प्रहरीबाट गलत सूचना प्रवाह भएको प्रदेश प्रहरी प्रमुखको दाबी
बारा । मधेस प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाले सिमरामा भएको ‘जेनजी’ आन्दोलनको घटनाबारे आफूलाई वास्तविक सूचना लुकाइएको बताएका छन् ।
सिमराका व्यवसायी, शिक्षक, सामाजिक संघसंस्थाका प्रतिनिधि तथा पत्रकारहरूसँगको छलफलमा डीआईजी थपलियाले बाराका तत्कालीन प्रहरी उपरीक्षकले घटना सामान्य भएको भन्दै आफूलाई गलत रिपोर्टिङ गरेको टिप्पणी गरेका हुन् ।
‘अस्तिको घटना वास्तवमा कसरी भएको थियो, कारण के थियो र कुन तहको घटना हो भन्ने कुरा अहिले आएर मलाई छर्लङ्ग भयो,’ डीआईजी थपलियाले भने, ‘सत्य कुरा त्यही दिन थाहा पाएको भए घटना फरक स्थितिमा जान्थ्यो । त्यसमा प्रहरीको सामान्य त्रुटि भएको मैले महसुस गरेँ ।’
प्रदेश प्रहरी प्रमुख थपलियाले आम नागरिकलाई पनि समयमै सही सूचना प्रवाह गर्न आग्रह गरेका छन् । उनले प्रहरीको व्यावसायिकतामा ह्रास आएको समेत स्वीकार गरे ।
‘जनपथ प्रहरी होस् वा ट्राफिक प्रहरी, हाम्रो व्यावसायिकतामा ह्रास आएको छ । हामीले सुधार गर्न पहल गरिरहे पनि पूर्ण रूपमा सफल भइसकेका छैनौं,’ थपलियाले भने, ‘जेनजी आन्दोलनपछि अब प्रहरी सुध्रिनुको विकल्प छैन ।’
प्रहरीले विगतको कार्यशैलीमा हेरफेर गर्दै आफ्नो आचरण र समाजको अपेक्षाअनुसार काम गर्न नसके संगठन सफल नहुने थपलियाको भनाइ छ ।
छलफलमा सिमरा र आसपास क्षेत्रका व्यवसायी तथा शिक्षकहरूले जेनजी आन्दोलनपछि शान्ति सुरक्षाको वातावरण नभएको भन्दै गुनासो गरेका थिए ।
त्यस्तै, सहभागीहरूले पूर्व–पश्चिम राजमार्गमा खटिने ट्राफिक प्रहरी असुलीमा मात्रै केन्द्रित भएको गुनासो गरे । तराई यातायात व्यवसायी संघका कार्यसमिति सदस्य मीनप्रसाद अपागाईंले ट्राफिक प्रहरी दुर्घटना न्यूनीकरण र आम नागरिकको जनधनको क्षति कम गर्नुभन्दा पनि असुलीमा मात्रै लागेको आरोप लगाए ।
यता, प्रदेश प्रहरी प्रमुख थपलियाले हरेक घटनामा सडकमा गएर विरोध गर्न आवश्यक नभएको बताएका छन् । छलफलमा बारामा आइतबार मात्रै जिम्मेवारी सम्हालेका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले प्रहरीले आफ्ना कार्यशैलीहरू सुधार गर्दै लैजाने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा सहभागी शिक्षक, प्राध्यापक तथा व्यवसायीहरूले सुरक्षाको ग्यारेन्टी नहुँदा ढुक्क भएर काम गर्ने अवस्था नरहेको गुनासो गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण