बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जेनजी आन्दोलनको जित र ‘झोले’ कार्यकर्ताको भाग्य

सोमबार, ०८ मङ्सिर २०८२, ०६ : ४२
सोमबार, ०८ मङ्सिर २०८२

सारांश

  • जेनजी आन्दोलनको श्रेय लिन नेता र बिचौलियाबीच प्रतिस्पर्धा चलिरहेको छ, जसले विगतका आन्दोलनको झल्को दिन्छ।
  • युवाहरूको विद्रोही चेतनाको प्रतिफलको रूपमा सुरु भएको आन्दोलनलाई 'झोले' कार्यकर्ताहरूले सफल बनाए, तर अवसरवादीहरूले यसलाई बदनाम गर्न खोजिरहेका छन्।
  • आन्दोलनले पुरानो राजनीतिक संस्कृतिमा दबाब सिर्जना गर्यो, तर यसको उपलब्धि संस्थागत नहुने चिन्ता छ, र जेनजीले मागलाई संगठित रूपमा उठाउनुपर्छ।

पछिल्लो समय जेनजी आन्दोलनको लोकप्रियता कब्जा गर्न दलका नेता र बिचौलिया समूहबिच होडबाजी चलेको छ। सुरुमा यसको श्रेय लिन हिचकिचाउनेहरू अहिले आन्दोलनलाई आफ्नो पक्षमा पार्न तल्लीन छन्। यस्तो विवाद नयाँ होइन । प्रत्येक राजनीतिक आन्दोलनपछि यसको श्रेय कसले लिने भन्ने विवाद र प्रश्न अनिवार्य रूपमा उठ्छ। अहिले पनि यही प्रश्न दोहरिएको छ ।

धेरैले भन्छन्, यो आन्दोलन युवाको अदम्य साहस र विद्रोही चेतनाको प्रतिफल हो। तर यसलाई विद्रोही आन्दोलनका रूपमा सफल बनाउने काम भने उनै‘झोले’ कार्यकर्ताहरूले नै गरेका हुन्। किनभने जेनजीले आन्दोलनको आह्वान मात्र गरेका थिए। देशमा लामो समयदेखि व्याप्त राजनीति दलप्रतिको वितृष्णा आन्दोलनको रूपमा अभिव्यक्त भयो । यो आन्दोलन सामूहिक वितृष्णाको परिणाम हो। 

तर यतिबेला अवसरवादी तत्त्वहरू यसलाई बदनाम गर्न खोज्दैछन्। यस्ता पात्र वा प्रवृत्तिहरू सधैँ आन्दोलनको अन्तिम घडीमा हस्तक्षेप गरी आफ्नो राजनीतिक भविष्यको गोरेटो खन्ने गर्छन्। यसर्थ, यथार्थ के हो भने आन्दोलनको बीउ जेनजीहरूले नै रोपे तर त्यसलाई फलाउन–फुलाउन ‘झोले’ कार्यकर्ताहरुकैभूमिका रह्यो । आन्दोलनको बीजारोपण जेनजीले नै गरे पनि त्यसलाई बहुआयामिक स्वरूप दिन उनीहरूकै हात छ । 

कतिसम्म भने राजनीतिक दलका नेता÷कार्यकर्ताहरु आन्दोलनलाई यथास्थितिमा कैद गर्न खोज्दै छन् । उनीहरू जेनजी युवाहरूबीचमा खेलेर फुट र विभाजन ल्याउन खोज्दै छन् । त्यसैले वास्तविक जेनजीका साथीहरुले यस आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न गम्भीर भएर लाग्नु पर्नेछ । यो आन्दोलन पनि विगतका आन्दोलनझैँ इतिहासका पानामा मात्र सीमित नहोस् भन्नका लागि जेनजी साथीहरूको सक्रियताले धेरै ठूलो अर्थ राख्ने निश्चित छ । 

यो आन्दोलन कुनै दल वा सङ्गठनले आह्वान गरेको थिएन। यो आन्दोलन डिजिटल युगका युवाहरूको असन्तुष्टिको विस्फोट थियो। लामो समयदेखि रोजगारी, अवसर, शिक्षा र समानताको सवालमा राज्यले बेवास्ता गरेपछि युवाहरूले सामाजिक सञ्जाल र सडकमा एकैसाथ आवाज उठाए। युवाहरू भावनात्मक रूपमा मात्रै नभएर तर्कका साथ सडकमा खडा भए। 

उनीहरूले परम्परागत नेताहरूको नारा होइन, आफ्नै नारा र स्लोगन भट्याए । तर यस्ता आन्दोलनहरूका आफ्नै केही सीमा र कमजोरी हुने गर्छन् । राजनीतिक रूपमा संगठित नहुने तथा स्पष्ट नेतृत्वको पहिचान नहुँदा यस्ता आन्दोलनहरूले आफ्ना उपलब्धीहरुलाई ठोस रूपमा संस्थागत गर्न सक्दैन कि भन्ने चिन्ता सबै तिर देखिन्छ । यस्तैमा अन्य शक्ति खेल्न आइपुग्छन् । 

कुनै पनि आन्दोलनका उपलब्धिहरू सापेक्ष हुन्छन् । यो आन्दोलनमा युवाहरूको सफलता थियो– पुरानो राजनीतिक संस्कृतिमा नैतिक दबाब सिर्जना गर्नु, देशभर चेतना फैलाउनु र सत्ता–संरचनाको पुनरावलोकन गर्न बाध्य बनाउनु। तर आन्दोलनपछि पनि जस्ता अनुहारहरू सार्वजनिक वृत्तमा देखिए त्यसले कतै यो आन्दोलनले आफ्नो गौरव र महत्त्व गुमाउने हो कि भन्ने चिन्ता देखिएको छ । 

आन्दोलन मूलतः सामाजिक विद्रोह थियो। बेथिति र भ्रष्टाचारविरुद्ध थियो। सुशासनका लागि थियो। तर यसलाई राजनीतिक दलका नेताहरूले, उनीहरूका सङ्गठनले यसलाई रूपान्तरणको आवाजका रूपमा लिन मानेनन् । कतिले त झन् यसलाई गलत रूपमा व्याख्या गर्दै त्यसका उपलब्धिलाई नै खारेज गर्ने प्रयास गरे । यो आफैमा दुःखद विषय हो । यदि परिवर्तनलाई आत्मसाथ गर्न सकिएन भने आन्दोलनले उठाएको संरचनात्मक रूपान्तरणको बाटो अवरुद्ध हुने निश्चित छ । 

तर हामीले के यथार्थ बुझ्न जरुरी छ भने जेनजी आन्दोलनले नेपालको राजनीतिक चेतनामा ठूलो कम्पन ल्याएकै हो । यसले पुरानो संरचनामा बसेका र राज्य संयन्त्रमा हालीमुहाली गरेको समूहलाई जरैदेखि हल्लाई दिएकै हो । पुराना पुस्ताका नेताहरूलाई यसले उनीहरूकै दलमा नेतृत्व हस्तान्तरण गर्न दबाब दिएकै हो ।

अबका आगामी दिनमा हाम्रो र आन्दोलनका पक्षधर शक्तिहरूको एउटै जोड हुनुपर्छ– आन्दोलनले उठाएका मागलाई संगठित रूपमा अभिव्यक्त गर्ने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश विद्रोही
राजेश विद्रोही
लेखकबाट थप