विराटनगरस्थित स्वयम्भू सहकारीको १ करोड रुपैयाँ हिनामिना
सारांश
- विराटनगरको स्वयम्भु बचत तथा ऋण सहकारीका अध्यक्ष र उपाध्यक्षलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ, तर उनीहरूले रकम बुझाउन सकेका छैनन्।
- सहकारीको झन्डै १ करोड रुपैयाँ अपचलन गरेको आरोपमा अध्यक्ष र उपाध्यक्ष पक्राउ परेका थिए, जसमा अन्य १० जना विरुद्ध मुद्दा दायर भएको छ।
- लेखापरीक्षण अनुसार, सहकारीमा १ करोड ८३ लाख रुपैयाँभन्दा बढी पुँजी र कोषको रकम हुनुपर्नेमा पदाधिकारीहरूले हिनामिना गरेको देखिएको छ।
विराटनगर । विराटनगर महानगरपालिका–१० रोडशेष चोकमा रहेको स्वयम्भु बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा सहकारी अध्यक्ष र उपाध्यक्षलाई धरौटीमा छोड्न मोरङ जिल्ला अदाललते आदेश गरेको छ ।
मोरङ अदालतका न्यायाधीश अरुण कुमार झाको इजालसले सहकारीका अध्यक्ष विराटनगर–३ का ४५ वर्षीय प्रदिप महतोलाई ३ लाख र सहकारीका उपाध्यक्ष विराटनगर १७ का ४० वर्षीय राजु थापालाई १५ लाख रुपैयाँ धरौटीमा छोड्न बिहीबार आदेश दिएको हो ।
तर अदालतको आदेशपछि तोकिएको धरौटी रकम बुझाउन नसकेका उनीहरू आज थुनामै रहेका मोरङ अदालतका सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए । उनले भने, ‘बिहीबार साँझसम्म तोकिएको रकम बुझाएका छैनन्, सो रकम नबुझाए थुनामै रहन्छन् ।’
सहकारीको झण्डै १ करोड रुपैयाँ अपचलन गरेको आरोपमा अध्यक्ष महतो र उपाध्यक्ष थापा पक्राउ परेका थिए । प्रहरीले उनीहरूलाई पक्राउ गरी जिल्ला सरकारी वकिलको कार्यालमार्फत मोरङ अदालतमा बुधबार मुद्दा दर्ता गराएको थियो । अध्यक्ष र उपाध्यक्ष थापासहित १० जनाविरुद्ध मुद्दा दायर भएको थियो । सहकारीका अन्य पदाधिकारी र सञ्चालक समिति सदस्यहरूलाई भने फरार प्रतिवादी बनाएर अभियोग गर्दा गरिएको छ ।
सहकारीका पदाधिकारी तथा सदस्यसमेत भई उक्त संस्थाका बचतकर्ताहरूको रकम प्रतिवादीको व्यक्तिगत खातामा राखेको, हिनामिना गरेको र पटक–पटक ताकेता गर्दा पनि फिर्ता नगरेको बचतकर्ताको दाबी छ ।
यसरी निवेदन दिने बचतकर्तामा रेखा श्रेष्ठ समेतका जम्मा २२ जना रहेका छन् । सोही उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन् ।
लेखापरीक्षण गर्दा संस्थाका पदाधिकारीहरूले उपलब्ध गराएको २०७९/०४/०१ गतेदेखि पछाडि लेखापरीक्षण गर्दाको मिति २०८२/१२/२० सम्म उक्त संस्थाले प्रयोग गरेको सफ्टवयेर, चार खाता (सहकारीले प्रयोग गर्ने आम्दानी, खर्च, सम्पत्ति र दायित्व), रजिस्टर, सेयर किताब, भौचर, भर्पाइ, नगद रसिदलगायतका प्रतिवेदनमा उल्लेख भएको विवरणका आधारमा अनियमितता भएको निवेदनमा दाबी गरिएको छ ।
उक्त लेखा परीक्षण प्रतिवेदन अनुसार उक्त संस्थामा हुनुपर्ने पुँजी र कोषको स्रोत जम्मा रकम एक करोड ८३ लाख २३ हजार ९० रुपैयाँ, ६६ पैसा हो । सोही रकमबाट ५५ लाख ६ हजार १ सय ६४ रुपैयाँ विभिन्न मानिसहरूलाई ऋण प्रवाह गरेको, संस्थाको पुँजी र कोषको स्रोत रकमबाट संस्थाका उपाध्यक्ष राजु थापाले व्यक्तिगत रूपमा १८ लाख ९१ हजार १८२ रुपैयाँ ऋण लिई संस्थाको रकम अपचलन गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।
सोही पुँजी र कोषको रकमबाट अध्यक्ष प्रदिप महतोले व्यक्तिगत रूपमा ४८ लाख ६ हजार ५५८ रुपैयाँ ४५ पैसा लगेको र संस्थामा खर्च भएर गएको देखाइएको छ । कार्यालय सञ्चालन गर्दा चाहिने सरसमाग्रीहरू जोड्न ९ लाख ५० हजार ६८२ रुपैयाँ ९९ पैसा गरी जम्मा १ करोड ३१ लाख ५४ हजार ५८८ रुपैयाँ ६४ पैसाको हरहिसाब देखिएको तर बाँकी संस्थाको पुँजी र कोषको स्रोत रकमबाट ५१ लाख ६८ हजार ५०२ रुपैयाँ २ पैसाको अभिलेख नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाबाट उक्त रकम अनियमितता/अपचलन भएको देखिँदा पदाधिकारीहरूको सामूहिक दामासाहीबाट उठाउनुपर्ने निवेदनमा भनिएको छ ।
जम्मा ३४३ जना बचतकर्ताको ६६ लाख ९९ हजार ४९२ रुपैयाँ संस्थाको पुँजी तथा कोषमा छ । सोबाहेक बचतकर्ता भएका भए र निजहरूले रकम फिर्ता नपाए रकम बढ्न जाने पनि उजुरीमा उल्लेख छ ।
लेखापरीक्षण गरेको मितिसम्मको हरहिसाबअनुसार संस्थाका पदाधिकारी (ऋणी बाहेक) हरूबाट तत्काल ९९ लाख ७५ हजार ६० रुपैयाँ ४७ पैसा दाखिला हुनुपर्ने निवेदनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण