सुक्खा बन्दरगाहका लागि निर्माण सामग्री आयातमा भन्सार छुट दिने प्रक्रिया अगाडि बढ्यो
सारांश
- दोधारा–चाँदनीमा बन्दै गरेको सुक्खा बन्दरगाहका लागि आवश्यक सामग्री र औजार आयातमा भन्सार छुटको प्रक्रिया अघि बढेको छ।
- उद्योग मन्त्रालयले भन्सार छुट दिने स्वीकृति दिएपछि, अर्थ मन्त्रालयमा सिफारिस गरिएको छ।
- भारत सरकारको सहयोगमा बन्दै गरेको बन्दरगाहले सुदूरपश्चिमको व्यापारमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कञ्चनपुर । दोधारा–चाँदनी नगरपालिकामा निर्माण भइरहेको सुक्खा बन्दरगाहका लागि आवश्यक निर्माण सामाग्री र औजार आयातमा भन्सार छुटका लागि सिफारिस गरिएको छ ।
इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट भन्सार छुटका लागि स्वीकृति प्रदान गरी कार्यान्वयनका लागि अर्थ मन्त्रालयमा सिफारिस गरिएको जानकारी दिए । सुक्खा बन्दरगाह निर्माणका लागि आवश्यकपर्ने सामग्री र औजारको सूची बुझाइएकामा उद्योग मन्त्रालयले आयात गर्दा भन्सार छुटका लागि स्वीकृति दिइ सोहीअनुसार प्रक्रिया अगाडि बढाएको उनले बताए ।
“ठेकेदारलाई भारतबाट निर्माणका लागि औजार एवं सामग्री ल्याउन भन्सार छुटका लागि सूची बुझाएको थियो”, निर्देशक गजुरेलले भने, “सोही सूची स्वीकृत भएर लागू हुने चरणमा पुगेको छ ।”
यहाँ भारत सरकारको आर्थिक सहयोगमा सुक्खा बन्दरगाह निर्माण भइरहेको छ । भारतले नै त्यहाँको निर्माण कम्पनीलाई ठेक्का दिएको छ । कम्पनीले काम सुरु गरिसकेको छ ।
कार्यकारी निर्देशक गजुरेलले निर्माण कम्पनीले कार्यस्थलमा माटो सम्याउने, मजदुरको बसोबासका लागि आवश्यक संरचना बनाउनेलगायत काम सुरु भएका र भारतबाट औजार तथा निर्माण सामग्री आयात भएपछि कामले गति लिने बताए ।
यहाँ रु तीन अर्ब ८० करोडको लागतमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने योजना छ । बन्दरगाह निर्माणका लागि दोधारा–चाँदनी नगरपालिका–१ स्थित गौरीशङ्कर सामुदायिक वनको ४२ दशमलव ३६ हेक्टर क्षेत्रफलमा पूर्वाधार निर्माण हुनेछन् । उक्त क्षेत्रफलमा दुई वटा गोदाम, भन्सार जाँच, क्वारेन्टाइन, अध्यागम, सुरक्षा भवनलगायत संचरना निर्माण हुनेछन् ।
महाकाली नदीमा निर्माण भएको ‘चारलेन’ को पक्की पुलको पश्चिम छेउमा सुक्खा बन्दरगाह निर्माण भइरहेको छ । बन्दरगाह निर्माण सम्पन्न भएमा कञ्चनपुर सुदूरपश्चिमकै प्रमुख व्यापारिक नाकाका रूपमा विकास हुने भन्दै स्थानीयवासी हर्षित भएका छन् ।
भारतको राजधानी नयाँदिल्ली र उत्तराखण्डस्थित औद्योगिक क्षेत्र रूद्रपुरसम्म सहज पहुँच हुने हुँदा सुक्खा बन्दरगाह निर्माणले सुदूरपश्चिमको विकासमा ठूलो योगदान मिल्ने अपेक्षा गरिएको छ । यहाँबाट रुद्रपुर औद्योगिक क्षेत्र ९० किलोमिटरको दूरीमा रहेको छ । विसं २०६४ मा सरकारले यहाँ सुक्खा बन्दरगाह निर्माण गर्ने प्रस्ताव अगाडि बढाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण