शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पोखरा सहकारी हिनामिना : बचत फिर्ता गर्ने ज्ञारेण्टी दिएर प्रहरीबाट छुटे ८ सञ्चालक

बुधबार, १७ मङ्सिर २०८२, ११ : ५६
बुधबार, १७ मङ्सिर २०८२

सारांश

  • पोखरा सहकारीका सञ्चालकहरू ८९ करोड हिनामिनाको आरोपमा पक्राउ परेका थिए, तर रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएपछि छुटेका छन्।
  • सञ्चालकहरूले ३१ करोडको सम्पत्ति र चेक ग्यारेन्टीस्वरूप राखेर ३-४ महिनाभित्र बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन्।
  • प्रहरीले तोकिएको समयमा रकम फिर्ता नभए पुनः पक्राउ गरी ठगी मुद्दा चलाउने जनाएको छ, भने केही बचतकर्ताले जाहेरी दिएका छन्।

पोखरा । करिब ८९ करोड रुपैयाँ हिनामिनाको आरोपमा पक्राउ परेका पोखरा सहकारीका सञ्चालक तथा पदाधिकारीहरू रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएर छुटेका छन्। कात्तिक १९ गते पक्राउ परेका उनीहरू घरजग्गा र नगद बुझाएर छुटेका हुन् ।

प्रहरी हिरासतमा रहेका सञ्चालकहरूले करिब ३१ करोड रुपैयाँ बराबरको सम्पत्ति (घरजग्गा र चेक) ग्यारेन्टी स्वरूप राखेर ३ देखि ४ महिनाभित्र बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिबद्धता जनएका छन् । रकम फिर्ता गर्ने सहमतिपछि उनीहरूलाई आफन्तको जिम्मा लगाइएको कास्की प्रहरीका इन्स्पेक्टर गणेश पाण्डेले जानकारी दिए ।

ठगी मुद्दामा प्रहरीले १ वर्षसम्म अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था भए पनि निक्षेपकर्ताको रकम फिर्तालाई प्राथमिकता दिँदै प्रहरीले उनीहरूलाई हदम्याद तोकेर छाडेको हो । प्रहरीका अनुसार आरोपीहरूले २५ करोड रुपैयाँ बराबरको घरजग्गा देखाएका छन् भने ४ करोड रुपैयाँको चेक ‘समन्वय समिति’ लाई बुझाएका छन् । हदम्यादभित्र रकम फिर्ता गरेमा उनीहरू विरुद्ध मुद्दा नचलाइने पाण्डेले जानकारी दिए । तर, तोकिएको समयसीमाभित्र रकम फिर्ता नभएमा पुनः पक्राउ गरी ठगी मुद्दा अघि बढाइने प्रहरीले जनाएको छ ।

सहकारी रजिस्ट्रारको कार्यालयले ८९ करोड हिनामिना भएको वित्तीय विश्लेषण प्रतिवेदनसहित प्रहरीमा जाहेरी दिएपछि सहकारीका मुख्य पदाधिकारीहरू पक्राउ परेका थिए । पक्राउ पर्नेहरूमा अध्यक्ष सुरेन्द्रबहादुर गोदार, उपाध्यक्ष: शम्भुराज बास्तोला, प्रबन्धक भीष्मप्रसाद गुरुङ, सचिव दिलबहादुर केसी खत्री, कोषाध्यक्ष तथा ऋण संयोजक हिरामणि दाहाल, पूर्वसचिव: इन्द्रप्रसाद द्वा र सञ्चालक सदस्य दोर्जे तामाङ छन् । प्रहरी, बचतकर्ता र पक्राउ परेकाहरूबीच समन्वय गर्न समिति बनेको छ ।

समितिका संयोजक गुन्जमान गुरुङले जेलमा थुनेर मात्रै रकम नउठ्ने विगतको उदाहरणका कारण समन्वय गरिएको बताए । `केहि बचतकर्ताले जाहेरी दिनुभएको छ । उहाँहरूसँग हामी सल्लाहमै छौँ,´ उनले भने, `सञ्चालकलाई जेल कोचेर मात्र पैसा फिर्ता आउँदैन भन्ने विगतको अनुभवले देखायो । त्यसैले हामीले रोडम्याप बनाएर अघि बढ्दैछौँ ।´ अहिले २७ करोडको जग्गा र ४ करोड क्यास (चेक) सुरक्षण गरिएको उनले बताए ।

सहकारीको समस्या समाधानका लागि ५२ भन्दा बढी सञ्चालक समिति सदस्य र ६ सयभन्दा बढी ऋणीहरूलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने अवस्था छ । प्रहरीका अनुसार, ५–७ हजार रुपैयाँ ऋण भएका साना ऋणीहरू समेत मुद्दाको दायरामा पर्ने देखिन्छ । यद्यपि, ऋणीहरूले पनि ऋण तिर्ने प्रतिबद्धता जनाएकाले वातावरण केही सहज बनेको सहजीकरण समितिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप