एमालेलाई प्रतिनिधि छनोटको चटारो : सहमति नभए निर्वाचन प्रक्रिया
सारांश
- नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको प्रक्रिया सुरु भएको छ, जसका लागि प्रतिनिधि छनोट हुँदैछ।
- अधिकांश जिल्लाहरूले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन्, र सहमति नभए निर्वाचनमार्फत प्रतिनिधि छनोट हुनेछ।
- एमालेले उम्मेदवार शुल्क १ हजार रुपैयाँभन्दा बढी लिए कारबाही गर्ने चेतावनी दिएको छ, र झन्डै २२ सय प्रतिनिधि सहभागी हुने अनुमान छ।
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि ११ औँ राष्ट्रिय महाधिवेशन प्रक्रिया सुरु भएको छ । मङ्सिर ९ गते मंगलबारबाट एमालेले प्रतिनिधि छनोटको काम अगाडि बढाएसँगै एमालेको महाधिवेशन प्रक्रिया सुरु भएको संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले बताए ।
मङ्सिर २७–२९ गतेमा काठमाडौँमा हुने महाधिवेशनका लागि प्रतिनिधिहरू छनोट गर्न अधिकांश जिल्लाले मंगलबार नै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको नेता अधिकारीको भनाइ छ ।
एमालेले सबै पार्टी कमिटीहरूलाई सकेसम्म महाधिवेशन प्रतिनिधि सर्वसम्मत छनोट गर्न निर्देशन दिएको छ । यदि सहमति जुट्न नसके मङ्सिर १३ गते एकै दिन निर्वाचनमार्फत प्रतिनिधि छनोट गर्न भनेको छ ।
कतिपय जिल्लामा प्रतिनिधि छनोटमा उम्मेदवार शुल्क धेरै लिन लागेको थाहा पाएपछि एमाले संगठन विभागले प्रतिनिधिको उम्मेदवारी शुल्क १ हजार रुपैयाँ भन्दा बढी लिए कारबाही गर्ने चेतावनी दिएको छ ।
११ औँ राष्ट्रिय महाधिवेशनमा झन्डै २२ सय प्रतिनिधि सहभागी हुने प्रारम्भिक आकलन एमालेको छ ।
‘मंगलबारदेखि मतदाता नामावली प्रकाशन सुरु भइसक्यो । झन्डै ४० जिल्लामा मंगलबार सुरु भयो’, एमाले संगठन विभागका सचिव माधव ढुङ्गेलले भने, ‘बाँकी निकायमा बुधबार मतदाता नामावली प्रकाशन हुन्छ ।’
प्रतिनिधि छनोटको प्रक्रिया र मापदण्ड अन्तरपार्टी निर्देशन (अपानि) १३ अनुसार हुने सचिव ढुंगेलको भनाइ छ ।
‘मंगलबारबाट सुरु भएको प्रक्रिया अनुसार मङ्सिर ९ र १० गते जिल्लाहरूमा मतदाता नामावली प्रकाशन गर्ने, दावी विरोध टुंग्याउने तथा मङ्सिर ११ गते बेलुकासम्म सहमति गर्ने र सहमति नभए १२ गते निर्वाचनको तयारी गरेर १३ गते सबैले निर्वाचन गरिसक्नुपर्ने निर्देशन दिइएको छ’, ढुङ्गेलले रातोपाटीलाई बताए ।
उनका अनुसार निर्वाचन प्रक्रियामा प्रवेश गर्नुभन्दा पहिला सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूची अनिवार्य रुपमा प्रकाशन गर्नुपर्नेछ ।
- कसरी छनोट हुन्छन् महाधिवेशन प्रतिनिधि ?
एमालेमा मालेमा ७७ जिल्ला र ७ विशेष जिल्ला गरी कूल ८१ वटा जिल्ला कमिटी छन् ।
एमालेले प्रतिनिधि सभा अन्तर्गतको निर्वाचन क्षेत्रलाई मुख्य आधार मानेर प्रतिनिधि चयन गर्ने विधि तय गरेको छ ।
निर्वाचन क्षेत्रगत रूपमा जिल्लाभरिकै सङ्गठित सदस्यहरूलाई मतदानमा सहभागी गराउँदा ६ लाख ६७ हजार ६३० जना पार्टी सदस्य प्रक्रियामा सहभागी हुने एमाले नेताहरूको भनाइ छ ।
एमालेमा हाल रहेको ३५५ सदस्यीय केन्द्रीय कमिटीसहित केन्द्रीय आयोग र केन्द्रीय सल्लाहकार परिषद्का सदस्यहरू स्वतः प्रतिनिधि हुनेछन् । बाँकी प्रतिनिधि भने चुनावी प्रक्रियाबाटै छानिनुपर्ने छ ।


यस हिसाबमा प्रदेश स्तरीय कमिटीबाट दुई जना महिला सदस्यसहित पाँच जनाका दरले ४५ जना चुनिनेछन्।
प्रतिनिधि सभा निर्वाचन क्षेत्रको हकमा १२ सय पार्टी सदस्य बराबर ४० वर्षमुनिका एक युवा, कम्तीमा एक महिलासहित ४ जना प्रतिनिधि छानिनेछन् ।
न्यूनतम १२ सय पार्टी सदस्यमा थप ८०० सदस्य नाघेमा थप एक जना महिला प्रतिनिधि र त्यसपछि प्रत्येक थप आठ–आठ सयमा नाघेमा थप निर्वाचित खुला प्रतिनिधि चुनिनेछन् । त्यसभन्दा बढी भएमा सोही अनुपातमा पहिलो ८०० मा महिला र अन्यमा खुला निर्वाचित प्रतिनिधि चुनिने विधि अवलम्बन गर्दा झन्डै १२ सय प्रतिनिधि छानिने एमालेको हिसाबकिताब रहेको छ । पछिल्लो सचिवालय बैठकले अघिल्लो मापदण्डलाई केही संशोधन गर्दै शेष संख्या ५० प्रतिशत कायम रहे एक जना प्रतिनिधि थपिनसक्ने बताएको छ
एमालेमा ४ वटा विशेष जिल्लाबाट ४७ जना चुनिनेछन् ।
दलितका लागि जिल्लालाई नै एक निर्वाचन क्षेत्र बनाएकाले दलित कोटाबाट ८१ जना निर्वाचित हुने एमालेको भनाइ छ । त्यस्तै मजदुर फाँटबाट ४९, प्रवासबाट ३५, केन्द्रीय विभागबाट ३२, केन्द्रीय कार्यालयबाट १ तथा २३ वटा जनसंगठनबाट १३७ जना निर्वाचित हुने देखिएको छ ।
त्यसैगरी जनसंगठनबाट ७ र अन्य संगठनबाट पाँच जनाका दरले प्रतिनिधि छनोट हुने एमालेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण