समाजको पिँधमा रहेका पात्रले मेरो उपन्यासमार्फत बोलुन् : प्रज्ञा पनेरु
सारांश
- अस्ट्रेलियामा रहेकी प्रज्ञा पनेरुसँगको कुराकानीमा उनले लेखनका अनुभव र साहित्यिक बजारबारे धारणा व्यक्त गरिन्।
- उनले पछिल्लो समय नेपाली साहित्य बजार प्रगतिउन्मुख रहेको र अझै धेरै मौलिक विषयवस्तु लेखिन बाँकी रहेको बताइन्।
- लेखनमा महिलाका चुनौती, 'विषाणु ऋ' उपन्यासको सन्दर्भ र आगामी साहित्यिक योजनाबारे पनेरुले जानकारी दिइन्।
अध्ययनका सिलसिलामा हाल अस्ट्रेलियामा रहेकी प्रज्ञा पनेरु नेपाल कमर्स क्याम्पसकी उप–प्राध्यापक हुन् । उनी प्रायः सांस्कृतिक विविधता, पहिचान, लैङ्गिकता र विभेद तथा शिक्षा सम्बन्धी विषयमा लेख्न रुचाउँछिन् । उनका ‘विषाणु ऋ’ र ‘जेन्डर इन एजुकेशन’ गरी दुई उपन्यास प्रकाशित छन् । उनै पनेरुसँग रातोपाटीको ‘नौ प्रश्न शृङ्खला’का लागि गरिएको कुराकानीः
- १. तपाईं किन लेख्नु हुन्छ ?
कुनै विषयवस्तु वा धारणा, साहित्य वा लेखनमा उल्लेख्य रूपमा उठाउनु पर्ने मुद्दा उठाइएको छैन वा अभिव्यक्त हुन पाएको छैन भन्ने लाग्यो भने ती कुराले लेख्न प्रेरित गर्छन् । तर पछिल्लो समय नेपालको साहित्यमा राम्रोसँग प्रतिनिधित्व भएर नआएका सांस्कृतिक र लोपोन्मुख पाटाबारे लेख्न मन लाग्छ । हामीले अरूको धेरै सिको गर्यौँ, अरूका विषयवस्तु र इतिहास धेरै पढ्यौ । तर आफ्नै संस्कृति, लोक साहित्य, विभिन्न जातजातिसँग सम्बन्धी अलिखित मिथकहरूको कहिल्यै साहित्यिक वा बौद्धिक बहस गरेनौँ । त्यसलाई पनि आख्यान र गैरआख्यानमा लेखिनु पर्छ भन्ने लागेर लेखनमा छु ।
- २. पछिल्लो समय नेपालको साहित्यक बजार कस्तो पाउनु भएको छ ?
नेपालको साहित्यिक बजार प्रगतिउन्मुख छ । अहिले त थुप्रै नयाँ लेखक/साहित्यकार आएका छन् । यो खुसीको कुरो हो । नेपालमा लेखिनुपर्ने थुप्रै मौलिक विषयवस्तु छन् । प्रयोग गरिनु पर्ने थुप्रै विधा छन् । अनि कयौँ वर्गको प्रतिनिधिमूलक पुस्तक पनि बजारमा आउन बाँकी छ । यसका लागि त अझै धेरै लेखक र लेखिकाहरू आउन जरुरी छ । त्यसका निम्ति साहित्यिक आकाश फराकिलो हुनुपर्छ ।
त्यसो त ‘बजारमा पुस्तक र लेखकहरू धेरै आए, तर गुणस्तर भएन’ भनेको पनि सुनिन्छ । यो बहसले पनि नेपालको साहित्यिक आकाश फराकिलो र गहन हुँदै गएको बुझिन्छ । तर यसो भन्दैमा नयाँ लेखक निरुत्साहित हुनु हुँदैन । बरु के कति कारणले बजारमा गुणस्तर पुस्तक आएनन् ? के सुधार गर्नुपर्ने हो ? भन्ने विषयमा सुझाव आउनु पर्छ । र, त्यस्ता बहसहरूमा लेखक पनि स्वयम् सहभागी हुनु जरुरी छ । यसका साथै कस्ता पुस्तकलाई गुणस्तर भएको पुस्तक मान्ने हो भन्ने पनि आफैमा गहन छलफल गरिनु पर्ने विषय हो ।
नेपाली साहित्य बजारको अर्को समस्या समालोचक, प्रकाशक र पाठक निश्चित लेखकमाथि मात्रै केन्द्रित हुनु हो । नेपालको पठन र प्रकाशन अझै उदार हुनु जरुरी छ । एउटा कुरा के भुल्नु हुँदैन भने नेपालमा अझै पनि लेखनले सीमान्तकृत वर्गलाई समेट्न सकेको छैन । अहिले पनि लेखन वा साहित्य सृजना निश्चित अभिजात वर्गमा मात्रै सीमित छ । त्यसैकारण सीमित लेखकबाहेक धेरै लेखकहरूले लेखनलाई आफ्नो रुचिको जगमा मात्रै अघि बढाइरहेका छन् ।
- ३. ‘विषाणु ऋ’ उपन्यासमा महिला जीवनका कुन पक्षलाई बढी प्रतिबिम्बित गर्नु भएको छ ?
‘विषाणु ऋ’ नितान्त महिला केन्द्रित उपन्यास होइन । तर यसले नेपाली समाजमा महिलाका सरोकारका धेरै विषयवस्तु समेटेको छ । यो पुस्तक नेपाली समाजमा घटेका महिला हिंसाका घटनाका सन्दर्भमा लेखिएको छ । ती घटनाले महिला मानसिकतामा कस्तो असर पार्न सक्छन् भन्ने विषयमा पुस्तक केन्द्रित छ ।
पूर्वीय सभ्यतामा महिलासँग सम्बन्धित मिथकहरू जस्तै काली, सिता, सतीदेवी, आदिका सन्दर्भ पनि साङ्केतिक रूपमा राखिएका छन् । नारीलाई शक्ति मानेर पूजा हुने समाजमा वास्तवमा नारीको अवस्था कस्तो छ भनेर यी संकेतले देखाएका छन् । यसबाहेक महिला, पुरुष, र पर्यावरण सबै एउटै विशाल सृष्टिका अङ्ग भएको पूर्वीय दर्शन पनि यो पुस्तकले अँगालेको छ । पूर्वीय दर्शनका पुनर्जन्म र मृत्यु सम्बन्धी पाटो पनि यस पुस्तकमा छ ।
- ४. आख्यान लेखनका चुनौतीहरू के–कस्ता हुँदा रहेछन् त ?
अधिकांश महिलाका निम्ति घरधन्दा भ्याएर, पारिवारिक दायित्व निर्वाह गर्दै लेख्नु चुनौतीपूर्ण छ । तर पनि उनीहरूले लेखिरहेका छन् । यो उनीहरूको जित हो । तर महिला लेखकहरूका लागि नितान्त व्यक्तिगत समय, साधन, पुस्तक छाप्ने स्रोत र प्रकाशकसम्म पहुँच आफैमा चुनौतीपूर्ण विषय हुन् । किताब छापिएर आएपछि पनि बजार र प्रचार–प्रसारमा चुनौती छन् ।
पर्याप्त समालोचना आएका छैनन् । आएकामध्ये पनि प्रायः महिला लेखकका विषयवस्तु माथि सुधारोन्मुख भन्दा पनि निरुत्साहित गर्ने किसिमका टीकाटिप्पणी आउनुले थप चुनौती थपेको छ । यसकारण पनि आख्यानमा अझै महिलाहरू साहसी विषय वस्तु लिएर आउन सकेका छैनन् । तर यी सबै चुनौतीका बाबजुद हामीले लेख्न छाडेका छैनौँ । यही खुसीको कुरा हो ।
- ५. अध्ययनको सिलसिलामा लामो समयदेखि विदेशमा हुनुहुन्छ । नेपाल र विदेशको साहित्यिक माहौल कस्तो पाउनु भयो ?
अध्ययनकै व्यस्तताले म अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रममा त्यति भिज्न पाएकी छैन । तर यहाँ अवसर निकै धेरै छन् । नेपाली र दक्षिण एसियाली कार्यक्रममा मैले थुप्रै पटक भाग लिएकी छु र आफ्नो रचना प्रस्तुत गरेकी छु । नेपालको भन्दा यहाँको माहौल उदार र सहयोगी लाग्यो ।
- ६. तपाईंले अन्तिम पटक पढेको कृति कुन थियो ?
मैले भर्खरै ममता मिश्रको उपन्यास ‘पहिचान’ पढेँ । त्यसमा मिश्रले निकै सूक्ष्म ढंगले नेपाली महिला र पुरुष पात्रको सृजना गरेकी छिन् । ती पात्रहरूबाट नेपाली महिलाको अवचेतनमा प्रतिनिधि महिला र पुरुष कस्तो हुन्छन् भनेर नियाल्न सकिन्छ । पितृसत्ताको छाप वा अझ भनौँ पितृसत्ताको पिँढीगत आघात लेखकको पात्र चित्रणमा राम्रोसँग झल्किएको छ । एक सामान्य पुरुष पात्र कसरी महिलाका निम्ति खल पात्र हुनसक्छ भन्ने साङ्केतिक विषयवस्तु यो पुस्तकको विशेषता हो ।
- ७. आफूलाई झक्झकाएको कुनै एउटा साहित्यिक कृति सम्झिनु पर्यो भने कुन सम्झनु हुन्छ ?
पारिजातको ‘शिरीष को फुल’ । यो कृतिले मलाई जहिल्यै झकझकाउँछ । सन् १९६० को दशकमा लेखिएको भएपनि यो उपन्यास अझै पनि समसामयिक छ । विद्यालय पढ्दै गर्दा मैले यसलाई पहिलो पटक पढेको थिए । अलि बुझ्ने भएपछि दुई पटक दोहोर्याएर पढेँ । सुरुको पठनमा यो उपन्यास समाजमा पुरुषप्रति व्याप्त दृष्टिकोणलाई नै अनुमोदन गरे जस्तो लागेको थियो । त्यसबखत यसले मलाई पुरुष घातक हुन सक्छन्, उनीहरूको प्रेमले पनि घात गर्छ भन्ने सन्देश दिएजस्तो लाग्यो । यस पुस्तकका अधिकांश समालोचना ‘सुयोगवीर’मै केन्द्रित छन् ।
तर आजभोलि मलाई यो पुस्तकको पुरुष पात्र भन्दा नारी पात्र धेरै मोहक लाग्छन् । त्यति शक्तिशाली नारी पात्र ‘सकमबरी’ पुरुषको यौन हिंसाको कारण कसरी समाप्त हुन सक्छिन् भन्ने सङ्केत मलाई निकै सशक्त लाग्छ । हामीले दिनदिनै यौन हिंसाका घटना सुनिरहेका छौँ । त्यस्ता घटनाबाट आजित भएर महिलाहरूले लिएका अप्रिय निर्णयका खबर समाचारमा पढ्छौं पनि । यौन हिंसाका पीडितप्रति सहयोगी हुनुको सट्टा उल्टै आमसमुदाय पिडकप्रति उदार र पीडितप्रति आक्रामक भएका हाई प्रोफाइल घटनालाई हामी सम्झिन सक्छौं । बाहिर नआएका यस्ता कयौँ घटना होलान् । त्यस आलोकमा हेर्दा मलाई ‘शिरीषको फूल’ अहिले पनि समसामयिक लाग्छ ।
- ८. लेखेर अहिलेसम्म के पाउनु वा गुमाउनु भयो ?
केही नगुमाए पनि आत्मसन्तुष्टि भने प्रशस्तै पाएकी छु । आफ्नो अन्तर्मनको आवाज अभिव्यक्त गर्नु आफैलाई न्याय गर्नु पनि हो । त्यसैले जोसँग लेख्ने कला छ, ती सबैले लेखुन् भन्ने मेरो चाहना छ ।
- ९. तपाईंका आगामी साहित्यिक योजना के छन् ?
अर्को उपन्यास प्रकाशित गर्ने सोच छ । ‘विषाणु ऋ’ समसामयिक नारी पात्रलाई केन्द्रमा राखेर लेखेँ अबको आख्यानमा कल्पना र यथार्थको धमिलो प्रकाश मिसियोस् भन्ने चाहन्छु । सामाजिक संरचनाको पिँधमा रहेका पात्रले मेरो उपन्यासमार्फत बोल्न सकुन् भन्ने चाहन्छु । त्यसैका लागि अनुसन्धान र अध्ययन गर्दैछु । आशा छ मैले मेरा पात्रहरूलाई न्याय गर्नेछु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण