आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

अस्ट्रेलियामा स्नातकोत्तर अध्ययनका लागि १९ नेपाली विद्यार्थीलाई छात्रवृत्ति

सोमबार, १५ मङ्सिर २०८२, १३ : ३८
सोमबार, १५ मङ्सिर २०८२

सारांश

  • अस्ट्रेलिया सरकारले प्रदान गर्ने छात्रवृत्ति, १९ जना नेपाली विद्यार्थीले प्राप्त गरे।
  • कार्यक्रममा राजदूत र शिक्षा सचिवले छात्रवृत्ति हस्तान्तरण गर्दै शुभकामना दिए।
  • अस्ट्रेलिया अवार्ड्सले नेतृत्व क्षमता विकास र नेपालको सेवामा योगदान पुर्‍याउने अवसर दिन्छ।

काठमाडौँ । नेपालका १९ जना प्रतिभावान विद्यार्थीले अस्ट्रेलियाली सरकारद्वारा प्रदान गरिने प्रतिष्ठित अस्ट्रेलिया अवार्ड्स छात्रवृत्ति प्राप्त गरेका छन्। नेपालका लागि अस्ट्रेलियाली राजदूत लियन जोन्सटन र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि पौडेलले एक समारोहका बीच छात्रवृत्ति हस्तान्तरण गरे । 

सन् २०२६ मा अस्ट्रेलियाका विश्वस्तरीय विश्वविद्यालयहरूमा स्नातकोत्तर तहको अध्ययन सुरु गर्ने यी विद्यार्थीमध्ये १३ जना सार्वजनिक सेवा क्षेत्रका, ११ जना महिला तथा २ जना अपांगता भएका व्यक्ति रहेका छन्।

समारोहमा शिक्षा सचिव पौडेलले छात्रवृत्ति प्राप्त विद्यार्थीलाई शुभकामना दिँदै अस्ट्रेलियाले नेपाली विद्यार्थीलाई प्रदान गर्दै आएको अवसरप्रति धन्यवाद दिए । “अस्ट्रेलियामा प्राप्त शैक्षिक ज्ञान र अन्तर्राष्ट्रिय सम्पर्कले तपाईंहरूको व्यक्तिगत विकाससँगै नेपालको सेवामा महत्वपूर्ण योगदान पुर्‍याउनेछ,” सचिव पौडेलले भने । 

राजदूत जोन्स्टनले बहुसांस्कृतिक अस्ट्रेलियाको अनुभव लिन तथा अस्ट्रेलियाली जनता र संस्थासँग दिगो सम्बन्ध विस्तार गर्न विद्यार्थीलाई उत्साहित गरिन् । “अस्ट्रेलिया अवार्ड्सले हाम्रो साझेदारी, समावेशीकरण र नेतृत्वप्रतिको साझा प्रतिबद्धता झल्काउँछ,” उनले भनिन् ।

अस्ट्रेलिया अवार्ड्स छात्रवृत्ति अस्ट्रेलियाली परराष्ट्र मन्त्रालयद्वारा प्रदान गरिने एक महत्वपूर्ण कार्यक्रम हो, जसले नेतृत्व क्षमता भएका विद्यार्थीलाई अध्ययन तथा अनुसन्धानका व्यापक अवसर उपलब्ध गराउँछ। धेरै नेपाली पूर्वविद्यार्थीहरूले यो कार्यक्रममार्फत अध्ययन गरेर नेपाल फर्किएपछि सरकारी, गैरसरकारी तथा व्यवसायिक क्षेत्रमा वरिष्ठ तहमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।

सन् १९५० को कोलम्बो प्लान बाट सुरु भएको अस्ट्रेलियाली छात्रवृत्ति कार्यक्रममार्फत विश्वभरका १ लाखभन्दा बढी विद्यार्थी लाभान्वित भइसकेका छन्। हालसम्म १,३०० भन्दा बढी नेपाली विद्यार्थी अस्ट्रेलिया अवार्ड्सको सहयोगमा अस्ट्रेलियामा अध्ययन गरिसकेका छन्।

अस्ट्रेलिया अवार्ड्स छात्रवृत्तिको अर्को चरणका लागि आवेदन २०२६ फेब्रुअरीमा खुल्ने छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप