विशेषको प्रस्ताव फिर्ता भए पुसमा नियमित महाधिवेशन गर्न कांग्रेस संस्थापन पक्ष तयार
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन समूहले विशेष महाधिवेशन माग गरेको प्रस्ताव फिर्ता भए पुसमा नियमित महाधिवेशन गर्न मान्ने भएको छ ।
आइतबार बिहान सभापति शेरबहादुर देउवालाई भेट्न गएका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरुले विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई असोज २९ गते २ हजार ४८८ महाधिवेशन प्रतिनिधिहरूले बुझाएको हस्ताक्षर फिर्ता भए मान्ने बताए ।
केन्द्रीय सदस्यहरू जितजंग बस्नेत, गुरु बराल, डा. रणबहादुर रावल, रुपा विक, चन्द्र केसीलगायत २० बढी केन्द्रीय सदस्यहरू बिहान महाराजगञ्जस्थित निवासमा पुगेका थिए । भेटमा देउवाले पार्टी फुट्नु भन्दा मिलाउन पुसमा १५ औँ महाधिवेशन गर्ने कार्यतालिका ल्याउने बताएका थिए । त्यसको जवाफमा केन्द्रीय सदस्यहरूले आफूहरू निर्वाचन अगाडि नियमित महाधिवेशन गर्न तयार रहेको तर विशेष महाधिवेशनको माग गर्दै बुझाइएको हस्ताक्षर फिर्ता गर्नुपर्ने सर्त अघि सारेका थिए ।
त्यसमा देउवाले आफू पार्टी एकढिक्का हुने गरी मिलाउन लागिरहेको बताएको भेटमा सहभागी एक नेताले जानकारी दिए ।
‘हामीले सभापतिज्यूसँग पुसमा नियमित महाधिवेशनको कार्यतालिका ल्याए मान्न तयार छौँ, तर विशेष महाधिवेशन माग गर्दै बुझाइएको हस्ताक्षर फिर्ता हुनुपर्छ भन्यौं,’ भेटमा सहभागी ती केन्द्रीय सदस्यले भने । विशेष महाधिवेशनको प्रस्ताव फिर्ता नभए आफूहरुले नमान्ने सभापतिलाई बताएको उनको भनाइ छ ।
आइतबार दिउँसो बानेश्वरको सनराइज पार्टी प्यालेसमा बसेको बैठकमा पनि विशेष महाधिवेशन फिर्ता भएमा पुसमा नियमित महाधिवेशन गर्न मन्ने सहमति नेताहरूबीच बनेको छ । तर प्रस्ताव फिर्ताको सर्त यथावत् छ ।
संस्थापन पक्षीय नेताहरूले अहिले फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन र माघमा हुने राष्ट्रियसभा निर्वाचनको तयारी गर्ने र निर्वाचनपछि महाधिवेशन गर्ने अडान राखिरहेका थिए । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने कि पुसमा नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्नुपर्ने बताएका थिए ।
त्यहीँ अन्यौलका बीचमा संस्थापन पक्षको यस्तो धारणा आएको हो । पार्टीमा विवाद निम्त्याउन भन्दा फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचन अगाडि पार्टीको १५ औँ नियमित महाधिवेशन गर्न ठीक हुने तर्क सभापति शेरबहादुर देउवाले शनिबार नेताहरूसँगको छलफलमा राखेका थिए ।
शनिबार आफ्नो निवासमा कार्यवाहक सभापति खड्का, महामन्त्री थापा र शर्मा, संस्थापनइतरका नेता डा.शेखर कोइराला, पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, लेखक लगायतको बैठक यस्तो बताएका थिए । देउवाको प्रस्तावमा खड्का र नेता लेखक सहमत थिए । संस्थापन समूहमै रहेका पूर्वपदाधिकारीहरू विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौला चुनावअघि महाधिवेशन गर्नै नहुने पक्षमै छन् ।
निर्वाचनअघि महाधिवेशन गर्ने कि पछि गर्ने भन्ने विवादका कारण गत असोज २८ गतेदेखि जारी केन्द्रीय कार्यसमिति अनिर्णित बन्दै आएको छ । बैठकमा एउटा निर्वाचनअघि महाधिवेशन गर्ने र अर्को निर्वाचनपछि महाधिवेशन गर्ने कार्यतालिका पेस भएका छन् । बैठक सोमबारका लागि पुन: बोलाइएको छ ।
सोमबार सबैलाई मान्नेगरी नियमित महाधिवेशनको तालिका ल्याउने तयारी भइरहेको नेताहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण