बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पुराना दलबाट आशा गर्नु मूर्खता हो : जनार्दन शर्मा

शुक्रबार, ०५ मङ्सिर २०८२, १४ : २८
शुक्रबार, ०५ मङ्सिर २०८२

सारांश

  • जनार्दन शर्माले पुराना राजनीतिक दलहरूबाट देश बन्ने आशा गर्नु मूर्खता हुने बताए।
  • उनले पुरानो नेतृत्वको आलोचना गर्दै देश पतनको बाटोमा गएको र नयाँ संकल्पको आवश्यकता औंल्याए।
  • शर्माले युवालाई स्वदेशमा अवसर नपाएको र द्वन्द्वपीडितले न्याय नपाएको गुनासो गरे।

काठमाडौँ । ‘प्रगतिशील राष्ट्रिय अभियान’का संयोजक जनार्दन शर्मा 'प्रभाकर'ले पुराना राजनीतिक दलहरूबाट अब देश बन्ने आशा गर्नु मूर्खता हुने टिप्पणी गरेका छन्।

विस्तृत शान्ति सम्झौता भएको १९ वर्ष पूरा भएको अवसरमा शुक्रबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शर्माले पुराना दल र नेतृत्वको तीव्र आलोचना गरेका हुन्। उनले नेतृत्वको असक्षमता र स्वार्थका कारण देश पतनको बाटोमा गएको भन्दै अब नयाँ संकल्पसहित एकताबद्ध हुन आह्वान गरेका छन्।

शर्माले २०६२ मंसिर ५ गते भएको शान्ति सम्झौताले राजतन्त्रको अन्त्य, गणतन्त्र, संघीयता र समावेशी संविधानको आधार तयार गरेको स्मरण गरेका छन्। तर, १९ वर्ष बितिसक्दा पनि जनताले अपेक्षा गरेको परिवर्तन महसुस गर्न नपाएको उनको निष्कर्ष छ।

'१९ वर्षपछि पनि परिवर्तनका धेरै लक्ष्यहरू अधुरा छन्—भ्रष्टाचार मौलायो, सुशासन झन्-झन् टाढा हुँदै गयो, सामाजिक न्याय हुन सकेन,' शर्माले लेखेका छन्, 'युवाले स्वदेशमा अवसर पाएनन्, देशको समृद्धिले गति लिन सकेन र द्वन्द्वपीडितले न्याय पाएका छैनन्।'

नेता शर्माले पुराना दलका नेतृत्वहरू झन्-झन् असक्षम बन्दै गएको आरोप लगाएका छन्। व्यक्तिगत स्वार्थ सिद्धिका लागि सिङ्गो देशलाई द्रुत गतिले पतनको बाटोमा लैजानु आजको प्रमुख चुनौती भएको उनको भनाइ छ।

उनले भनेका छन्, “जनताले पटक-पटक मौका दिँदा पनि झन्-झन् गल्ती गर्ने दलबाट फेरि पनि आशा गर्नु आफ्नै मूर्खता हुनेछ।'

शर्माले अब पुराना दलभित्रका परिवर्तन चाहने नेता-कार्यकर्ता र नयाँ पुस्ताबीच एकताको आवश्यकता औँल्याएका छन्। उनले ‘२०८२ को नवयुवा (जेन-जी) विद्रोह’ को पक्षधरहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका छन्।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप