बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
व्यवसाय

चरिचरनको समस्यामा मौरीपालक किसान, पहाडतिर जान बाध्य

स्रोत पर्याप्त भएका ठाउँमा स्थानीय तहको अवरोध
बुधबार, १७ मङ्सिर २०८२, ०७ : ३२
बुधबार, १७ मङ्सिर २०८२

सारांश

  • बाराका मौरीपालक किसानहरूले चिउरीको मह उत्पादनका लागि स्वर्गद्वारी नगरपालिकामा अवरोधको सामना गरे।
  • स्थानीय सरकारको असहयोग र बेमौसमी वर्षाका कारण यस वर्ष मह उत्पादनमा ७५ प्रतिशतसम्म गिरावट आएको छ।
  • स्वर्गद्वारी नगरपालिकाले सेरेना मौरी जोन घोषणा गरेको छ, जसले अन्य जातका मौरी पालनमा रोक लगाएको छ।

बारा । निजगढ नगरपालिका–४ का भीमप्रसाद तिमिल्सिना मौरी चरिचरन गरेर गत साता घर फर्किएका छन् । तिमिल्सिना असोज तेस्रो साता २०२ गोला मौरी लिएर प्युठानको स्वर्गद्वारी पुगेका थिए । असोज–कात्तिकमा रोल्पा र प्युठानमा चिउरीको फूल फुल्ने र मह उत्पादन धेरै हुने भएकाले तराईका मौरीपालक किसानहरू पहाडतर्फ जाने गर्छन् ।

मौरी चरनका लागि १४ वर्षदेखि प्युठान आउजाउ गर्दै आएका तिमिल्सिनाले यस वर्ष चरिचरनमा स्थानीय तहले धेरै अवरोध गरेको गुनासो गरेका छन् । ‘स्वर्गद्वारी नगरपालिकाले म्याद तोकेर बाहिरको मौरी उठाएर लैजान कार्यपालिकाबाटै निर्णय गर्‍यो,’ तिमिल्सिनाले भने, ‘पालिकाले मौरीका गोला नउठाउञ्जेल पुलिस पठाएर आजै उठाऊ, भोलि उठाऊ भनी हामीलाई धेरै सास्ती दियो ।’

स्वर्गद्वारी नगरपालिकाभित्रका सामुदायिक वनमा मात्रै ५०औँ हजार घार मौरीलाई पुग्ने स्रोत छ । तर, पालिकाले अध्ययन नै नगरी २/३ हजार गोला मौरीका लागि पूरै स्रोत कब्जा गरेर राखेको उनको भनाइ छ । ‘मौरी चरिचरनकै लागि हामीले आफ्नो बलबुताले भ्याएसम्म कांग्रेसका नेता गुहार्‍यौँ, एमाले, माओवादीका सबै नेता गुहारेर बल लगाउँदा पनि भएन,’ उनले भने, ‘धेरै किसानहरूलाई फर्कनुपर्ने गरी उहाँहरूले दुःख दिनुभयो ।’

तिमिल्सिनाले एकीकृत कृषि फर्म दर्ता गरेका स्थानीय किसानहरूमार्फत आफूले मौरी चरन गर्नुपरेको बाध्यता सुनाए । तोरी, रुदिलो, लिची, सिसौको फूलबाट उत्पादन भएको महको तुलनामा चिउरीको महको माग अत्यधिक हुने र बिक्री पनि सजिलै हुने किसानहरूको भनाइ छ । ‘चिउरीको मह हामीले प्रतिकिलो ५ सयदेखि ५ सय ५० मा बिक्री गर्छौँ, व्यापारीले हाम्रै अगाडि १५ सयसम्ममा बिक्री गर्छन्,’ उनले भने, ‘व्यापारीहरूले जंगली चिउरीको मह बढी खोज्छन् ।’

2-h1

किसानहरूलाई पनि तोरीको मह उत्पादन लिन तीन साता लाग्छ भने चिउरीको फूलबाट दुई सातामै मह उत्पादन लिन सकिन्छ । 

अर्का मौरीपालक किसान कैलाश तिमिल्सिना पर्याप्त स्रोतहरू भए पनि स्थानीय तहकै असहयोगका कारण मौरी चरनमा धेरै सास्ती भोग्नुपरेको बताउँछन् । ‘त्यहाँ स्रोत अत्यधिक छ, तैपनि खेर गएको स्रोत हामी नेपाली किसानले नै गएर उत्पादन गर्छौँ, राज्यलाई कर तिर्छु भन्दा पनि उहाँहरूले बाहिरबाट आएको मौरीलाई रोक्ने प्रयास गर्नुभयो,’ कैलाशले भने, ‘तराईबाट मौरी बोकेर पहाडमा जान्छौँ, त्यहाँका ५ गोला सेरेना मौरी पाल्ने किसानले ५० हजार गोला मौरीलाई पुग्ने पूरै स्रोत रोकेर राखिदिनुहुन्छ ।’

मधेस प्रदेशमा बारा, रौतहट र सर्लाहीका किसानहरूले चिउरीका लागि रोल्पा, प्युठान, तोरीको महका लागि नवलपरासीको बर्दघाट, चितवनको शक्तिखोर र लिची, सिसौ, रुदिलोको महका लागि बारा र रौतहटको जंगलमा मौरी चराउने गर्छन् । यस वर्ष असोज र कात्तिकमा परेको बेमौसमी पानीले पनि मह उत्पादनमा धेरै ह्रास ल्याएको तिमिल्सिना दाजुभाइको गुनासो छ । यस वर्ष दसैंअघि र कात्तिकमा परेको बेमौसमी पानीले मह उत्पादन ७५ प्रतिशतले घटेको भीम बताउँछन् ।

6-h8

‘यस वर्ष मह काटिएको जस्तो मात्रै भयो, प्रकृतिले धोखा दियो,’ उनले भने, ‘पहिला प्युठान बस्दा ४५/५० बाल्टिनसम्म मह काट्थ्यौँ, यसपालि १२/१३ बाल्टिन मात्रै मह काटेर फर्कनुपर्‍यो ।’

तोरी र चिउरीका लागि दाङमा मौरी चरनमा लैजाने किसानहरूले प्रतिघार सामुदायिक वनलाई ३ सय, बालीधनीलाई १ सय र आमा समूहलाई १ हजारदेखि ५ हजारसम्म बुझाउनुपरेको तिमिल्सिनाको भनाइ छ । ‘पैसा नतिरेसम्म मौरी लोड गरेर हिँडेको दिन हामीले छुटकारा पाउँदैनौँ,’ उनले भने, ‘पैसा बुझाएको रसिद काट्नुहुन्न, तर समितिको रोहबरमा पैसा बुझाउनुपर्छ ।’

१४ वर्षदेखि दाङ, रोल्पा, प्युठान मौरी चरनमा आउजाउ गरेका उनले केही वर्षअघिसम्म एक सिजनमा ६० घारबाट १५ क्विन्टलसम्म मह उत्पादन गरेको सुनाए । ‘७ वर्षअघि एकै ठाउँको आम्दानीले मैले निजगढमा १३ लाखमा घरघडेरी किनेको हो,’ उनले भने, ‘तर अहिले त्यस्तो आम्दानी नै हुन छाड्यो ।’

तिमिल्सिना २०७९ सालमा पहिलोपटक रोल्पामा मौरी चराउन गएका थिए । त्यो वर्ष नसोचेको आम्दानी भएको उनी बताउँछन् । पछिल्ला वर्षहरूमा भने जलवायु परिवर्तन र बेमौसमी वर्षाले महको उत्पादन धेरै घट्दै गएको छ । ‘यसपटक बलियो गोला मौरी लगेका थियौँ तर प्रकृतिले नै साथ दिएन, कात्तिकमा झरी नपरेको भए राम्रो मह उत्पादन हुन्थ्यो,’ उनले भने, ‘यो वर्ष हाम्रो मात्रै होइन, सबै ठाउँमा ७५ प्रतिशत उत्पादनमा कमी आएको छ ।’

सामान्यतया असोजदेखि वैशाखसम्म मुख्य रूपमा मह उत्पादन हुने समय हो । तिमिल्सिना दाजुभाइका २ सय मौरीघार अहिले नवलपरासीको बर्दघाटमा चरनमा छन् । नवलपरासीपछि माघ दोस्रो साता मौरीका घार लुम्बिनी पुर्‍याइन्छ । लुम्बिनीपछि फागुन दोस्रो सातादेखि वैशाखसम्म मधेश प्रदेशका वनहरूमा सिसौ, रुदिलो फुल्ने गर्दछ भने निजी बगैंचाहरूमा लिचीको फूल पाइन्छ । मौरी किसान तिमिल्सिनाले वर्षभरिमा ६ देखि ८ पटक मह उत्पादन लिन सकिने बताए ।

4-h4

देशभर मौरी चराएर हिँड्ने किसानहरूको संख्या २ हजारदेखि २ हजार ५ सय रहेको छ । मधेस प्रदेशमा मात्रै ८ हजार गोला मौरी छ भन्ने प्रारम्भिक तथ्यांक छ । व्यावसायिक रूपमा लामो यात्रामा मौरी लिएर हिँड्ने किसानको संख्या भने कम छ । बारामा २ जना मात्रै छन् । सय गोलामा मौरी पाल्दा घाटा लागे पनि सबै खर्च कटाएर ६/७ लाख आम्दानी कतै नजाने उनीहरूको भनाइ छ । ‘आजसम्म मह बिक्री भएन भनेर चिन्ता लिएर बस्नुपरेको छैन, व्यापारीहरू घरमै आउँछन्,’ उनले भने ।

सेरेनाबाहेक अरू जातका मौरी यहाँ पाल्न पाइँदैन – नगरप्रमुख

स्वर्गद्वारी नगरपालिकाका प्रमुख टेकप्रसाद भण्डारीले आफ्नो पालिकालाई ‘सेरेना मौरी जोन’ घोषणा भएकाले अन्य जातका मौरी पाल्न रोक लगाइएको बताएका छन् । रातोपाटीसँगको कुराकानीमा नगरप्रमुख भण्डारीले बारा, सर्लाही, रौतहट, चितवन, कपिलवस्तुका किसानहरूले मेलिफेरा जातको मौरी चरनका लागि ल्याउने गरेको बताए । ‘सेरेनाभन्दा अरू जातको मौरी यहाँ ल्याउन नदिने निर्णय भएको छ,’ नगरप्रमुख भण्डारीले भने, ‘मेलिफेरा यहाँ ल्याउँदा त्यसले सेरेना जातको मौरीलाई विस्थापित गर्‍यो भनेर यहाँका व्यवसायीहरूले पालिकामा भनेकाले हामीले यस्तो निर्णय गरेका हौं ।’

यता किसानहरू भने सेरेनाको तुलनामा मेलिफेरा जातको मौरीले धेरै उत्पादन दिने र छिटो आम्दानी लिन सकिने बताउँछन् । सेरेना जातको मौरी पालन गर्दा खर्च पनि नउठ्ने किसानहरूको भनाइ छ । नगरप्रमुख भण्डारीले भने सेरेना जातको मौरी पालन गर्न चाहने किसानहरूले जति मौरी ल्याए पनि पालिकाले अवरोध नगर्ने बताए । 

3-h2

‘हाम्रो पालिका सेरेना जोन भनेर घोषणा भएको छ, सेरेना मौरी उहाँहरूले ल्याउनुहुन्छ भने जति पनि ल्याउन सक्नुहुन्छ,’ उनले भने, ‘अन्तका किसानहरूको भनाइ के छ हामीलाई थाहा छैन, यहाँका किसानहरूको भनाइ हामीलाई सेरेना पालन क्षेत्र भनेर घोषणा गरिदिनुपर्‍यो भन्ने छ ।’ नगरप्रमुख भण्डारीले आफ्नो पालिकामा मौरी पालनका लागि स्रोत र मौरीका जातहरू, उत्पादनसम्बन्धी अध्ययन अनुसन्धान भए पनि त्यस बारे आफूलाई कुनै जानकारी नभएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप