बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘पीआर’ को ‘तिमी छौ र त’ बोलको गीत सार्वजनिक

सोमबार, ०८ मङ्सिर २०८२, ०४ : २८
सोमबार, ०८ मङ्सिर २०८२

काठमाडौँ । शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘पीआर’को ‘तिमी छौ र त’ बोलको गीत सार्वजनिक भएको छ। 

निर्माण टिमले फिल्मका अभिनेता आर ए सुरज पौडेलको जन्मदिनको अवसर पारेर उक्त गीत रिलिज गरेको हो।

शनिबार अस्ट्रेलियाको ग्रान्ड प्यालेस फङ्सन सेन्टर अबर्नमा एक कार्यक्रमकाबिच गीतको भिडियो रिलिज गरिएको निर्माण पक्षले जानकारी दिएको छ। यो गीतको भिडियो सलोमा युट्युब च्यानलमार्फत रिलिज गरिएको हो। जहाँ अभिनेता आर ए सुरज पौडेल र अभिनेत्री बिनिता कार्कीको रमाइलो नृत्य हेर्न सकिन्छ।  

मानस राजको संगीत, सुनुप पौडेल र नीतु पुनको स्वरमा रहेको यो गीतको भिडियोको कोरियोग्राफी रामजी लामिछानेको छ। 

सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यस फिल्ममा आर.ए.सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी,आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन्। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का,उत्तम के.सी.नेपाल र दिक्पाल कार्कीलाई पनि देख्न सकिन्छ।

फिल्मको प्रमोसनका लागि केहि दिनअघि नै निर्देशक बस्नेत अस्ट्रेलिया पुगेका छन् । गीतको भिडियो रिलिज गर्दै निर्देशक बस्नेतले भने, ‘पीआरमा दर्शकले रोमान्स, एक्सन र सामाजिक सन्देशको मिश्रण पाउनेछन्। यो नेपालका युवाको सपना र सङ्घर्षको कथा हो, जसले फरक स्वाद प्रदान गर्नेछ भन्नेमा विश्वास लिएको छु।’

उनका अनुसार चलचित्र प्रेम, सङ्घर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा आधारित छ। यस फिल्मको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीको छ भने लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन्।  बन्दे प्रसादको सम्पादन रहेको छ भने गणेश बुढाथोकीको लेखन रहेको छ।

सौरभ सायमी र सौरभ लामाले फिल्मको छायाङ्कन गरेका छन् भने वितरण आर आर फिल्मस्ले गर्दै छ। फिल्म यही मङ्सिर २६ गतेबाट हलमा लाग्दैछ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप