प्रहरीमा एसएसपीको ७ सिट रिक्त, १७ जना प्रतिस्पर्धी
सारांश
- नेपाल प्रहरीमा एसएसपीको ७ पद रिक्त भएको छ, जसमा बढुवाका लागि १७ एसपी प्रतिस्पर्धामा छन्।
- विश्व अधिकारी डीआईजीमा बढुवा र एसएसपी प्रकाश रानाभाटको राजीनामा स्वीकृत भएपछि पद खाली भएका हुन्।
- प्रहरीमा दरबन्दी हेरफेर गर्ने ओएण्डएम सर्वेक्षण सुरु भएको छ, जसले दुई एसएसपीको दरबन्दी थप गर्ने तयारी छ।
काठमाडौँ । नेपाल प्रहरीमा वरिष्ठ उपरीक्षक (एसएसपी)को ७ सिट रिक्त भएको छ । कात्तिक १७ गते पाँच जनालाई डीआईजीमा बढुवा गर्ने निर्णयसँगै पाँच पद रिक्त भएको थियो भने त्यसपछि थप दुई सिट रिक्त भएको छ ।
विश्व अधिकारीको डीआईजीमा बढुवा र एसएसपी प्रकाश रानाभाटले दिएको राजीनामा स्वीकृत भएसँगै रिक्त सिट संख्या ७ पुगेको हो । कात्तिक २० मा गृहमन्त्री ओमप्रकाश अर्यालले रानाभाटको राजीनामा स्वीकृत गरेका थिए ।
कात्तिक १७ गते भुपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल र अबि नारायण काफ्ले डीआईजीमा बढुवा भएका थिए । उनीहरू २०५६ असार ३ मा सेवा प्रवेश गरेका थिए । सो ब्याचको एक नम्बर वरीयतामा रहेर छुटेका विश्व अधिकारी मंसिर ८ मा डीआईजीमा बढुवा भए ।
रिक्त वरिष्ठ उपरीक्षक पदमा बढुवा हुन १७ जना उपरीक्षक (एसपी) प्रतिस्पर्धामा छन् । बढुवा हुन योग्य सूचीको पहिलो नम्बरमा विमल बस्नेत छन् । मेरिट लिस्टको दुई नम्बरमा राम प्रकाश शाह छन् । उनीहरू दुवै जना राष्ट्रिय अनुसन्धान विभागबाट स्थनान्तरण भएर प्रहरीमा आएका हुन् । बस्नेत राष्ट्रिय अनुसन्धान विभागमा २०५३ पुस ९ मा भर्ना भएका थिए । शाह २०५५ भदौ १० मा सेवा प्रवेश गरेका थिए ।
बस्नेत र शाहभन्दा पछाडिको सूचीमा नेपाल प्रहरीको जनपद समूहमा सेवा प्रवेश गरेर २०७७ माघ २० मा एसपी भएका अधिकृतहरू एसएसपी बढुवा हुने प्रतिस्पर्धामा छन् । भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेश प्रसाद काफ्ले, अमरेन्द्र बहादुर सिंह, श्याम सिंह चौधरी, नकुल पोखरेल, पदम बहादुर विष्ट, सुवास चन्द्र बोहरा, बासुदेव खतिवडा, प्रतिज केसी, राज कुमार सिलवाल, योगेन्द्र सिंह थापा, महेन्द्र कुमार श्रेष्ठ, दिलिप घिमिरे र विरेन्द्रबहादुर शाही बढुवाका आकांक्षी हुन् ।
पहिलो नम्बरमा रहेका विमल बस्नेत यसअघि पनि पटक–पटक बढुवामा छुट्दै आएका अधिकृत हुन् । २०८२ साउन ५ मा आफूभन्दा जुनियरलाई बढुवा सिफारिस गरिएको भन्दै बस्नेतले बढुवा उपरको उजुरी सुन्ने समितिमा उजुरी दिएका थिए । त्यसबेला समितिले उनको उजुरी खारेज गरेको थियो ।
प्रहरी नियमावली अनुसार बढुवाविरुद्ध उजुरी गरेपछि २ नम्बर घट्ने प्रावधान छ । २०७७ मा अनियमितताको आरोपमा निलम्बनमा परेका बस्नेतलाई प्रहरी प्रधान कार्यालयले त्यसबेला ५ वर्ष बढुवा रोक्का गर्ने निर्णय गरेको थियो । सो निर्णयपछि बस्नेत लगातार बढुवामा छुटिरहेका छन् । कार्यसम्पादन मूल्याङ्कन बापत ७.५ नम्बर दिने अधिकार बढुवा समितिमा हुन्छ ।
सिट संख्या थोरै र आकांक्षी धेरै हुँदा काबिल अधिकृतहरू यसपटक पनि छुट्न सक्ने प्र्रहरी अधिकृत बताउँछन् । उनीहरूको ब्याचका अधिकांश सहकर्मी यसअघि नै एसएसपीमा बढुवा भइसकेका छन् । प्रहरीभित्र काबिल भनेर चिनिएका दिलिप घिमिरे, श्यामसिंह चौधरी, बिरेन्द्र शाही र सुवासचन्द्र बोहरा वरीयतामा पछाडि छन् ।
ऋषिराम कँडेल वरीयताको चौथो नम्बरमा र सुरेश प्रसाद काफ्ले मेरिट लिस्टको पाँचौँ नम्बरमा छन् । संयुक्त राष्ट्रसंघको मिशनमा लामो समय काम गरेका काफ्ले अहिले सर्वोच्च अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाईका प्रमुखको रूपमा कार्यरत छन् ।
वरीयताको चौथो नम्बरमा रहेका ऋषिराम कँडेल कपनस्थित केन्द्रीय विशेष कार्यदलको प्रमुख हुन् । जेनजी प्रदर्शन हुँदा कार्यदलबाट संसद् भवनको सुरक्षामा खटिएका प्रहरीले चलाएको गोली लागेर प्रदर्शनकारीले ज्यान गुमाए । आन्दोलनमा कँडेल पनि संसद् भवन परिसरमा खटिएका थिए ।
प्रहरी उपरीक्षक भएपछि लामो समय युएन मिसनमा काम गरेका अमरेन्द्र बहादुर सिंहले जिल्ला कमाण्ड गरेका छैनन् । भदौ २४ मा भएको प्रदर्शनमा उच्छृङ्खल समूह प्रहरी प्रधान कार्यालयभित्र प्रवेश गर्न खोजेपछि एसपी सुवास चन्द्र बोहरा नेतृत्वको टिमले प्रधान कार्यालय जोगाएको थियो । त्यसबेला बोहरा नक्सालस्थित सशस्त्र प्रहरी गण नम्बर–१ को इन्चार्ज थिए । अहिले उनी मकवानपुरको प्रहरी प्रमुख हुन् । रौतहट जिल्लाको कमाण्ड गरेका दिलिप घिमिरे प्रहरीमा काबिल र कमाण्ड क्षमता भएका अधिकृतको रूपमा चिनिन्छन् ।
- दुई सिट थपिँदै
प्रहरीमा दरबरन्दी हेरफेर गर्नेगरी संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) सुरु गरिएको छ । मंसिर ८ मा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो । पूर्वस्वीकृतिसँगै गृह मन्त्रालयले ओएण्डएमको काम सुरु गरेको छ ।
ओएण्डएम सर्वेक्षण गरेर प्राविधिक तर्फका दुई वटा एसएसपीको दरबन्दी जनपदतर्फ ल्याउन लागिएको छ । केनाइन कार्यालय र कार्यविभाग मातहत रहेको सवारी महाशाखाको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को दरबन्दी जनपद समूहतर्फ स्थानान्तरण गर्न लागिएको प्रहरीका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
बढुवा गर्नुपर्ने आकांक्षीको संख्या धेरै भएपछि ओएण्डएम सर्वेक्षण गरेर दुईसिट थपेपछि बढुवा सिफारिस गरिने ती अधिकृतले जानकारी दिए ।
ओएण्डएम गर्न गृह मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव कालीप्रसाद पराजुलीको संयोजकत्वमा समिति गठन गरिएको छ । ओएण्डएम समिति गठन गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेले रातोपाटीलाई बताए । ओएण्डएम कमिटीमा प्रहरीका डीआईजी दिपक रेग्मी, अर्थ मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि सदस्य छन् ।
नेपाल प्रहरी अस्पतालमा डीएसपी र एसपीको दरबन्दी पनि मिलान गर्न लागिएको छ । अस्पतालभित्र अन्य तहको दरबन्दी कटौती गरेर डीएसपी र एसपीको दरबन्दी बढाउन लागिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरीको फरेन्सिक विज्ञलाई स्थानान्तरण गरिने भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा कार्यरत प्रहरी कर्मचारीलाई पनि त्यहाँबाट स्थानान्तरण गरिँदैछ ।
पुल्चोकस्थित विभागमा प्रहरीको उपरीक्षक (एसपी) नेतृत्वमा प्रहरी कार्यरत थिए । विभागको सहमतिमा उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरोस्थित महाशाखामा स्थानान्तरण गर्न लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण