शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महाधिवेशनमा प्रतिस्पर्धा गर्न चाहनेले राम्रोसँग गर्न पाउँछ : ओली

‘सङ्गठनात्मक नीति परिवर्तन हुँदैन,राजनीतिक प्रतिवेदनमा हेरफेर हुँदैन’
आइतबार, १४ मङ्सिर २०८२, १५ : ०२
आइतबार, १४ मङ्सिर २०८२

सारांश

  • एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशनले सङ्गठनात्मक नीति र राजनीतिक प्रतिवेदन हेरफेर नगर्ने बताए।
  • ओलीले महाधिवेशनमा प्रतिस्पर्धा खुला हुने र सहमतिमा अघि बढ्न आग्रह गर्दै एकताको महाधिवेशन हुने बताए।
  • उनले विधानमा ठुलो परिवर्तन नहुने र महाधिवेशनले नीति र नेतृत्व प्रदान गर्ने कुरामा जोड दिए।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११ औँ राष्ट्रिय महाधिवेशनले पार्टीको सङ्गठनात्मक नीति र राजनीतिक प्रतिवेदन हेरफेर र परिवर्तन नहुने बताएका छन् । साथै ओलीले महाधिवेशनमा राजनीतिक प्रतिस्पर्धा गर्न खुला छाडिने समेत बताएका छन् । आइतबार पार्टी कार्यालयमा महाधिवेशनको लोगो सार्वजनिक गरेपछि सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘महाधिवेशनमा मतदान हुन्छ । कसैले मतदान गर्न नदिएर, नभएर सर्वसम्मति गर्नुपर्छ भन्ने नाममा सेन्टिमेन्टलको कुरा हुँदैन, प्रतिस्पर्धा खुला हुन्छ । प्रतिस्पर्धा गर्न चाहनेले राम्रोसँग गर्न पाउँछ’, ओलीले भने– ‘तर अध्यक्षको हैसियतले मेरो आग्रह के हुन्छ भने जसले छाड्नुपर्छ र जसले बस्नुपर्छ सहमतिका साथ गरौँ ।’

ओलीले एमालेमा डेमोक्रेसी छैन भन्ने गरिए पनि उनले एकताबद्ध भएर जानुपर्ने भन्दै एक अर्कामा आलोचना वा खुइल्याउने काम नगर्न आग्रह गरे ।

उनले प्रतिस्पर्धालाई नराम्रो नमानिने भन्दै रोजेर र छानेर नै ल्याइएको दाबी गरे । ‘यसअघि नै हामीले नीतिगत रूपमा देशको व्याख्या विश्लेषण गरेका छौँ । ३ महिना अघि नै हामीले काम, सफलता र कमी कमजोरीको समीक्षा गरेर राजनीतिक प्रस्ताव पारित गरेका छौँ’, ओलीले भने– ‘सङ्गठनको अवस्था कस्तो छ त्यो पनि गरिसकेका छौँ । अहिले सङ्गठनात्मक नीतिमा कुनै परिवर्तन गर्नुपरेको छैन, भर्खरै विधान महाधिवेशनले गरेका छौँ । अब राजनीतिक प्रतिवेदनमा कुनै हेरफेर गरिरहनुपर्ने अवस्था छैन । किनभने भर्खरै महाधिवेशनले गरिसकेको छ ।’

ओलीले विधानमा ठुलो परिवर्तन गर्नुपर्ने अवस्था पनि नरहेको बताए । ‘केही सानोतिनो रहेछ भने छोटो विधिबाट गरिनेछ । लामो डिस्कस हुनेछैन’, ओलीको भनाइ छ ।  

उनले महाधिवेशनले नीति र सङ्गठनात्मक संरचना अघि बढाउने नेतृत्व प्रदान गर्ने भन्दै महाधिवेशन प्रतिनिधिले विवेक प्रयोग गरेर फैसला दिने विश्वास गरे ।

‘यसमा कुनै असहमति राख्नुपर्ने ठाउँ पनि छैन, र आवश्यकता पनि छैन । एकताको महाधिवेशनका साथ अघि बढाइनेछ । महाधिवेशन पुनर्गठन र पुनर्संरचनाको थलो त हो तर तपाईं त्यही ठाउँमा बसेर खोलो छुन सक्नुहुन्छ तर पानी त्यही ठाउँबाट पटक पटक छुन सकिँदैन’, ओलीको भनाइ छ ।  

ओलीले पार्टीभित्र उठ्दै आएको नेतृत्व हस्तान्तरण र पुस्तान्तरण हुनुपर्छ भनेर जोडदार रुपमा भनिरहनुनपर्ने भन्दै आवश्यकता अनुसार हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप