बकैया ५ र ६ जोड्ने पक्की पुलको शिलान्यास
सारांश
- मकवानपुरको बकैया गाउँपालिकामा पुल निर्माणको शिलान्यास, मुख्यमन्त्री बानियाँद्वारा शिलान्यास।
- पुल १२० मिटर लामो हुने र ८ करोड २४ लाख लागत अनुमान गरिएको छ, जसले ८०० घरधुरीलाई लाभ पुर्याउनेछ।
- मुख्यमन्त्री बानियाँले तोकिएको समयमा गुणस्तरीय काम गर्न निर्देशन दिँदै सुशासनयुक्त समाज निर्माणको प्रतिबद्धता जनाए।
हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–५ र ६ जोड्ने पक्की पुलको शिलान्यास गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पूर्वी मकवानपुरको बकैया–५ र ६ जोड्ने पक्की पुलको शिलान्यास गरेका हुन् ।
बुधवार एक कार्यक्रमका बिच मुख्यमन्त्री बानियाँले कर्मचुली–जुइना–सुकौरा खोलामा निर्माण हुन लागेको मल्टिसेल बक्स पुलको शिलान्यास गरेका हुन् । बागमती प्रदेश सरकारको लगानीमा निर्माण हुने उक्त पुल १२० मिटर लामो हुनेछ भने आयोजनाका लागि ८ करोड २४ लाख ६८ हजार ९८५ रुपैयाँ लागत अनुमान गरिएको छ ।
श्री बिन्ध्याचल निर्माण सेवा कम्पनीले ६ करोड ८९ लाख ४९ हजार ७५४ रुपैयाँमा गत असार ८ गते सम्झौता भएको र आयोजनाको काम २०८४ असार ७ गतेसम्ममा सम्पन्न गरिसक्नुपर्ने समय सीमा तोकिएको छ ।
पुल निर्माण भएपछि बकैयाका करिब ८०० घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले जानकारी दिए । पुल नहुँदा वर्षायाममा खोलामा बाढी आउँदा बकैया–६ का विद्यार्थीहरूलाई विद्यालय जान र स्थानीयलाई आवतजावत गर्न समस्या हुँदै आएको उनले बताए । सो पुल बनेपछि विद्यार्थी, किसान र सर्वसाधारणलाई सहज हुनुका साथै गौतम बुद्ध अन्तर्राष्ट्रिय पर्यटन पार्कमा जाने पर्यटकका लागि समेत बाटो सहज हुने उनले अपेक्षा व्यक्त गरे ।
शिलान्यास समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले निर्माण कम्पनीलाई तोकिएकै समयमा गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिए । उनले सङ्घीयताका कारण गरिब र विपन्न वर्गको पहुँचमा विकास पुगेको र गाउँ–गाउँमा विकासले गति लिएको दाबी गरे । मुख्यमन्त्री बानियाँले युवाहरूको मागलाई सम्बोधन गर्दै प्रदेशमा भ्रष्टाचारमुक्त र सुशासनयुक्त समाज निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा.दिनेशचन्द्र देवकोटाले विशेष परिस्थितिका बाबजुद बजेट विनियोजन गरेर पुल निर्माण कार्य अघि बढाइएको जानकारी दिए । उनले आर्थिक र सामाजिक रूपान्तरणका लागि पूर्वाधार विकासलाई उत्पादनसँग जोड्नुपर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण