजकुमार लिम्बू, अनिल लिम्बू र विष्णुप्रसाद लिम्बूको व्यावसायिक घरहरू जलेर पूर्ण रूपमा नष्ट भएका हुन् ।

प्रारम्भिक विवरणअनुसार सबैभन्दा बढी राजकुमारको रु ५० लाख बराबरको क्षति पुगेको छ । त्यस्तै, इन्द्रकुमारको रु ४३ लाख, अनिलको रु २० लाख र विष्णुप्रसादको रु पाँच लाख बराबरको क्षति भएको प्रशासनले जनाएको छ ।

आगलागीका कारण इन्द्रकुमारको घरमा डेरा गरी बस्ने दोर्ची शेर्पाको २५ मन अलैँची पनि जलेर नष्ट भएको प्रजिअ सेढाईंले जानकारी दिए । उनका अनुसार दुई वटा मोटरसाइकल, सुनचाँदी, नगद, पशुचौपाया, लत्ताकपडा, खाद्यान्नसहित आवश्यक कागजातसमेत जलेर नष्ट भएका छन् । 

रातिको समय भएकाले सामग्री निकाल्न नसकिएको र आगो नियन्त्रणका लागि दमकल तथा पानीको अभाव हुँदा क्षति बढेको स्थानीयले बताएका छन् । बिहान ५ः३० बजे मात्र आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । 

पार्किङमा राखिएको मोटरसाइकलबाट आगलागी सुरु भएको प्रारम्भिक अनुमान गरिएको भए पनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप