बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कैलालीका किसानको आम्दानीको स्रोत बन्दै तरकारीखेती

मङ्गलबार, १६ मङ्सिर २०८२, २२ : ४१
मङ्गलबार, १६ मङ्सिर २०८२

सारांश

  • कैलालीका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गरिरहेका छन्।
  • बिखलु रानाले वार्षिक ५ लाख र विशालले २ लाख ५० हजार रुपैयाँसम्म तरकारीबाट कमाउँछन्।
  • मटियारीका किसानले तरकारी खेतीबाट घर खर्च चलाउन सहज भएको बताएका छन्।

कैलाली । कैलालीका किसानले व्यावसायिक तरकारीखेतीबाट राम्रो आम्दानी लिन थालेका छन् । पछिल्लो समय यहाँका किसानले व्यावसायिक तरकारीखेतीबाट राम्रो आम्दानी गरेर आफ्नो आर्थिक पक्षलाई सबल बनाएका छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका–६ मटियारीका बिखलु रानाले व्यावसायिक तरकारीखेतीबाट वर्षमा रु पाँच लाखसम्म आम्दानी गर्ने गरेको बताए । विगत २५ वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका रानाले अहिले करिब १० कट्ठा जग्गामा व्यावसायिक तरकारीखेती गरिरहेका छन् । 

रानाका अनुसार हाल तरकारी बिक्रीबाट दैनिक रु दुई हजारदेखि दुई हजार ५०० सम्म आम्दानी भइरहेको छ । “तरकारीबाट दैनिक आम्दानी पनि हुन्छ, सिजनमा राम्रै बिक्री हुन्छ । मेहनत बढी चाहिन्छ । तरकारी बिक्रीबाट घर व्यवहार चलाउन सहज भएको छ । सानोतिनो गाह्रो अप्ठेरो पर्दा अरूबाट ऋण लिनु परेको छैन”,  उनले भने, “आठ जनाको परिवार छ । सबै घर खर्च बालबच्चाको पढाई लेखाइ खर्च यसैबाट चलेको छ ।” रानाले मौसमी, बेमौसमी सबै किसिमका तरकारी उत्पादन गर्दै आएका छन् । 

त्यस्तै, सोही ठाउँका विशाल रानाले तरकारीखेतीबाट वर्षमा रु दुई लाख ५० हजारसम्म आम्दानी हुने गरेको बताए । विगत २० वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका विशालले हाल करिब साढे चार कट्ठा जग्गामा तरकारीखेती गरेको बताए ।

सिजनमा राम्रै आम्दानी हुने बताउँदै विशालले हाल तरकारी बिक्रीबाट दैनिक रु एक हजार ५०० देखि दुई हजारसम्म आम्दानी हुने गरेको बताए । उनले भने, “तरकारी बिक्रीबाट घर खर्च राम्रै चल्छ । चार जनाको परिवार छ । सबै खर्च यसैबाट चलाएको छु । तरकारीखेतीले स्वरोजगार बनिएको छ ।”

सोही ठाउँका अर्का किसान धोके रानाले पनि तरकारीखेतीबाट घर खर्च चलाउन सहज भएको बताए । विगत २० वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएको बताउँदै उनले हाल करिब तीन कट्ठा जग्गामा उत्पादन गर्दै आएको बताए । उनले भने, “हाल तरकारी बिक्रीबाट दैनिक रु ८०० सम्म आम्दानी हुन्छ । चार जनाको परिवार छ । घर खर्च धान्न सहज भएको छ ।” मटियारीका अधिकांश किसानले व्यावसायिक तरकारीखेती गर्ने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप