एमाले प्रतिनिधि छनोटः कालिकोटमा निषेधको पर्खाल लगाइएको आरोप
सारांश
- नेकपा एमालेको महाधिवेशनका लागि कालिकोटमा प्रतिनिधि छनोटमा विवाद उत्पन्न भएको छ।
- पूर्वमन्त्री कुर्मराज शाहीको छनोट र युवा नेताहरूलाई पाखा लगाइएको भन्दै कार्यकर्ताहरूले असन्तुष्टि जनाएका छन्।
- पार्टी नेतृत्वले छलफल नगरी एकतर्फी रूपमा प्रतिनिधि घोषणा गरेको आरोप लागेको छ।
सुर्खेत । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि कालिकोटमा प्रतिनिधि छनोट प्रक्रिया कागजमा सर्वसम्मत भनिए पनि विवाद र असन्तुष्टि छताछुल्ल भएको छ । शनिबार नै टुंगिनुपर्ने प्रतिनिधि छनोट प्रक्रिया आकांक्षीहरूको व्यवस्थापनमा कुरा नमिल्दा आइतबार मात्र सकिएको थियो ।
जिल्ला नेतृत्वले ९ जना प्रतिनिधि सर्वसम्मत चयन भएको घोषणा गरेलगत्तै असन्तुष्ट पक्षले सामाजिक सञ्जालमार्फत नेतृत्वको कार्यशैलीप्रति चर्को आक्रोश पोख्यो ।
आइतबार सार्वजनिक विवरणअनुसार खुलातर्फ तुलाराज मल्ल, दयाराम सिंखडा, तपेन्द्रजंग शाही र पूर्वमन्त्री कुर्मराज शाही चयन भएका छन् । यस्तै युवातर्फ टेकबहादुर बोगटी, महिलातर्फ सुभद्रा सिंह र जलशा बुढा तथा दलिततर्फ व्यासी तिरुवा (विकास) र गोमा नेपाली सर्वसम्मत चयन भएका छन् ।
प्रतिनिधि छनोटमा सबैभन्दा चर्चा र विवादको विषय पूर्वमन्त्री कुर्मराज शाहीको चयन बनेको छ । कर्णाली प्रदेश सरकारका तत्कालीन मन्त्री शाही तिनै पात्र हुन्, जसले तत्कालीन नेकपा कालमा एमालेको पार्टी ह्विप उल्लंघन गर्दै माओवादी नेता महेन्द्रबहादुर शाहीको सत्ता जोगाउन ‘फ्लोर क्रस’ गरेका थिए ।
पार्टीको निर्णयविपरीत जाने नेतालाई सम्मानसहित प्रतिनिधि बनाइएको तर लामो समय योगदान गरेका युवा नेतालाई पाखा लगाइएको भन्दै कार्यकर्ता पंक्तिमा असन्तुष्टि देखिएको छ ।
युवा नेताहरूलाई सुनियोजित रूपमा निषेध गरिएको भन्दै कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष एवं एमाले प्रदेश कमिटी सदस्य पार्वती सिंहले नेतृत्वप्रति कडा टिप्पणी गरेकी छन् । उनले जिल्ला इन्चार्ज नगेन्द्र शाहीले ‘निषेधको पर्खाल’ लगाएको आरोप लगाएकी हुन् ।
नेतृत्वले छलफल नै नगरी एकतर्फी रूपमा प्रतिनिधि घोषणा गरेको उनको आरोप छ । सिंहले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘नेतृत्वप्रति अपेक्षा राखेकाहरूको बिचमा छलफल र हार्दिकताको वातावरण सिर्जना गर्नुको सट्टा आम कार्यकर्तालाई निराशातिर धकेल्दै भागाभाग गरेर सामाजिक संजाल मार्फत प्रतिनिधिको लिस्ट पेस गरियो । यो प्रवृत्तिले कालिकोट जिल्लाको हाम्रो पार्टी नेकपा एमाले कसरी बलियो हुन्छ ? चिन्ता यही विषयको हो !’
०६१ सालदेखि अनेरास्ववियुको राजनीतिबाट पार्टीमा सक्रिय सिंहले आफ्नो दुई दशक लामो राजनीतिक लगानीलाई नेतृत्वले अवसरमात्रै देख्ने आँखाले हेरेको गुनासो गरेकी छन् ।
उनले आफू १० औं महाधिवेशनमा प्रतिनिधि निर्वाचित भएको, स्थानीय तहमा उपाध्यक्ष जितेको र पटक–पटक पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गर्दा पनि अहिले निषेध गरिएको भन्दै आफ्नो राजनीतिक विवरण नै सार्वजनिक गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण