अमेरिकाले आफ्नो खाल्डो आफैँ खन्दैछ
सारांश
- अमेरिकी ध्रुवीकरणले लामो 'गभर्मेन्ट शटडाउन' निम्त्यायो, जसले चीनको उदयलाई चुनौती दिन्छ।
- ट्रम्पको नीतिका कारण अमेरिकाले विश्व व्यवस्थामाथि प्रश्न उठाइरहेको छ, चीन यथास्थिति कायम राख्न चाहन्छ।
- चीनको आन्तरिक आवश्यकता र अमेरिकाको गलत नीतिका कारण 'थुसिडाइडिस ट्रयाप'को खतरा बढेको छ।
अमेरिकामा विगत एक दशकदेखि जारी विद्वेषपूर्ण ध्रुवीकरणले भर्खरै हामीलाई आजसम्मकै सबैभन्दा लामो ‘गभर्मेन्ट शटडाउन’ उपहारमा दिएको छ । अमेरिका धेरै जसो मुद्दामा व्यापक ध्रुवीकृत छ । हरेकजसो मुद्दामा आपसमा फरक धारणा राख्ने ‘रिपब्लिकन’ र ‘डेमोक्र्याट’ दुवै पक्ष एउटा सन्दर्भमा भने सुरुबाटै समान विश्वास राख्छन् । दुवै पक्षलाई लाग्छ, अमेरिका आफैले बनाएको तथा अगुवाइ गरिरहेको विश्व व्यवस्थामाथि चीनबाट खतरा छ ।
अर्थात् चीन यो विश्व व्यवस्थाको शिरमा रहेको अमेरिकालाई हटाएर आफू आउन चाहन्छ ।
यस्तो बुझाइलाई समेटेर भन्न सकिने एउटा शब्दावली छ– ‘थुसिडाइडिस ट्रयाप’ अर्थात् ‘थुसिडाइडिसको पासो’, जसले स्थापित शक्ति र उदाउँदो शक्तिबिचको हिंसात्मक झडपलाई बुझाउँछ । इतिहासकार थुसिडाइडिसको समयमा उदाउँदो एथेन्सले स्पार्टाको दबदबालाई चुनौती दिएको थियो । उनीहरू बिच युद्ध भयो र अन्ततः एथेन्स हाबी भयो । इतिहासमा यस्तो प्रक्रिया दोहोरिरहन्छ ।
उदाउँदो शक्तिको महत्त्वाकाङ्क्षा र आक्रामकता प्रायजसो अवस्थामा रक्तपातमै गएर टुङ्गिने गरेको छ ।
ट्रम्पको दोस्रो कार्यकालले यस्तो मान्यतालाई नै उल्टाइदिएको छ । चौतर्फी अन्यौलता सिर्जना गर्दै उनको प्रशासनले आफैले बनाएको विश्व व्यवस्थाका जरा र हाँगा काटिरहेको छ । जताततै आक्रमणको धम्की, जसलाई पनि मनमौजी तरिकामा सजायजन्य भन्सार महसुलको प्रयोग तथा लामो समयदेखिका साझेदारहरू परित्याग जस्ता उत्ताउला गतिविधि गरिएको छ ।
उता चीन भने यसको ठिक उल्टो, यथास्थितिलाई कायम राख्न हरदम जोड गरिरहेको छ । अनौठो त के छ भने थुसिडाइडिस ट्रयाप तन्काउने काम चीनले नभएर अमेरिकाले पो गर्दैछ । विश्व मञ्चमा अमेरिका आफैले आफैलाई हराउन लागेको छ ।
लेखक जेनोबिया चानका अनुसार ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ चीनको वैश्विक महत्त्वाकाङ्क्षा भन्दा पनि आन्तरिक आवश्यकताका आधारमा सञ्चालित पहल हो
चीनको आकाङ्क्षाबारे गलत बुझाइको जगमा बनेको तथा अमेरिकी राजनीतिमा धेरै अघिदेखि कायम रहेको त्यस्तो द्विपक्षीय सहमतिमा अब भने तनावको सङ्केत देखिन थालेको छ । भर्खरै मात्र अमेरिकी विश्वविद्यालय एमआईटीको जर्नल ‘इन्टरनेशनल सेकुरिटी’ मा पूर्वी एसिया मामलाका तीनजना विज्ञले तयार गरेको एउटा सनसनीपूर्ण आलेख प्रकाशित भएको छ ।
आलेखको आशय पनि त्यस्तै छ । लेखकहरूको तर्क छ, ‘चीन अहिले शासनको स्थिरता चाहने अर्थात् यथास्थितिलाई कायम राख्न चाहने शक्ति हो ।’ उनीहरू थप्छन्, ‘साथै चीन अब पनि आफ्नै आन्तरिक मामलामा केन्द्रित हुन्छ । बाह्य मामलामा धेरै ध्यान दिँदैन ।’

मिहिन ढङ्गले गरिएको यो विश्लेषण ठुलो सङ्ख्याका चिनियाँ दस्ताबेज, प्रकाशन, आधिकारिक भाषण तथा विद्यालयका पाठ्यक्रमहरुको मसिनो अध्ययनबाट तयार पारिएको हो । यसका निष्कर्षहरू सबैलाई अचम्म पार्ने खालका छन् । चीनले ताइवान तथा अन्य सीमा क्षेत्रमा रहेका केही भूभाग बाहेक अन्यत्र भौगोलिक चासो नै राख्दैन । आलेखमा उनीहरू भन्छन्, ‘चीनका उद्देश्य स्पष्ट छन् । स्थायी छन् । साथै सीमित छन् ।’
चीनको विदेश नीति विचारधाराको निर्यात गर्नेमा भन्दा पनि आफ्नै मुलुकमा कम्युनिस्ट पार्टीको शक्ति बढाउँदै लैजानेमा बेसी लक्षित छ । बाहिरबाट अवलोकन गर्नेहरूले देखेका आक्रामक चालहरू प्रायः आन्तरिक समस्या समाधानमा लक्षित हुन्छन् ।
उदाहरणका लागि ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ लाई हेर्न सकिन्छ । धेरैले यसलाई विकासोन्मुख देशहरूको पक्षधरता आफूतर्फ तान्ने एक हदसम्मको साम्राज्यवादी प्रयास मान्छन् । तर अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ तथा माथि उल्लेखित आलेखका एक जना लेखक जेनोबिया चानका अनुसार ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ चीनको वैश्विक महत्त्वाकाङ्क्षा भन्दा पनि आन्तरिक आवश्यकताका आधारमा सञ्चालित पहल हो ।
उनी भन्छिन्, ‘यो मूलतः चीनको आन्तरिक मागका कारण अघि सारिएको हो । वैश्विक वित्तीय सङ्कट पश्चात् देखिएको अधिक औद्योगिक क्षमताका कारण यस्तो योजना ल्याइएको हो ।’ उनका अनुसार बाह्य मुलुकमा गरिएको धेरै जसो त्यस्तो लगानीलाई चीनले आफ्नो वैश्विक महत्त्वाकाङ्क्षा पूर्तिको साधनका रूपमा प्रयोग गर्दैन । साझेदार मुलुकहरूले चीनको उही पुरानो ‘एक चीन नीति’ मान्नुपर्ने तथा ताइवानको स्वतन्त्रतालाई मान्यता दिन नहुनेमा मात्रै खास चासो छ । चीनले खासमा विकासशील मुलुकहरूलाई आफू र अमेरिका मध्ये एउटा छान्न दबाबसमेत दिएको छैन ।
इतिहासका पृष्ठहरू ओरालो लागेका महाशक्तिले आक्रामक व्यवहार देखाएका कथाले भरिएका छन् । १६औँ शताब्दीमा स्पेनको धर्मयुद्धमा भएको सैन्य मूर्खता, अटोमन साम्राज्यले आखिरी दिनहरूमा अँगालेको जातीय राष्ट्रवाद, दुई वटा विश्वयुद्धको बिचको अवधिमा बेलायतले साम्राज्यवादी हैसियत थेग्न गरेको प्रयत्न लगायतका बग्रेल्ती उदाहरणहरू छन् ।
आफ्नो वरपर तथा आन्तरिक रूपमा पनि यसको आक्रामकताले एसियाको शान्तिलाई खतरामा पार्छ । साथै आधारभूत मानव अधिकारको उल्लङ्घन समेत गर्छ । समुद्री खानाको आयात रोक्ने र आफ्ना नागरिकहरूलाई त्यहाँ यात्रा नगर्न चेतावनी दिने लगायत जापानसँगको यसको बढ्दो विवाद हेर्दा चीनले कति सजिलै धम्कीको प्रयोग गर्दै कसरी आफ्नो काम गराउन सक्छ भन्ने पनि देखाउँछ ।
जति नै कठोर देखिए पनि यस्ता कार्यहरू विश्व व्यवस्थाको आधारभूत पुनर्गठन गर्न पर्याप्त हुँदैनन् । चीनले अहिले विद्यमान प्रणाली भित्रै रहेर ऐतिहासिक दाबी तथा चासोको सम्बोधन गराउने विषयमै जोड दिइरहेको देखिन्छ । ट्रम्पको नेतृत्वमा रहेको अमेरिका आफै अन्तर्राष्ट्रिय नियमहरूमा छेडखानी गरिरहेको अवस्थामा उ अहिले चीनका दाबीहरूको विरोध गर्ने स्थितिमा छैन ।
यी दुई मुलुकबिचको भिन्नता महत्त्वपूर्ण छ । यथास्थितिको रक्षा गर्न चाहने शक्तिले आफू जति नै आक्रामक भएता पनि संसारको पुनर्संरचना गर्न खोज्ने शक्तिको दाँजोमा फरक चुनौतीहरू प्रस्तुत गरिरहेको हुन्छ ।
आजका दिनमा एउटै शक्तिले मात्रै संसार चलाउँछ भनी सोच्नु त्यति सान्दर्भिक हुँदैन । आफ्नो नयाँ पुस्तक ‘फस्र्ट एमोङ्ग इक्वाल्स’ मा एम्मा एश्फोर्ड लेख्छिन्, ‘अमेरिका ओरालो लागेको छ तथा चीन उकालो लागेको छ भन्ने कुरा त्यति सहज विषय होइन । भलै चीन उदाइरहेको होला तर विगतका दशकको तुलनामा एउटै मुलुकसँग शक्ति कायम छैन ।’ उनी थप्छिन्, ‘अमेरिका र चीन पक्कै पनि प्रभावशाली त छन् तर शीतयुद्धकालका महाशक्तिहरू बराबर भने पटक्कै छैनन् ।’
त्यसैले अबको भविष्य द्विध्रुवीय झडपको नभएर बहुध्रुविय जटिलताले भरिएको हुनेछ ।
भन्सार महसुलहरू झट्ट हेर्दा वैश्विक जस्ता देखिन्छन् तर तिनीहरूको मारमा भने स्थानीय रूपमा अमेरिकी नागरिक नै पर्छन् ।
ट्रम्पले यस्तो यथार्थलाई आत्मसात् गरेका छैनन् । उनका धेरै धम्कीहरू मध्ये पछिल्लो समय उनले नाइजेरिया विरुद्ध सैन्य कारबाही गर्ने भनी उठाएको सन्दर्भलाई उनको निराशाको सबैभन्दा प्रस्ट लक्षणका रूपमा हेर्न सकिन्छ । उनले त्यहाँ ‘इसाईहरूको हत्या गर्न दिइएको छ’ भन्ने आरोपसहित त्यस्तो धम्की दिएका थिए ।
अमेरिकाले सधैँ आफ्नै नियमहरूका आधारमा खेल खेल्ने गरेको छ । तर आफैले खेलेको खेलको नियमलाई धज्जी उडाउन समेत ट्रम्पले कुनै कसर बाँकी राखेनन् । राजनीतिशास्त्री प्रताप भानु मेहताका अनुसार, ‘अन्तर्राष्ट्रिय कानुनका केही नियमहरू छन्, जुन हामीलाई लागू हुँदैनन्’ भन्नु र ‘मलाई साँच्चै अन्तर्राष्ट्रिय कानुन के हो भन्ने कुराको वास्ता छैन’ भन्नु नितान्त फरक विषय हुन् ।
यहाँ केवल ट्रम्पको मात्रै कुरा होइन । गत दुई दशकयता चलेका सबै खाले अमेरिकी हस्तक्षेपकारी आक्रमणहरू आफैमा अमेरिकी पतनका सङ्केत हुन् । प्रगतिशील विदेश नीतिका अध्येता तथा ‘द राइभलरी पेरिल’ का लेखक भान ज्याक्सन भन्छन्, ‘यदि हामी आफूलाई खतरा सिर्जना नगरेका सानातिना र असम्बन्धित देशहरूमा आक्रमण गरेर आफ्नो वर्चस्व जोगाउने बाटोमा छौँ भने हामी ओरालो लाग्दैछौँ भन्ने बुझ्नुपर्छ ।’
उनी थप्छन्, ‘इतिहासका यी चक्रहरूमा सधैँ यस्तै हुने गरेको छ । जब कुनै प्रमुख शक्तिले विश्वव्यापी रूपमा त्यस्ता खाले सैन्य गतिविधिमा लगानी गर्न तथा सहभागिता जनाउन थाल्छन्, त्यस्तो बेला उदाउँदो शक्तिहरूले विश्वव्यापी रूपमा अझ महत्त्वपूर्ण आर्थिक भूमिका खेल्दै आफूलाई अगाडि बढिरहेका हुन्छन् ।’
इतिहासका पृष्ठहरू ओरालो लागेका महाशक्तिले आक्रामक व्यवहार देखाएका कथाले भरिएका छन् । १६औँ शताब्दीमा स्पेनको धर्मयुद्धको रूपमा भएको सैन्य मूर्खता, अटोमन साम्राज्यले आखिरी दिनहरूमा अँगालेको जातीय राष्ट्रवाद, दुई वटा विश्वयुद्धको बिचको अवधिमा बेलायतले व्यर्थको साम्राज्यवादी हैसियत थेग्न गरेको प्रयत्न लगायतका बग्रेल्ती उदाहरणहरू छन् ।
यी सबैको अन्त्य उस्तै ढङ्गले भएको छ । उनीहरूको तीव्र गतिमा पराजय तथा वैश्विक मञ्चमा इज्जत गुम्ने अवस्था सिर्जना भएको छ ।
अहिले अमेरिकाको हकमा त्यस्तै हुँदै छ भन्न त सकिन्न । तर अमेरिकाको चालामाला गतिलो छैन । ट्रम्पले अन्य मुलुकमा सैन्य आक्रमणको धम्की दिइरहेका छन् तर इरानका आणविक अखडामा भएको छोटो आक्रमण तथा क्यारेबियन क्षेत्रमा साना डुङ्गामा गरेको हमला बाहेक उनी आफ्नो देश बाहिर त्यति धेरै संलग्न देखिँदैनन् । बरु उनलाई अमेरिकी नागरिकहरूलाई नै नियन्त्रण गर्न सैन्य परिचालन गर्नुमा धेरै चासो छ ।

उनले बेला–बेला यस्तो आन्तरिक परिचालनलाई बाह्य परिचालनका लागि तालिम गरेको पनि भन्ने गरेका छन् । तर उनले डेमोक्र्याटिक बहुल प्रान्त र क्षेत्रहरूमा गरेको परिचालन आन्तरिक नियन्त्रणकै लागि हो भन्ने बुझ्न त्यति गाह्रो छैन ।
त्यसैगरी उनले लागू गरेको आक्रामक भन्सार महसुलको विश्वसँग जति सम्बन्ध छ जस्तो देखिन्छ खासमा त्यति पक्कै छैन । उनको यो प्रपञ्च अमेरिकालाई ‘लुट्ने’ देशहरूलाई बराबर हैसियतमा झार्ने तथा अमेरिकीहरूलाई हानि पुर्याउने देशहरूलाई दण्ड दिनका लागि हो भनिएको थियो । फेन्टानिल प्रकरण यसको प्रमुख उदाहरण हो ।
तर ट्रम्पले गरेको भन्सार महसुलको प्रयोगबारे हालै अमेरिकी सर्वोच्च अदालतले धेरै सन्दर्भबारे तार्किक रूपमा स्पष्ट पारेको छ । अदालतका अनुसार यी करहरूले खासमा त्यहाँको कांग्रेसमा निहित संवैधानिक शक्तिलाई छलेर अमेरिकी नागरिकहरूबाटै नगद उठाउँछन् । छोटकरीमा भन्दा भन्सार महसुलहरू झट्ट हेर्दा वैश्विक जस्ता देखिन्छन् तर तिनीहरूको मारमा भने स्थानीय रूपमा अमेरिकी नागरिक नै पर्छन् ।
यस्तो कदमले अनौठो विडम्बना सिर्जना गर्छ । चीनको प्रभावलाई रोक्नुको सट्टा ट्रम्पको नेतृत्वमा रहेको अमेरिका पनि उल्टै चीन जस्तै देखिन जान्छ । अमेरिका अहिले त्यही दिशामा अघि बढिरहेको छ । अर्थात् आफ्नो नेतृत्व सुरक्षित राख्नमा केन्द्रित, आफ्नो जनसङ्ख्या नियन्त्रण गर्न जुनसुकै रणनीतिहरू प्रयोग गर्ने, वैश्विक नेतृत्वदायी भूमिकामा थोरै चासो देखाउने तथा राष्ट्रवादी उन्मादको लहरमा आफ्नो शक्तिशाली नेतालाई उचाल्ने जस्ता काम गरिरहेको छ ।
जसरी ट्रम्प आफ्नो निर्वाचन अभियानताका चीनको निन्दा गर्थे साथै उनको वरपर रहेका केही व्यक्तिहरू चीनको शक्ति कमजोर बनाउनका लागि जुन नीतिहरूको चर्चा गर्थे वास्तवमा उनीहरू त्यस्तो गरिरहेकै छैनन् । खासमा ट्रम्प त सी चिनफिङलाई खुसी पार्न लागेका छन् ।
ट्रम्प आफू पनि सी जस्तै असीमित शक्ति हत्याउन चाहन्छन् । उनले गत महिना कोरियामा सी चिनफिङसँगको भेटमा उनको प्रशंसा गदै, ‘राष्ट्रपति सी महान् राष्ट्रका महान् नेता हुन्’ भनेका थिए ।
उनको प्रशंसा यस्तो समयमा आएको छ, जुनबेला अमेरिका भने आफैले सिर्जना गर्न ठुलो भूमिका खेलेका बहुपक्षीय संस्थाहरू संयुक्त राष्ट्र संघ, विश्व स्वास्थ्य संगठनलगायत अन्यबाट आफुलाई पछि सार्दै गएको छ । ट्रम्पले यसै सप्ताहान्तबाट दक्षिण अफ्रिकामा आयोजना हुन लागेको ‘जी–२०’ को बैठकमा आफू उपस्थित नहुने घोषणा केही महिना अघि नै गरिसकेका थिए ।
यसमा उनले आफ्नो उपराष्ट्रपति पठाउने भनेका छन् । उपराष्ट्रपति जेडी भान्ससँग अमेरिकी साझेदारहरुको विगत अनुभव त्यति राम्रो छैन । उनले युरोपेलीहरूलाई अभिव्यक्ति स्वतन्त्रताका बारेमा व्याख्यान दिए । युक्रेनका राष्ट्रपति जेलेन्स्कीको कडा आलोचना गर्दै गाली गरे । जोहान्सबर्गमा उनको प्रस्तुति कस्तो होला भनी अनुमान गर्न अप्ठेरो छैन ।
तर उनले त्यहाँ कस्तो बोल्ने छन् भन्ने अब हामीलाई कहिल्यै थाहा हुने छैन । ट्रम्पले यसै महिना अचानक अर्को घोषणा गर्दै अमेरिकाले उक्त बैठक पूर्ण रूपमा बहिष्कार गर्ने बताइसकेका छन् । उनले पूर्वाग्रही रूपमा दाबी गर्दै गोरा दक्षिण अफ्रिकीहरू त्यहाँका बहुमत काला जातिको हातबाट उत्पीडन र नरसंहारकै स्तरको हिंसा बेहोरिरहेको भन्दै त्यस बैठकमा अमेरिका उपस्थित नहुने बताए ।
अबका दिनमा अमेरिकाले या त उदाउँदो राष्ट्रहरुसँग समतामूलक बहुध्रुवीय संसार निर्माण गर्न सम्मानित साझेदारका रूपमा व्यवहार गर्नुपर्नेछ नत्र आफ्नो प्रभुत्व कायमै राखेर जुनसुकै बेला ध्वस्त हुनसक्ने शक्ति बन्नमा लाग्नु पर्नेछ । हामीलाई कुन बाटोले शान्तितर्फ र कुनले विनाशतर्फ डोर्याउँछ भन्ने बुझाउन इतिहास नै काफी छ ।
‘मानव अधिकार उल्लङ्घनका कामहरू जारी रहेसम्म कुनै पनि अमेरिकी सरकारी अधिकारी उपस्थित हुने छैनन्’, ट्रम्पले सामाजिक सञ्जालमा लेखे । त्यसपछि बिहीबार उनको प्रशासनले फेरि आफ्नो कुरा फेर्दै सानो तथा निम्न–स्तरीय प्रतिनिधिमण्डल पठाउने भनेको छ । यद्यपि त्यो प्रतिनिधिमण्डलले शिखर सम्मेलनमा हुने छलफलमा भने भाग लिने छैन ।
उता चीन भने धेरै लामो र व्यवस्थित खेल खेलिरहेको छ । चीनका राष्ट्रपति सीका प्रमुख दूतका रूपमा प्रधानमन्त्री ली चियाङ जोहान्सबर्ग पुग्दैछन् । उनको साथमा ठुलो प्रतिनिधिमण्डल त्यहाँ जानेछ । उनी विश्वका प्रमुख अर्थतन्त्रका प्रमुखहरूसँग उदाउँदो वहुध्रुवीय विश्व व्यवस्थाका समस्या तथा सम्भावनाबारे छलफल गर्नेछन् ।
आफ्नो प्रभुत्व कमजोर हुँदै जाँदा अमेरिका सामु अब एउटा विकल्पको छनोट गर्नैपर्ने अवस्था आएको छ । अबका दिनमा अमेरिकाले या त उदाउँदो राष्ट्रहरूसँग नवीन तथा थप समतामूलक बहुध्रुवीय संसार निर्माण गर्न सम्मानित साझेदारको रूपमा व्यवहार गर्नुपर्नेछ नत्र आफ्नो प्रभुत्व कायमै राखेर महंगो तथा जुनसुकै बेला ध्वस्त हुनसक्ने शक्ति खोज्नमा लाग्नेछ ।
ट्रम्पले दोस्रो विकल्प रोजेका छन् । उता चीनले भने पहिलो विकल्प रोज्न खोजिरहेको देखिन्छ । हामीलाई कुन बाटोले शान्ति र समृद्धितर्फ डो¥याउँछ तथा कुनले विनाशतर्फ डोर्याउँछ भन्ने बुझाउन इतिहास नै काफी छ । चालामाला हेर्दा अमेरिका त आफै ‘थुसिडाइडिस ट्रयाप’ मा पर्ला जस्तो देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण