म्याग्दीमा धान उत्पादन बढ्यो
सारांश
- म्याग्दीमा यस वर्ष धान उत्पादन ३.१ प्रतिशतले बढेको छ, अनुकूल मौसम र रोगकिराको समस्या नहुँदा उत्पादनमा वृद्धि भएको हो।
- जिल्लामा ३,८०६ हेक्टरमा धानखेती हुँदै आएकोमा यस वर्ष १४,०८७ मेट्रिक टन धान उत्पादन भएको छ।
- गण्डकी प्रदेश सरकारले धानखेती प्रवर्द्धनका लागि कार्यक्रम सञ्चालन गरेको छ, जसले सिँचाइ, पूर्वाधार र यान्त्रीकरणमा सहयोग गर्छ।
म्याग्दी । म्याग्दीमा प्रमुख खाद्यान्नबालीका रूपमा रहेको धानको उत्पादन यस वर्ष बढेको छ । गत वर्षको तुलनामा तीन दशमलव एक प्रतिशतले धान उत्पादन वृद्धि भएको कृषि विकास कार्यालयले जनाएको छ ।
अनुकूल मौसम, रोगकिराको समस्या नदेखिएनु, भित्र्याउने समयमा असिना नपर्नु, बेमौसमी वर्षाले कम असर गर्नुलगायत कारणले यस वर्ष तीन दशमलव उक प्रतिशतले धान उत्पादन बढेको कार्यालयका प्रमुख सञ्जीव बास्तोलाले जानकारी दिए । “धान रोप्ने र हुर्कने समयमा पर्याप्त वर्षात हुनुका साथै भित्र्याउने समयमा पनि मौसमले साथ दियो”, उनले भने “रोगकिराको समस्या नदेखिएको र असिना नपरेकाले धान उत्पादन बढेको हो ।”
गत कात्तिकको दोस्रो साता भएको बेमौसमी वर्षाले म्याग्दीका धानबालीमा ठूलो क्षति नपुर्याएको कार्यालयले जनाएको छ । जिल्लामा तीन हजार ८०६ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएकामा गत वर्ष प्रतिहेक्टर तीन दशमलव ५९ मेट्रिकटनका दरले १३ हजार ६६३ मेट्रिकटन धान उत्पादन भएको थियो । यस वर्ष प्रतिहेक्टर तीन दशमलव ७० मेट्रिकटनका दरले १४ हजार ८७ मेट्रिकटन धान उत्पादन भएको कार्यालयका प्रमुख बास्तोलाले जानकारी दिए ।
जिल्लाका विभिन्न ठाउँमा गरिएको बाली कटान विधिबाट उत्पादनको तथ्याङ्क संकलन गरिएको कृषि प्रसार अधिकृत गङ्गा लामिछानेले बताइन् । उनका अनुसार गौरीया, गुडुरा, जेठो बुडो, जर्नेली, पहेँले, मार्सी, शङ्कर, युएस–३१२ लगायत जातका धानखेती यहाँका मुख्य बाली हुन् ।
भिरालो जमिनमा पनि गर्न सक्ने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धानखेती लेकाली क्षेत्रका किसानले गर्छन् । पछिल्लो समय उन्नत जातमा किसानको आकर्षण बढेपछि धैया, अनदीलगायत रैथाने जातका धानको खेती घटेको लामिछानेले बताइन् ।
रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बरङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, पिप्ले, भगवती, घार, नारच्याङ, दानालगायत क्षेत्रमा धानखेती हुँदै आएको छ । धौलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ र अन्नपूर्णको शिख, राम्चेमा चिसोका कारण धान उत्पादन हुँदैन् ।
मङ्गला गाउँपालिका–२ सिमका ध्रुव केसीले यस वर्ष ११० मुरी धान उत्पादन भएको बताए । मौसमले साथ दिएकाले उत्पादन बढेको बताउँदै उनले गत वर्ष १०० मुरी मात्र धान उत्पादन भएको जानकारी दिए ।
गण्डकी प्रदेश सरकारले धानलगायत खाद्यान्नबालीको खेती प्रवर्द्धनको कार्यक्रम सञ्चालन गरेको छ । गत वर्ष रु १० लाख बजेट विनियोजन भएको यस कार्यक्रममा चालु आवमा रु १५ लाख विनियोजन भएको छ । कार्यक्रममार्फत सिँचाइ, पूर्वाधार विस्तार र यान्त्रीकरणमा सहयोग गरिन्छ ।
स्थानीय तहअनुसार कोटा निर्धारण गरेर रासायनिक मल आपूर्ति र वितरणको व्यवस्था मिलाएकाले किसानले मल अभावको समस्या झेल्नु नपरेको जनाएका छन् । रैथाने बालीको खेती घट्दै जानु, क्षेत्रफल विस्तार हुन नसक्नु, जनशक्तिको कमीलगायत कारणले जिल्लामा धानखेतीको मुख्य चुनौती बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण