शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

डेढ महिना लामो रस्साकस्सीपछि कांग्रेसमा जुट्यो महाधिवेशन मितिमा सहमति

सोमबार, १५ मङ्सिर २०८२, १७ : १८
सोमबार, १५ मङ्सिर २०८२

सारांश

  • नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने निर्णय भएको छ।
  • महाधिवेशनको मिति तय गर्न नेताहरूबीच लामो समयसम्म छलफल र विवाद भएको थियो।
  • अन्ततः सभापति देउवाको सक्रियतामा दुवै पक्षलाई सहमत गराएर महाधिवेशनको मिति तय भयो।

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन कहिले गर्ने भन्ने विषयमा देखिएको विवाद डेढ महिनापछि टुंगिएको छ । सोमबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ ।  

महाधिवेशनको सर्वसम्मत निर्णय हुने अवस्थासम्म आइपुग्न नेताहरूबिच धेरै माथापच्ची भयो ।

गत असोज २८ गते केन्द्रीय कार्यसमिति बैठक सुरु गर्दै लिखित मन्तव्य दिएर सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित आफ्नै निवासमा देउवा मरणासन्त हुनेगरी कुटिएका थिए । पछि स्वास्थ्यको कारण देखाएर खड्कालाई कार्यवाहक दिए पनि महाधिवेशनको विवाद मिलाउन अदृष्य रूपमा उनी आफै सक्रिय बन्नुपर्‍यो । 

असोज २८ देखि मंसिर १५ गतेसम्म १३ दिन बसेको बैठकमा महाधिवेशनमा पक्ष–विपक्षमा नेताहरूले धारणा राखे । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनअघि महाधिवेशन गर्ने र निर्वाचनपछि महाधिवेशन गर्ने भन्ने विवादले केन्द्रीय कार्यसमिति बैठकमा दुई कार्यतालिका प्रस्तुत भए । 

कात्तिक १९ गतेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गरे । त्यसैदिन उनलाई काउन्टर दिन सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्नुपर्ने कार्यतालिका प्रस्तुत गरे । 

थापाको कार्यतालिकालाई अर्का महामन्त्री विश्वप्रकाश शर्मा र इतर समूहका केही नेताले समर्थन गरे भने यादवको कार्यतालिकालाई संस्थापन समूहका नेताहरूले समर्थन गरे । 

दुवै पक्षले एक अर्कालाई घोचपेच सुरु गरेपछि कार्यवाहक सभापति खड्काले थापा र यादवका कार्यतालिका व्यक्तिगत भएको केन्द्रीय समिति बैठकमा स्पष्टीकरण नै दिनुपर्‍यो । कात्तिक २० गतेको बैठकमा खड्काले दुवै कार्यतालिका व्यक्तिगत भएको प्रष्टिकरण दिएका थिए । 

त्यही विवादमा सहमति जुटाउन भन्दै केन्द्रीय कार्यसमिति बैठक बोलाउँदै सूचना टाँसेर स्थगित नै ८ पटक गरियो । खड्काले कार्यसम्पादन समिति पदाधिकारी र निर्वाचन अगाडि र पछाडि महाधिवेशन गर्नुपर्छ भन्नेसँग पटक–पटक छलफल गरे । तर पार लगाउन सकेनन् । 

खड्काबाट पार लाग्ने अवस्था नदेखेपछि कार्यवाहक दिएका सभापति ‘अनसिन’मा सक्रिय भए । गत बिहीबारदेखि सक्रिय भएका देउवाले पटक–पटकका छलफल पछि नेताहरूलाई मनाएर सोमबार बसेको बैठकमा आगामी पुस २६ देखि २८ गतेसम्म नियमित महाधिवेशन गर्ने कार्यतालिका आएको छ । देउवाले दुवै पक्षलाई राखेर मध्यमार्गी प्रस्ताव ल्याएर त्यसमा सहमत हुन सबैलाई निर्देशन दिएका थिए । 

 

 

निर्वाचन अगाडि महाधिवेशन हुने कार्यतालिका आउनुमा विशेष महाधिवेशनको माग गरेर बुझाइएको हस्ताक्षरले ठुलो काम गरेको छ ।

विशेष महाधिवेशन माग्दै केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको अर्को दिन २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले कार्यवाहक सभापति खड्कालाई हस्ताक्षरसहित पत्र बुझाएका थिए । पार्टी विधानको धारा १७ को उपधारा (२)मा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित विशेष महाधिवेशन मागेको तीन महिनामा गर्नैपर्ने बाध्यकारी व्यवस्था छ । उनीहरूले हस्ताक्षर बुझाएको तीन महिना पुस २८ गते पुग्छ । त्यही पुस २८ गते नियमित महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सोमबारको केन्द्रीय कार्यसमिति बैठकले पारित गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप