बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
निबन्ध

आफूले आफैलाई चिन्न नसक्दा

शनिबार, १३ मङ्सिर २०८२, १९ : ००
शनिबार, १३ मङ्सिर २०८२

सारांश

  • लेखमा आत्म-पहिचानको महत्त्व र यसको खोजीको यात्रालाई उजागर गरिएको छ।
  • मानिसले आफूलाई चिन्ने क्रममा समाज, परम्परा र इच्छाहरूले बनाएका आवरणहरू हटाउनुपर्छ।
  • लेखकका अनुसार, आफूलाई पूर्ण रूपमा चिन्न नसकिएला तर निरन्तरको खोज नै जीवनको सुन्दरता हो।

प्रत्येक बिहान, ऐनामा आफ्नै प्रतिविम्ब देख्दा, एउटा अनौठो प्रश्न मनको गहिराइबाट उठेर आउँछ– ‘के मैले साँच्चै आफूलाई आजसम्म चिन्न सकेको छु ?’

यो प्रश्न कुनै साधारण जिज्ञासा होइन । यो त सदियौँदेखि मानव मनलाई मन्थन गरिरहेको, भित्रभित्रै कम्पन गराइरहेको, मनको अँध्यारो मझेरीमा लुकेको एउटा रहस्यको आह्वान हो । हामी संसारका अनगन्ती दृश्य, ध्वनि र मानिसलाई चिन्ने प्रयास गर्छौँ, तर जसले यी सबै चिन्ने क्षमता राख्छ, त्यही ‘स्वयं’ बाट हामी कति टाढा छौँ ?

यथार्थतः नचिनेर पनि चिनिएजस्तो चिनिएर पनि फेरि नचिनिएजस्तो । अरूलाई चिन्न नसक्दा आफैँलाई चिन्न सकिँदैन । आफैँलाई चिन्न नसक्दा अरूलाई झन् कहाँ चिन्न सक्नु  !?

कलात्मक रूपमा हेर्ने हो भने, मानिसको आत्म–पहिचान एउटा अधूरो चित्रकला जस्तै हो । हरेक अनुभव, हरेक चोट, हरेक सफलता आदिले त्यस चित्रमा एउटा नयाँ रङ थप्छ । कहिलेकाहीँ हामी खुसीको चम्किलो रङले आफूलाई सुन्दर देखाउन खोज्छौँ, तर जब दुःखको कालो छाया पर्छ, तब मात्र थाहा हुन्छ कि त्यो अँध्यारो रङले नै चित्रलाई वास्तविक गहिराई दिएको रहेछ ।

भावनात्मक धरातलमा, ‘आफैँलाई चिन्नु’ भनेको आफ्ना सबै कमजोरी, डर र अपूर्णतालाई अँगाल्नु हो । मैले जुन ‘म’ लाई पूर्ण, सफल र निर्दोष देखाउन खोजिरहेको छु, त्यो त केवल समाजले बनाएको एउटा मुखौटा मात्र हो । साँचो ‘म’ त त्यो हो, जसले आफ्नो गल्ती स्वीकार गर्छ । जो भत्किएपछि फेरि उठ्न सक्छ र जो निरन्तर आफूभित्रको सत्यको खोजीमा भौँतारिरहन्छ ।

अन्ततः यो प्रश्नको पूर्ण उत्तर कहिल्यै नपाइएला । सायद, पूर्ण रूपमा आफूलाई चिन्नु भनेको जीवनको अन्त्य हुनु हो । तर यसै अपूर्णतामा नै जीवनको सुन्दरता लुकेको हुन्छ । आत्मबोधको यो यात्रा एउटा पवित्र अनुष्ठान हो, जसले हामीलाई क्षण–क्षणमा आफूसँग जोड्छ ।

तसर्थ, आज म ऐनामा देखिने प्रतिविम्बलाई हेरेर भन्छु– ‘होइन, मैले आफूलाई पूर्ण रूपमा चिनिसकेको छैन । म को हुँ, म के हुँ ? तर म प्रत्येक साससँगै आफूलाई चिन्न र बुझ्नका लागि तयार छु ।’ यही अपूर्ण ज्ञानको यात्रा नै जीवनको सबैभन्दा ठुलो कला, सबैभन्दा गहिरो साहित्य र दर्शन पनि हो । यो जिज्ञासा बाँकी रहिरहँदा, मेरो जीवनको यात्रा सार्थक भइरहने निश्चित छ ।

अपितु, आफूभित्रको अपरिचित व्यक्ति हामी आफैँ हो । के तपाईँले साँच्चै आफूले आफैँलाई चिन्नुभएको छ ? के साँच्चै मैले आफूले आफैँलाई आजसम्म चिन्न सकेको छु त ? एक पटक गम्भीर मुद्रा–मनले मनन–महसुस गरौँ ।

यी प्रश्नहरू मनभित्र उठ्दा, संसारको सारा कोलाहल एकाएक मौन बन्छन् । मानौँ हावाको सुस्केरा पनि उत्तर खोज्दै कान ठाडो पारेर सुन्न उत्सुक भएको होस् । आफूभित्रको एउटा गहिरो नीरवता बोल्न खोज्छ, तर त्यो आवाज शब्दमा व्यक्त हुँदैन ।

आफूलाई चिन्नु कति सहज शब्द ! तर यही सहज शब्दभित्र लुकेका हुन्छन् जीवनका सबैभन्दा जटिल रहस्यहरू ! वास्तवमा चिनेर पनि नचिनिएको, नचिनेर पनि चिनिएको अवस्थाबाट हाम्रा दैनन्दिन व्यतीत भइरहेका हुन्छन् । स्वयम्लाई चिनेपछि संसारमा अरू केही चिन्न बाँकी नै रहँदैन । आफूले आफैँलाई चिन्ने मान्छे यो संसारमा साह्रै कम होलान् ।

यहाँ कसले कसलाई चिनेको छ ?! जब कि आफूले आफैँलाई चिन्न बिर्सेको छ । धेरै जान्ने र बुझ्ने बेफुर्सदको दौडमा हामीले एउटा कुरा बिर्सिएका छौँ, जुन सबैभन्दा महत्त्वपूर्ण थियो । त्यो हो– हामीले अरूलाई चिनेको छ भन्छौँ; चिन्न खोज्छौँ; चिनेको बहाना गर्छौ । तर हामी आफूले आफैँलाई भने चिन्न बिर्सिरहेका हुन्छौँ ।’

आफूलाई चिन्नु भनेको आफ्नो बनावटी आवरणहरू क्रमशः फुकाल्नु हो । समाजले लगाइदिएको मुखुण्डो, परम्पराले थोपरेको अनुशासन अनि आफ्ना अनेकौँ इच्छाले बुनेको आकाङ्क्षाको जाल ! यी सबैको ओछ्यानभित्र कतै वास्तविक ‘म’ निदाइरहेको हुन्छ । तर हामीले आफूलाई चिन्न खोज्दा, त्यही खोजाइको क्रममा मन झस्किन्छ, डराउँछ अनि ‘चिन्नु न जान्नु, घचेटी माग्नु’ हुन्छ ।

आज चिनारीको पृष्ठभूमि र पहिचानको आवश्यकता छ । आवरणहरूको अन्त्य र ‘म’ को उदय हुनु जरुरी छ । यो अनन्त यात्रामा हामी ‘आफू’ को खोजीमा भौँतारिन्छौँ । अरूलाई चिनेको बनावटी बहाना गर्छौँ । यथार्थमा हामीले कसैलाई पनि चिनेका र बुझेका हुँदैनौँ । ‘चिनेको छु’ र ‘बुझेको छु’ भन्नु ‘भ्रम’ मात्रै हो । आफूले आफैँलाई बढ्तै ‘बुझक्कड’ बनाउने निरर्थक प्रयास मात्र हो ।

हाम्रो अस्तित्व एउटा प्याजजस्तो अमूर्त छ । यसको प्रत्येक तहमा समाज, परम्परा र इच्छाको पत्रैपत्रले बेरिएको छ । सबैभन्दा पहिले, हामी समाजले लगाइदिएको मुखुण्डो लगाउँछौँ । समाजले हामीलाई एउटा निश्चित भूमिका दिन्छ– असल नागरिक, सफल व्यवसायी, आज्ञाकारी सन्तान । यो मुखुण्डो यति स्वाभाविक लाग्छ कि हामी त्यही मुखुण्डोको हाँसो हाँस्छौँ, त्यही मुखुण्डोको आँसु बगाउँछौँ र हाम्रो जीवन बाहिरी स्वीकृति र प्रशंसा बटुल्ने दौडमा बित्छ ।

दोस्रो आवरण हो परम्पराले थोपरेको अनुशासन । धर्म, संस्कृति र पुस्तान्तरणले दिएका कठोर नियमहरूले हाम्रो चेतनाको घेरा कोरिदिन्छन् । ‘यसो गर्नुपर्छ’ र ‘यसो गर्नुहुँदैन’ भन्ने अदृश्य पर्खालभित्र हाम्रो स्वतन्त्रता पनि कैद भइरहेको हुन्छ । हामी ती अनुशासनहरूलाई प्रश्न गर्दैनौँ, किनकि प्रश्न गर्नु विद्रोह मानिन्छ र विद्रोह गर्नु डरलाग्दो एक्लोपन हुन्छ । बरु चुपचाप ‘चिनेको’ अभिनय गरिदिन्छौँ ।

तेस्रो आवरण शायद सबैभन्दा बलियो जाल, आफैँले बुनेको आकाङ्क्षाको जाल हो । यो हाम्रो आफ्नै सिर्जना हो– धनको भोक, शक्तिको लालसा, अप्राप्य सम्बन्धको तृष्णा । हामीले खुसीलाई भविष्यको कुनै उपलब्धिमा बाँधिदिन्छौँ र त्यस जालमा दिनरात फस्छौँ । यो आकाङ्क्षाको चमकदार जालोले वर्तमानमा रहेको वास्तविक ‘म’ माथि सधैँ ओझेलमै परिराख्छ ।

हामीले आफूलाई चिन्न खोज्दा, आत्म–अनुसन्धानको दैलो खोलिन्छ । त्यो भित्री ‘म’ को निद्रा भङ्ग हुन्छ । हाम्रो चेतन मनले भित्रको अज्ञात र अछुत सत्यलाई देख्न खोज्दा, त्यो वास्तविक ‘म’ झस्किन्छ, डराउँछ, फेरि छायाझैँ परिहाल्छ । यो डर ‘अपरिचित’ को होइन, ‘गुमाउने’ को डर हो । मुखुण्डो फुकालेपछि समाजले के भन्ला ? अनुशासन तोडेपछि म कहाँ उभिउँला ? आकाङ्क्षाको जाल च्यातेपछि मेरो अस्तित्वको आधार के होला ? अन्ततः यो डरले हामीलाई फेरि पुरानै आवरणभित्र फर्किन बाध्य पार्छ ।

आफूलाई चिन्नु भनेको युद्ध होइन, समर्पण हो– आवरणहरूको भ्रमबाट मुक्तिका लागि गरिने मौन स्वीकृति हो । हामी मुखुण्डो, अनुशासन र जाललाई कुनै ‘आवरण’ को रूपमा स्वीकार गर्न छाड्छौँ, त्यतिबेला तिनीहरूको शक्ति कम हुँदै जान्छ । अनि एकदिन, ती सबै पर्दाहरू पन्छाएर, हाम्रो वास्तविक ‘म’ निद्राबाट जाग्छ, डर छोडेर हाँस्न थाल्छ । त्यो हाँसोमा कुनै मुखुण्डोको प्रतिध्वनि हुँदैन, आत्म–प्रकाशको मधुर आवाज हुन्छ– ‘म’ यहाँ छु र ‘म’ पूर्ण छु ।

यही हो जीवनको सर्वोच्च कला, जहाँ मानिसले आफ्नो बाहिरी परिचय त्यागेर भित्री सारलाई अँगाल्छ । यही नै हो सच्चा आत्मिक समृद्धि । शायद आफूलाई चिन्नु भनेको आफैँलाई यथार्थ रूपमा देख्नु हो र त्यो दृश्य धेरैका लागि असह्य हुन्छ । अप्राप्य बन्छ । कसैलाई अप्रिय पनि लाग्न सक्छ ।

हामी आफूभित्रको यात्रामा कहिल्यै अन्तसम्म पुगेका हुँदैनौँ । हामीले सधैँ बाहिरको संसार हेर्दैमा अल्झिरह्यौँ, भित्रको संसार त अन्धकारमै छोड्यौँ । आफूलाई चिन्नु भनेको मनको लय सुन्ने अभ्यास हो । जुन लय घण्टाघरको घण्टीमा होइन, हृदयको मौनतामा पनि बज्छ । झरनाको झङ्कारमा मात्रै होइन अनुभूतिको सन्नाटामा पनि सुनिन्छ ।

त्यो लय कहिले आँसुले भिज्ने छ, कहिले हाँसोले झुल्किने छ; तर त्यो सुन्ने साहस चाहिन्छ । किनकि आफूलाई चिन्नु भनेको आफ्ना त्रुटी, कमजोरी र पीडाहरूसँग आँखा मिलाउनु पनि हो । आफूभित्रको असत्यलाई नस्विकारेसम्म सत्य देखिँदैन ।

हुन त जीवन भनेकै आफूलाई बिस्तारै चिन्दै जाने एउटा लामो प्रक्रिया पनि हो । त्यहाँ यात्रामा कुनै अन्तिम गन्तव्य हुँदैन । हामी जन्मदेखि मृत्युबिचको प्रत्येक अनुभवमा आफूलाई पुनः खोज्दै, पुनः परिभाषित गर्दै अगाडि बढिरहेका हुन्छौँ ।

आजको ‘म’ कालको अर्को पाटोमा गएर फेरि नयाँ अनुहार पाउँछ, नयाँ सोच पाउँछ । त्यसैले शायद, आफूलाई पूर्णरूपमा चिन्न सक्ने कुनै दिन आउने छैन । तर जीवनको आखिरसम्म खोजिरहनु नै जीवनको सुन्दरता हो ।

शायद यही खोजभित्र जीवनको अर्थ लुकेको हुन्छ । जुन दिन मैले आफूभित्रको ‘छाया’ सँग डर बिना संवाद गर्न सकेँ, जुन दिन मैले ऐनामा देखिएको अनुहारलाई अपरिचित नभई आफ्नै रूपमा स्वीकार गर्न सकेँ, त्यो दिन म निर्धक्क भनुँला– ‘मैले अब बल्ल केही हदसम्म आफैँलाई चिन्दैछु । र, अरूहरूलाई पनि चिन्ने कोसिस गर्न थाल्दैछु । आफूलाई चिन्न नसक्दाको कमजोरी स्विकार्ने छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानेन्द्र विवश
ज्ञानेन्द्र विवश
लेखकबाट थप