छोरी पुर्पक्षका लागि जेल चलान, आमा धरौटी नबुझाउँदा थुनामै
सारांश
- मोरङ जिल्ला अदालतमा नक्कली सूचना र परिचयपत्र बनाएर ठगी गरेको आरोपमा आमाछोरी पक्राउ परेका छन्।
- कोमलकुमारी साहलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ भने आमा पुनमकुमारीलाई धरौटी तोकिएको छ।
- ठगीमा संलग्न सञ्जयकुमार यादव फरार रहेको र उनको पक्राउ पुर्जी जारी गरिनेछ।
विराटनगर । मोरङ जिल्ला अदालतमा जागिर खुलेको भन्दै नक्कली सूचना र परिचयपत्र बनाएर सर्वसाधारणलाई ठगी गरेको आरोपमा पक्राउ परेका आमाछोरीविरुद्ध अदालतले आदेश सुनाएको छ।
बिहीबार मोरङ अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले ठगी आरोपमा पक्राउ परेकी कोमलकुमारी साहलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।
सोही प्रकरणमा मुछिएकी उनकी आमा पुनमकुमारी साहलाई भने अदालतले ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो। तर, अदालतले तोकेको धरौटी रकम बुझाउन नसकेपछि पुनमकुमारीलाई पनि कारागार पठाउने तयारी गरिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए। पुनमकुमारीमाथि बैंकिङ कसुरको मुद्दा पनि विचाराधीन रहेको अदालतले जनाएको छ।
अदालतमा जागिर लगाइदिने प्रलोभनमा दुई दर्जनभन्दा बढी सर्वसाधारणलाई ठगी गरेको आरोपमा उनीहरू पक्राउ परेका थिए। यस घटनाका मुख्य योजनाकार भनिएका कोमलकुमारीका श्रीमान् सञ्जयकुमार यादव भने फरार छन्। सूचना अधिकारी बुढाथोकीका अनुसार फरार यादवका नाममा शुक्रबार पक्राउ पुर्जी जारी हुनेछ।
फरार रहेका यादवकै मुख्य योजनामा अदालतमा जागिर खुलेको भन्दै नक्कली सूचना जारी गर्ने र सोझासाझा सर्वसाधारणलाई ठग्ने काम भइरहेको थियो। उनीहरूले अदालतको कार्यालय सहयोगीका लागि २ हजार ५ सय ७५ रुपैयाँ र नायब सुब्बा (नासु) पदका लागि १० हजार रुपैयाँसम्म रकम असुल्ने गरेको अभियोग पत्रमा उल्लेख छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण