बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सेबोनको नयाँ मस्यौदा : ३० प्रतिशत रकममै ‘ए’ वर्गका कम्पनीको सेयर किन्न पाइने

सोमबार, ०८ मङ्सिर २०८२, २० : २४
सोमबार, ०८ मङ्सिर २०८२

सारांश

  • नेपाल धितोपत्र बोर्डले सेयर बजारमा मार्जिन कारोबारलाई प्रभावकारी बनाउन नयाँ मस्यौदा सार्वजनिक गरेको छ।
  • लगानीकर्ताले ३० प्रतिशत रकम बुझाएर 'ए' वर्गका कम्पनीको सेयर खरिद गर्न सक्ने प्रस्ताव गरिएको छ।
  • मस्यौदा अनुसार, ब्रोकरको चुक्ता पुँजी २० करोड हुनुपर्ने र मार्जिन सुविधा लिन छुट्टै खाता खोल्नुपर्नेछ।

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सेयर बजारमा मार्जिन कारोबारलाई प्रभावकारी बनाउन ‘मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशन, २०८२’ को प्रारम्भिक मस्यौदा बनाएको छ । 

बोर्डले तयार पारेको उक्त मस्यौदामा सरोकारवालासँग राय सुझाव माग्दै नयाँ व्यवस्था प्रस्ताव सार्वजनिक गरेको छ । 

बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८७ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी तयार पारेको मस्यौदा अनुसार अब लगानीकर्ताले ३० प्रतिशत रकम बुझाएरै ‘ए’ वर्गका कम्पनीको सेयर खरिद गर्न सक्ने प्रस्ताव गरिएको छ ।

प्रस्तावित मस्यौदाको अनुसूची–१ अनुसार धितोपत्र दलाल व्यवसायी (ब्रोकर) ले लगानीकर्तासँग सेयर खरिद गर्दा न्यूनतम प्रारम्भिक मार्जिन लिनुपर्नेछ । 

जसमा १८० दिनको औसत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ, सोको आधारमा गणना हुने गरी ‘ए’ वर्गका कम्पनीको ३० प्रतिशत, ‘बी’ वर्गका कम्पनीको ४० प्रतिशत र अन्य योग्य कम्पनीको ३५ प्रतिशतमा सेयर किन्न पाइने प्रस्ताव गरेको छ । ‘ए’ वर्गको कम्पनीको सेयर किन्न लगानीकर्ताले ३० रुपैयाँ हाल्दा ब्रोकरले ७० रुपैयाँ ऋण सुविधा उपलब्ध गराउने व्यवस्था गर्न लागिएको छ । 

ब्रोकरको चुक्ता पुँजी २० करोड हुनुपर्ने

मार्जिन कारोबार सुविधा प्रदान गर्ने ब्रोकरको योग्यतामा पनि बोर्डले कडाइ गरेको छ । अब यस्तो सुविधा दिन चाहने ब्रोकरको चुक्ता पुँजी कम्तीमा २० करोड रुपैयाँ हुनुपर्नेछ । साथै, त्यस्ता ब्रोकरले पूर्ण रूपमा राफसाफ सदस्यता र निक्षेप सदस्यता प्राप्त गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

ब्रोकरले आफ्नो प्रमाणित नेटवर्थको ५ गुणासम्म मात्र मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्नेछन् भने कुनै एक ग्राहक वा निजको एकाघरका सदस्यलाई नेटवर्थको २० प्रतिशतभन्दा बढी सुविधा दिन पाउने छैनन् ।

कुन कम्पनीको सेयरमा पाइन्छ मार्जिन ? 

सबै कम्पनीको सेयरमा मार्जिन सुविधा पाइने छैन । बोर्डले प्रस्ताव गरेको मापदण्ड अनुसार मार्जिनका लागि योग्य हुन कम्पनीले कम्तीमा ५० लाख कित्ता सर्वसाधारण सेयर सूचीकरण भएको हुनु पर्ने प्रस्ताव बोर्डले गरेको छ । 

त्यस्तै नेटवर्थ चुक्ता पुँजी बराबर वा सोभन्दा बढी भएको, पछिल्लो तीन वर्षमा दुई वर्ष लाभांश वितरण गरेको, मूल्य घट्दा मार्जिन कल र सेयर बिक्री र सेयर सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको हुनु पर्ने मापदण्ड पनि राखेको छ । 

सेबनको प्रस्ताव मस्यौदा अनुसार सेयर बजार घट्दा लगानीकर्ताले निश्चित रकम खातामा कायम राख्नुपर्नेछ । मस्यौदाको अनुसूची–२ अनुसार ‘ए’ वर्गका लागि २० प्रतिशत, ‘बी’ वर्गका लागि ३० प्रतिशत र अन्यका लागि २५ प्रतिशत सम्भार मार्जिन कायम हुनुपर्ने छ ।

यदि सेयरको मूल्य घटेर तोकिएको मार्जिन कायम हुन नसकेमा ब्रोकरले लगानीकर्तालाई ‘मार्जिन कल’ गर्नेछन्। लगानीकर्ताले पैसा थप नगरे वा सम्पर्कमा नआए ब्रोकरले सेयर बिक्री गरी हिसाब मिलान गर्न सक्ने अधिकार मस्यौदामा प्रस्ताव गरिएको छ । यसका लागि लगानीकर्ताले सुरुमै ब्रोकरलाई सेयर बिक्री गर्ने अधिकारसहितको वारेसनामा दिनुपर्नेछ । 

छुट्टै खाताको व्यवस्था

मार्जिन सुविधा लिन चाहने लगानीकर्ताले ब्रोकर कहाँ छुट्टै ‘मार्जिन कारोबार खाता’ र ‘मार्जिन कारोबार हितग्राही (डिम्याट) खाता’ खोल्नुपर्नेछ । तर, ब्रोकरको सिस्टमले एउटै खाताबाट व्यवस्थापन गर्न सकेमा भने छुट्टै खाता आवश्यक पर्ने छैन । खरिद गरिएको सेयरको दैनिक मूल्यांकन ‘मार्क टु मार्केट’ विधिबाट गरिनेछ । 

यसअघि २०७४ सालमा जारी भएको निर्देशन कार्यान्वयनमा जटिलता देखिएपछि बोर्डले २०८२ सालमा लागु हुने गरी नयाँ मस्यौदा ल्याएको बोर्डले जनाएको छ ।  बोर्डले यस मस्यौदामा ७ दिनभित्र सुझाव पठाउन सरोकारवाला निकायलाई आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप