बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
मधेसमा एमाले

मधेसमा ढलिरहेको एमाले सत्ता : प्रदेश प्रमुख र सभामुखपछि अब मुख्यमन्त्री ?

बिहीबार, ०४ मङ्सिर २०८२, १६ : ००
बिहीबार, ०४ मङ्सिर २०८२

काठमाडौँ । जेनजी आन्दोलनका कारण संघीय सरकारबाट सत्ताच्युत भएको एमालेले मधेसमा पनि सत्ता गुमाएको छ । अहिले एमाले र जेनजी आमनेसामनेजस्तै देखिएका छन् । बुधबार बाराको सिमरामा एमाले कार्यकर्ता र जेनजी समूहबिच झडप हुँदा स्थानीय प्रशासनले कर्फ्यु आदेश नै जारी गर्नुपर्‍यो ।  

सिमरामा एमाले र जेनजीबिच झडप चलिरहेको थियो भने मधेस प्रदेशमा एमालेको सत्ता ढल्दै थियो । एमालेबाट मधेस प्रदेशमा सभामुख बनेका रामचन्द्र मण्डलको पद बुधबार गयो । त्यसअघि एमालेको सिफारिसमा प्रदेश प्रमुख बनेकी सुमित्रा भण्डारीलाई सरकारले पदमुक्त गरेको थियो । मधेसमा अहिले एमालेका सरोजकुमार यादव मुख्यमन्त्री छन् । उनको पनि पद जाने लगभग निश्चितजस्तै छ । 

भदौ २४ मा जेनजी आन्दोलन हुँदै गर्दा तत्कालीन मुख्यमन्त्री सतिश सिंहले राजीनामा दिएका थिए । त्यसको एक महिनापछि लोकतान्त्रिक समाजवादी पार्टीका उपाध्यक्ष एवं प्रदेश सांसद जितेन्द्र सोनल मुख्यमन्त्रीमा नियुक्त भए । सोनलले कात्तिक २२ गते विश्वासको मत लिँदा माओवादीका दुई जना र जनमत पार्टीका दुई जना सांसदले साथ नदिने भएपछि विश्वासको मत लिनुअघि नै उनले पदबाट राजीनामा दिए । 

तर सभामुख मण्डलले तत्कालीन मुख्यमन्त्री सोनलले विश्वासको मत प्राप्त गर्न नसकेको भन्दै अर्को धारामा गएर मुख्यमन्त्री बनाउन बाटो खोलेका थिए । संविधानको धारा १६८ को उपधारा ३ अनुसार तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारीले एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवलाई कात्तिक २४ गते बिहानै साढे ५ बजे बर्दिबासको एक होटलमा मुख्यमन्त्रीको सपथ गराएकी थिइन् । यादवको नियुक्ति र सपथ विवादमा परेपछि संघीय सरकारले भण्डारीलाई प्रदेश प्रमुखबाट हटाएको थियो । प्रदेशसभामा पदीय दायित्व अनुसारको कार्य नगरेको भन्दै मधेस प्रदेशसभाका सात दलले महाअभियोग लगाएर सभामुख मण्डललाई हटाइएको छ । 

कात्तिक २४ गते सबैभन्दा ठुलो दलको हैसियतमा संविधानको धारा १८६ (३) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका यादवलाई सर्वोच्च अदालतले विश्वासको मत नलिन र दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ  । यसको अर्थ मुख्यमन्त्री यादवको पद धरापमा छ । 

अधिवक्ता दीपेन्द्र झा मंसिर ११ गते हुने अन्तिम सुनुवाइबाट मुख्यमन्त्री यादवको पद जाने निश्चित रहेको बताउँछन् । ‘यसअघि अदालतले कुनै पनि दीर्घकालीन असर पर्ने निर्णयहरु नगर्न आदेश दिएको थियो । तर यसपटक नीतिगत निर्णय पनि भनेको छ, अर्थात् अब मन्त्रिपरिषद् बैठक बसेर कुनै पनि निर्णय गर्न पाउदैन,’ अधिवक्ता झा भन्छन् । 

लोकतान्त्रिक समाजवादी पार्टीका नेता परमेश्वर साह एमालेको पूर्वाग्रही सोच र हठका कारण यस्तो अवस्था आएको बताउँछन् । ‘प्रदेशसभामा सभामुखले जुन भूमिका निभाउनुभयो । त्यो संविधान विपरीत थियो, तैपनि कसको ईशारामा त्यस्तो गर्नुभयो थाहा छैन । त्यसको नतिजा उहाँले भोग्नुभयो,’ उनी भन्छन्, ‘प्रदेश प्रमुखले पनि गर्नै नहुने काम गरेकाले संघीय सरकारले उहाँलाई बर्खास्त गर्‍यो । अब पालो मुख्यमन्त्रीको हो, उहाँको पनि पद जाने निश्चित छ ।’

एमाले मधेस प्रदेशका अध्यक्ष चन्देश्वर मण्डल एमाले शक्तिशाली पार्टी भएकाले चारैतिरबाट घेराबन्दी भएको जिकिर गर्छन् । ‘जेनजी आन्दोलनपछि एमालेमाथि सुनियोजित रुपमा आक्रमण भइरहेको छ, त्यसको परिणाम मधेस प्रदेशमा देखिएको हो,’ उनी दाबी गर्छन्, ‘मधेसमा एमाले बाहेक सबै दलको गठबन्धन बनेको छ, एमाले एक्लैले चाहेर पनि केही गर्न सक्दैन । यी घटनाहरुलाई एमालेले गम्भीर ढंगले हेरिरहेको छ ।‘

मधेस आन्दोलनको समयमा पनि मधेस र एमालेको राम्रो सम्बन्ध थिएन । त्यतिबेला पनि लाग्थ्यो, मधेस आन्दोलन एमाले विरुद्धमा नै भइरहेको छ । मधेस आन्दोलन चलिरहँदा एमालेका नेताहरुले त्यसबारे नाकारात्मक टिप्पणी गर्दा पार्टीप्रति आक्रोश बढेको थियो । अहिले पनि त्यस्तै अवस्था देखिएको छ । जेनजी आन्दोलनपछि एमालेका नेताहरुले विभिन्न नकारात्मक टिप्पणी गरिरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले दिनदिनै जेनजी आन्दोलन र वर्तमान सरकारबारे गरेको टिप्पणीलाई लिएर आक्रोश बढेको छ ।

प्राध्यापक तथा राजनीतिक विश्लेषक भोगेन्द्र झा भन्छन्, ‘एमालेको केन्द्रीकृत सोचका कारण मधेसमा यो अवस्था आएको हो । केपी ओली आफू पनि समाप्त हुनुभयो र मधेसका दुईजना होनहार युवाको राजनीतिक भविष्य पनि समाप्त गरिदिनुभयो ।’ सभामुख रामचन्द्र मण्डल र मुख्यमन्त्री सरोजकुमार यादवको राजनीति भविष्य एमालेको केन्द्रीकृत सोच र पार्टीभित्रकै षड्यन्त्रका कारण समाप्त हुन लागेको उनको विश्लेषण छ । 

मधेस प्रदेशमा एमालेभित्र गुटबन्दी देखिएको छ । जनकपुरका एक एमाले नेता भन्छन्, ‘रघुवीर महासेठको प्रतिक्रिया अहिलेसम्म नआउनु अर्थपूर्ण छ । जनकपुरमा अहिले जति पनि गतिविधि भइरहेका छन्, त्यसमा रघुवीर महासेठका कार्यकर्ता त्यति संलग्न भएको पाइँदैन । जबकि जनकपुरको नेता रघुवीर महासेठ हुन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव

एसके यादव रातोपाटीमा राजनीतिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप