दलहरू र तिनका केही नेताको अकर्मण्यताले गत भदौ २४ गतेदेखि नेपाली आकाशमा मडारिएको कालो बादल अझै फाटेको छैन । यो कसरी र कहाँ पुगेर टुङ्गिन्छ ? यसै भन्न सक्ने अवस्था छैन ।
तोकिएको मितिमा निर्वाचन हुने/नहुनेमा अन्याल नै छ । दलहरू आन्तरिक किचलोमा फसेका छन् । जेनजी– जसले सत्तापलट गर्यो त्यो समूह आज अन्योलग्रस्त छ । एक दिन अघि ‘आमा’ भन्दै प्रधानमन्त्रीलाई ढोग्ने जेनजी अर्को दिन गएर तिनै आमा सरहको प्रधानमन्त्रीलाई ‘लछारपछार बनाएर घोक्रेठ्याक लगाउने’जस्ता अराजनीतिक र उत्ताउलो अभिव्यक्ति दिन्छ । यस्तो अवस्थामा देशले राजनीतिक निकास कसरी पाउला ? निर्वाचन होला/नहोला ? भएन भने देशमा के होला ? दलहरूको पुनर्गठन र नेतृत्वको रुपान्तरण किन कठिनाइ बनिरहेको होला ? निर्वाचनमा दलहरूको अवस्था कस्तो होला ? यी र यस्तै प्रश्नको जबाफ रातोपाटीले पत्रकार किरण नेपालसँग खोज्ने प्रयत्न गरेको छ ।
प्रस्तुत छ, खोज पत्रकारिता केन्द्र नेपालका सम्पादकसमेत रहेका पत्रकार नेपालसँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश–
राजनीतिक हिसाबले, आर्थिक हिसाबले, सांस्कृतिक हिसाबले यथास्थितिप्रतिको असन्तुष्टि थियो । त्यो भनेको परिवर्तन । अब परिवर्तन के ? कसरी ? कसो ? भन्ने कुरामा आ–आफ्ना व्याख्या होलान् । गभर्नेन्स चाहियो । डेलिभरी चाहियो ।
प्रजातान्त्रिक आन्दोलनलाई अगाडि हाँकेर, प्रजातन्त्रमा देशलाई लान सकेका दलहरूको नेतृत्व तहले लामो समयसम्म शासन गर्दा गभर्नेन्स र एकाउन्टेबिलिटीसहितको डेलिभरी इन्स्योर गर्न नसकेको नै भन्ने बुझ्छु म ।
केपी शर्मा ओलीले गर्नचाहिँ के गरिरहनुभएको थियो त ? केही गरिरहनुभएको थियो, राम्रै गरिरहनुभएको थियो भने बालुवाटार किन छाडेर जानुभएको त ? अफगानिस्तानमा त नजिबउल्ला मर्नलाई तयार भए । झुन्ड्याए नि त उनलाई । इतिहासमा नाम हुन्थ्यो नि त । केही गरिरहेको हो भनेदेखि जोसुकै आओस्, म छोड्नेवाला छैन भनेर बस्न सक्नुपर्थ्यो नि त । त्यसकारणले उहाँले गलत कुरा गरिरहनुभएको छ । जिम्मेवारीबाट भाग्ने कुरा हो योचाहिँ ।
संसारमा यस्ता घटना भएका छन् । तख्तापलट भनेको यस्तै हो । अझ यहाँकोलाई त तख्तापलट नै भन्न पनि अलि नमिल्ला । २३ गते १–२ बजेसम्मको मुभमेन्टलाई एउटा तरिकाबाट व्याख्या गर्नुपर्ने हुन्छ । २४ गते बिहानदेखिको मुभमेन्टलाई अर्को तरिकाले व्याख्या गर्नुपर्ने हुन्छ ।
मोटामोटी रूपमा चार–पाँच वटा इन्सिडेन्टहरूलाई व्याख्या गर्दाखेरि यसलाई अलग–अलग व्याख्या गरियो र त्यसको कनेक्टिङ डट्स मिलाउन सकियो भनेमात्रै एउटा ठाउँमा पुग्न सकिएला जस्तो लाग्छ ।
२३ गतेले मात्र होइन । जाँचबुझ आयोगले विस्तृत खोजबिन गर्ला । २४ गतेको घटना २३ गतेको इफेक्टमात्र हो भन्ने मलाईचाहिँ लाग्दैन । २४ गते असाध्यै ठुलो ड्यामेज गर्ने मनसुवा देखिएको छ । जो कोहीको भए पनि मनसुवाचाहिँ नेपाललाई आर्थिक रूपमा, राजनीतिक रूपमा, संवैधानिक रूपमा, सबै हिसाबले ड्यामेज गर्ने मनसुवा २४ गते देखिन्छ ।

तपाईंले पत्रकारिता सुरु गरेदेखि समृद्ध राजनीतिक टक नगरेको कति भयो ? हामीलाई बिग इन्फ्रास्ट्रक्चर चाहिन्छ कि स्मल इन्फ्रास्ट्रक्चरमा जानुपर्छ ? फास्ट ट्रयाक चाहिन्छ कि लोकल रोडहरू महत्त्वपूर्ण हो हाम्रालागि ? ट्रान्सपोर्टेसन सिस्टममा ठुला गाडीहरू हाम्रालागि आवश्यक हुन् कि साना गाडी भन्नेबारेमा तपाईंले डिबेट गर्न पाउनुभएको छ ?
हामीले क्लेप्टोक्रेटिक सोसाइटी बनाउन पुग्यौँ, चोरतन्त्र । हरेक मान्छे चोर छ यहाँ । तपाईंले अस्ति भर्खरै देख्नुभएन ? पार्लियामेन्टमा भएको एउटा बिल जेनजी मुभमेन्टभन्दा जस्ट अगाडिको बिल ।
पार्लियामेन्टको एउटा समितिबाट हाउसमा जाँदा चोरी हुन्छ । शब्द चोरी गरेको हो नि त्यो । त्यो चोरतन्त्र कसले लिएर आएको हो ? त्यो गरेकोमा रिग्रेट छैन, दण्ड छैन, सजाय छैन । कसैको, कोही व्यक्ति विशेषकालागि गरिन्छ । चोरतन्त्र भनेकै त्यही हो । क्लेप्टोक्रेसी भनेको त्यही हो ।
दलहरूमा हलचल त भइराछ नि ।
परिवर्तन नभए पनि एमालेको नेतृत्व जुन निर्विकल्प प्राधिकारको रूपमा स्थापित भइराखेको थियो, अबको महाधिवेशनमा एउटा चुनौती बेहोर्छ त्यसले ।
प्रधानमन्त्री त अस्तिसम्म ‘नेताको अनुहार नै हेर्दिनँ’ भनिरहनुभएको थियो नि त । अनि प्रधानमन्त्रीको पदमा बसेर त्यो भन्न पाइन्छ त ? गभर्नेन्सलाई एउटा प्रोजेक्टको रूपमा पेस गरिरहनुभएको छ प्रधानमन्त्री । प्रोजेक्ट होइन नि, गभर्नेन्स त जोडिएर जाने कुरा हो । सुरुमा २४ गतेका घटनाका दोषीलाई कारबाही नगर्नु भन्ने गृहमन्त्रीको जुन सुरुको एउटा स्टेटमेन्ट आयो, त्यसले हाम्रो ‘रुल अफ ल’लाई गिज्यायो नि ।
जेनजीको आफैँमा कन्सोलिडेटेड नेता त कोही पनि छैन । उनीहरूको तौरतरिका हेर्नुस् न, मन्त्रालयमा झगडा गरिराखेका छन्, फाइट गरिरहेका छन् । अघिल्लो दिनसम्म आमा भनेर प्रधानमन्त्रीलाई ढोग्ने, भोलिपल्ट गएर घिच्याएर निकाल्छु भनेर भन्ने । तिनको क्रेडिबिलिटी कहाँ गयो त ? यो सबै कुरा कहाँ गएर जोडियो भने फागुन २१ गतेको निर्वाचन हुन्छ कि हुँदैन भन्ने प्रश्नचिह्न लगाउने कुरामा एमाले अग्रपङ्क्तिमा देखा पर्यो ।
त्यो महेश बस्नेतलाई सिमरा जान किन नदिएको ? कसले जान नदिएको ? अनि किसान श्रेष्ठको घरमा गएर धम्क्याउनुको अर्थ के हो ? मैले एमालेको डिफेन्ड गरिरहेको छैन, तर एमालेले भन्ने मौका पायो । जब मुभमेन्ट नै गर्न दिँदैन भने निर्वाचन कसरी हुन्छ त ? भन्ने मौका पायो नि त एमालेले । एमालेले उत्तेजक अभिव्यक्ति दियो भन्ने लाग्छ भने उताबाट पनि उत्तेजक अभिव्यक्ति मात्रै दिएर हुन्थ्यो नि त । तपाईं त एयरपोर्ट नै कब्जा गर्न जानुभयो ! एयरपोर्ट कब्जा गर्नु चानचुने कुरा हो ?
एक्ज्याक्ट्ली । एमालेले जे गरिरहेको छ, त्यो अवस्था उसलाई गर्नका लागि प्रोभोकेटिङ अवस्थाचाहिँ सरकारको पनि छ ।
खासै छैन । त्यो उहाँहरूको आन्तरिक मामिला हो । उहाँहरू लडिरहनुभएको छ । त्यहाँनिर फ्रिक्सनहरू देखा परिरहेको छ । छानिएका प्रतिनिधिको सग्लो अनुहार देखिसकेको छैन । राष्ट्रिय राजनीतिमा प्रभाव त पार्छ ।
जसले जिते पनि महाधिवेशनपछिको एमालेमा दुई–तीन वटा कुरा हुन्छ । त्यो नेतृत्व एउटा विमर्शबाट आएको हुन्छ । त्यसलाई एकलापको ढङ्गबाट लैजाने जुन प्रयत्न केपी ओलीको थियो, त्यो भएन भनेर बुझ्नुपर्ने हुन्छ । अर्थात् उहाँ प्राधिकार रहनुभएन त्यो पार्टीको भन्ने बुझ्नुपर्ने हुन्छ ।
अहिलेचाहिँ त्यो खतरा नहोलाजस्तो लाग्छ मलाई । यदि त्यस्तो भयो भने त्यो घर टुक्रिँदै गएर एउटा कोठामात्र बाँकी रहने अवस्थामा पुग्छ ।
कांग्रेसमा चाहिँ ठिक भइराखेको छ । कांग्रेसमा त राम्रो बहस भइराखेको छ त । जेनजी मुभमेन्टपछि सबभन्दा बढी राजनीतिक घर्षण कहीँ भइराखेको छ भने कांग्रेसमा भइराखेको छ । गजबसँगले भइराखेको छ ।
माओवादी र एकीकृत समाजवादी लगायतका दलहरू एक ठाउँमा आएको चाहिँ उहाँहरूले आफ्नो पोलिटिकल ग्राउण्ड, जुन वर्चस्व छ, त्यसको फोर्टिफिकेसन हो जस्तो लाग्छ मलाई । एउटा ट्रिकी पोइन्ट के छ भने एकीकृत समाजवादी भइरहँदाखेरि, माओवादी भइरहँदाखेरि हिजोको यादले सताउने भयो । हिजो भएका गलत कुराहरूमा जोडिएर आउने भयो । त्यसलाई उहाँहरूले साफ गरिदिनुभयो । राजनीतिक रूपमा बडा चलाखीपूर्ण काम गर्या हो । अब त्यसले कति काम गर्छ राजनीतिमा, त्योचाहिँ थाहा छैन । पछिल्लो जेनजी मुभमेन्टलाई तपाईंले बेन्चमार्क बनाइदिने हो भने, कटिङ एज बनाइदिने हो भने त्योभन्दा अगाडि माओवादी भइकन गरेका क्रियाकलापले अबको दिनमा कुनै राजनीतिक रूपमा चाहिँ लाभ हुनेवाला छैन ।

तपाईंको एकदमै आदर्श कुरा हो त्यो । विडम्बना के हो भने माधव नेपाल र प्रचण्डजीको सबभन्दा ठुलो कमजोरी नै त्यही हो । अझ उहाँहरूको विडम्बना भनौँ ? उहाँहरूले आफूपछिको नेता नै बनाउन चाहनु भएन । त्यसकारण पनि उहाँहरू असफल नेता हो । यो कुरा ओलीमा पनि लागु हुन्छ ।
तपाईंले भनेकामध्ये ९० प्रतिशतचाहिँ ती दल असफल हुने खालका हुन् । किनकि उनीहरूको विचार छैन । त्यहाँ प्रोफाइलहरू मात्रै धेरै छन् ।
रास्वपाले भयानक ठुलो गरेको गल्तीचाहिँ जेनजी मुभमेन्टको बेलामा आफ्नो सभापतिलाई जेलबाट छुटाउने काम हो । तर अब त्यो कुरा बिस्तारै फेज आउट हुँदै छ । त्यो भयानक ठुलो गल्ती थियो । राजनीतिक रूपमा गरेको रास्वपाभित्र भएको ‘ओरालोको गाडीमा ब्रेक फेल’ जतिकै थियो । मेरो विचारमा उसको अधोगतिको प्रारम्भ बिन्दु हुन सक्थ्यो, यदि लगत्तै कांग्रेस, एमाले सच्चिन सकेको भए ।
म त अचम्म पर्दै थिएँ कि तपाईंले किन सोध्नुभएन भनेर ? माओवादी, कांग्रेस, एमालेहरूले अभूतपूर्व पुनर्संरचनासहित इलेक्सनमा जान सकेनन् भने त्यसको सबभन्दा ठुलो लाभ सम्भवतः राष्ट्रिय स्वतन्त्र पार्टीले पाउँछ ।
कांग्रेसमा फन्डामेन्टल्ली जे हुन गइरहेको छ, जे हुन खोजिरहेको छ, जे गर्न खोजिरहेका छन्, त्यहाँका सेकेन्ड टायर, थर्ड टायरका लिडरशिपहरू सफल भए भनेदेखि एउटा राम्रो स्टेकचाहिँ कांग्रेसले लान्छ । अझ भन्नुपर्दा गगनजीहरूको कांग्रेसभित्रको जे अभियान छ, त्यो सफल भयो भने कांग्रेस मेजर फोर्स हुन्छ, त्यसमा कुनै शङ्का छैन ।
एमालेले जेनजी मुभमेन्टको डिभिडेन्ड लिन सक्ने सम्भावना मैले एकदमै कम देखिरहेको छु । एमाले एकदमै डिफेन्सिभ अवस्थामा छ । त्यसकारणले उसले चुनाव नचाहेको पनि हुन सक्छ ।
नेपाली कम्युनिस्ट पार्टीको क्लेमचाहिँ उपद्रोसँग गरिरहेको छ । ‘जेनजी भनेकै हामी हौँ, हामी हौँ’ भनेर प्रचण्डले भनिरहनुभएको छ । अब त्यसले कति काम गर्छ, मलाई थाहा छैन ।
चुनाव हुन्छ र चुनाव यही सरकारले गराउँछ । त्योभन्दा पृथक् सोच्नेबित्तिकै देश ब्ल्याक होलमा जान्छ । चुनावबाहेक विकल्पै छैन । चुनाव गराउनुबाहेक अर्को विकल्प छैन । जनतामा जाने कुराको नि कसैले विरोध गर्न पाइन्छ र ?
पछिल्लो समय सरकार लयमा आउन थालेको छ । पछिल्लो समयमा राजनीतिक संवाद सुरु भएको छ । सेकेन्ड टायरको र मेजर लिडरशिपसँगको संवादमा प्रधानमन्त्री पुगिसक्नुभएको छ । एक खालको कुराकानी सुरु भइसकेको छ । यो बिचमा फेरि पार्टीहरूको आफ्नै इन्गेजमेन्टहरू पनि छन् ।
विस्तृत अन्तर्वार्ता भिडियोमा
प्रतिक्रिया