शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
वायु प्रदूषण

इथियोपिया ज्वालामुखी विस्फोटको असर नेपालमा पर्छ ?

मङ्गलबार, ०९ मङ्सिर २०८२, १९ : ४९
मङ्गलबार, ०९ मङ्सिर २०८२

काठमाडौं । इथियोपियाको अफार क्षेत्रस्थित हाइली गुब्बी ज्वालामुखी विस्फोट हुँदा आसपासका मुलुकहरुसमेत प्रभावित भएका छन् । पूर्वोत्तर इथियोपियामा यो ज्वालामुखी करिब १२ हजार वर्षयता पहिलो पटक विस्फोट भएको हो । ज्वालामुखी विस्फोट हुँदा निस्किएको धुवाँ १४ किलोमिटर उचाइसम्म पुगेको बताइएको छ ।

ज्वालामुखीका कारण निस्किएको धुलोले वायु प्रदूषण र खरानीका साना कणहरुले भारत पाकिस्तान, ओमान, साउदी अरब लगायत देशको एयररुटमा समेत प्रभाव परेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले  जनाएका छन् ।

नेपालमा प्रत्यक्ष असर छैन  

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले इथियोपियामा भएको ज्वालामुखी विस्फोटको प्रभाव नेपालको हवाई उडानमा नपरेको स्पष्ट पारेको छ । छिमेकी मुलुक भारतका केही उडानहरू रद्द भएको खबर आइरहँदा क्यानले नेपालको हकमा भने त्यस्तो कुनै गम्भीर असर नरहेको जनाएको हो ।

रातोपाटीसँग कुराकानी गर्दै प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले नेपालको एयर रुट र उडान तालिकामा ज्वालामुखीका कारण कुनै अवरोध सिर्जना नभएको जानकारी दिए ।

प्रवक्ता भुलका अनुसार भारतमा जहाजहरू क्यान्सिल भइरहेको सन्दर्भमा नेपालमा भने त्यस्तो डिस्टर्ब देखिएको छैन । ‘हाम्रोमा खासै असर परेको छैन । अलि–अलि तुवाँलो लागेको र भिजिबिलिटी कम भएको अवस्था छ, तर फ्लाइट नै रद्द गर्नुपर्ने गरी असर परेको छैन ।’

जाडोयाममा सामान्यतया बिहानको समयमा भिजिबिलिटी कम हुने र एयरपोर्ट ढिलो खुल्ने समस्या रहने भन्दै प्रवक्ता भुलले अहिलेको मौसममा देखिएको धुम्मपनलाई जाडोको स्वाभाविक प्रक्रियासँग जोडेका छन् । उनले ज्वालामुखीको खरानी वा धुलोका कारण नेपालको आकाश केही मात्रामा प्रभावित भएपनि त्यसले उडान सुरक्षामा गम्भीर चुनौती नथपेको बताए ।

Ethopia Volcano1

‘जाडोमा भिजिबिलिटी यत्तिकै पनि कम हुन्छ, त्यसमा अलिकति थपियो होला । तर सिग्निफिकेन्ट असर परेर उडान नै रोक्नुपर्ने अवस्था छैन,’ भुलले भने । प्राधिकरणले सामान्य ढिलाइ बाहेक उडानहरू नियमित रूपमा सञ्चालन भइरहेको जनाएको छ । 

नेपालको वायुमा कस्तो असर ?

ज्वालामुखीको असर दक्षिण एसियाली मुलुकहरूमा फैलिने त्रास बढिरहँदा नेपालमा भने यसको तत्काल ठुलो असर नपर्ने विज्ञले बताएका छन् ।  

वायु प्रदूषण विज्ञ डा. धर्मराज उप्रेतीले इथियोपियाको ज्वालामुखीबाट निस्किएको प्रदूषणको बहाव  नेपालतर्फ सोझिने सम्भावना अहिलेलाई न्यून रहेको बताएका हुन् ।

रातोपाटीसँग कुरा गर्दै डा. उप्रेतीले भने, ‘हामीले स्याटेलाइट डाटाहरु हेर्दा इथियोपियादेखि भारतको नयाँ दिल्लीसम्म सल्फर डाइअक्साइडको एउटा कनेक्सन देखिएको छ । तर नेपालसम्म आइपुग्दा त्यो क्रम टुटेको छ । त्यसैले नेपालमा यसको सोझो असर पर्ने सम्भावना कम देखिन्छ ।’

डा. उप्रेतीका अनुसार पछिल्लो समय वायुमण्डलमा सल्फर डाइअक्साइडको मात्रा अन्य दिनको तुलनामा केही बढेको पाइएको छ । यद्यपि यो ज्वालामुखीकै कारणले हो वा स्थानीय प्रदूषणले हो भन्ने विषयमा थप अध्ययन आवश्यक रहेको उनले बताए । ‘काठमाडौँ लगायतका क्षेत्रमा वायु प्रदूषण र पीएम १० को मात्रा बढेको छ । तर यो इथियोपियाको ज्वालामुखीकै कारण हो भनेर ठोकुवा गर्न सकिने अवस्था छैन,’ उनले भने ।

कुन–कुन देशमा पर्‍यो असर ?

ज्वालामुखी विष्फोटपछि निस्किएको धुलो र ग्यासको प्रभाव मध्यपूर्वी देशहरूमा अत्यधिक देखिएको छ । डा. उप्रेतीका अनुसार ओमान, साउदी अरेबिया, इराक र पाकिस्तानसम्म यसको प्रत्यक्ष असर देखिएको छ । ‘अहिले इराक संसारकै सबैभन्दा बढी वायु प्रदूषण भएको देशको सूचीमा परेको छ । पाकिस्तान, ओमान र साउदी अरेबियामा भिजिबिलिटी कम हुनुका साथै हवाई उडानहरू रद्द गरिएका छन्,’ उनले भने, ‘ज्वालामुखीको खरानी र मसिना कणहरूले जहाजको इन्जिनमा असर गर्न सक्ने भएकाले उडानहरू रोकिएका हुन् ।’

चीनतर्फ मोडियो प्रदूषण

डा. उप्रेतीले वायुको बहाव र मोडलाई विश्लेषण गर्दा प्रदूषणको मुस्लो पाकिस्तानको उत्तरी भाग हुँदै चीनतर्फ अघि बढेको देखिएको बताए । ‘हामीले आगामी बुधबारसम्मको पूर्वानुमान हेर्दा पनि वायुको दिशा नेपालतर्फ सोझिएको देखिँदैन । यो पाकिस्तान हुँदै चीनको केही भागमा जाने देखिन्छ,’ उनले भने । 

नेपालमा अहिले देखिएको प्रदूषण हिउँदयाममा हुने नियमित प्रदूषण र हावा नचल्दा जम्मा भएको धुलोका कणहरू हुनसक्ने भन्दै उनले इथियोपियाको घटनाबाट त्रसित हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप