शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
पर्यटन

पर्यटक आगमन उत्साहजनक, कोभिड अगाडिको लय समात्ला ?

बुधबार, १७ मङ्सिर २०८२, १३ : ३१
बुधबार, १७ मङ्सिर २०८२

सारांश

  • जेनजी आन्दोलनपछि पनि नेपालमा पर्यटक आगमन उत्साहजनक रहेको छ।
  • सन् २०२५ को ११ महिनामा १० लाख ६० हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन्।
  • अमेरिकी र भारतीय पर्यटकको संख्यामा वृद्धि हुँदा चीनबाट आउने पर्यटक घटेका छन्।

काठमाडौँ । भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’पछिको विकसित परिस्थितिमा पनि नेपालमा पर्यटक आगमन उत्साहजनक रहेको छ । सामान्यतया: सडक आन्दोलन, हड्ताल वा राजनीतिक अस्थिरताको सानो संकेतले पनि प्रभावित हुने पर्यटन क्षेत्र यसपटक भने आन्दोलनका बाबजुद चलायमान नै देखिएको हो ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२५ को जनवरीदेखि नोभेम्बरसम्मको ११ महिनामा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या १० लाख ६० हजार नाघेको छ । सडकमा देखिएको असन्तुष्टि र आन्दोलनका स्वरहरूले समेत विदेशी पाहुनाको ‘नेपाल मोह’ लाई कम गर्न नसकेको तथ्याङ्कले देखाएको छ ।

यो तथ्याङ्कले नेपालको पर्यटन क्षेत्र अब ‘रिकभरी’ को चरण पार गरेर विस्तार र समृद्धिको चरणमा प्रवेश गरेको स्पष्ट संकेत गरेको छ ।

पर्यटन बोर्डका अनुसार विगतका वर्षहरूमा नेपालमा हुने राजनीतिक आन्दोलन वा सडक प्रदर्शनले अन्तर्राष्ट्रिय मिडियामा नकारात्मक सन्देश प्रवाह गर्थ्यो, जसको प्रत्यक्ष असर ‘बुकिङ क्यान्सिलेसन’ मा देखिन्थ्यो । तर यसपटकको ‘जेनजी आन्दोलन’ का बाबजुद त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने पर्यटकको लर्को घटेन, बरु बढ्यो ।

पर्यटन व्यवसायीहरूका अनुसार यसको मुख्य कारण नेपालप्रतिको अन्तर्राष्ट्रिय विश्वास र पर्यटकहरूको बदलिएको मनोविज्ञान हो । पर्यटन व्यवसायी सन्तोष साहले भने, ‘अहिलेका पर्यटक सुसूचित छन् । उनीहरूलाई नेपालको आन्दोलन पर्यटक लक्षित हुँदैनन् भन्ने थाहा छ । जेनजी आन्दोलन लोकतान्त्रिक अभ्यासको एउटा पाटो थियो, जसलाई पर्यटकले असुरक्षाभन्दा पनि नेपालको जीवन्त समाजको रूपमा बुझे ।’

  • नेपाल पर्यटन बोर्डको आक्रामक रणनीति

पर्यटक आगमनमा देखिएको यो वृद्धिमा नेपाल पर्यटन बोर्डको रणनीतिक योजना, कूटनीतिक पहल र निरन्तरको बजारीकरणले ठुलो भूमिका खेलेको बोर्डका सीईओ दीपकराज जोशी बताउँछन् । ‘पर्यटनलाई असर पर्न सक्ने नकारात्मक प्रभावलाई चिर्न बोर्डले अन्तर्राष्ट्रिय बजारमा सकारात्मक सन्देश प्रवाह गर्न कुनै कसर बाँकी राखेको छैन,’ उनले भने ।

बोर्डले डिजिटल प्लेटफर्ममार्फत ‘नेपाल इज सेफ एण्ड ब्युटिफुल’ (नेपाल सुरक्षित र सुन्दर छ) भन्ने सन्देश विश्वभर फैलाउन आक्रामक ‘डिजिटल र सोसल मिडिया क्याम्पेन’ चलाएको छ । पर्यटकलाई लक्षित गर्दै फेसबुक लाइभ, टिकटक, इन्स्टाग्राम र युट्युबमार्फत नेपालका साहसिक र सांस्कृतिक पक्षहरूको प्रचार गरिरहेको बोर्डले जनाएको छ ।

सन् २०२५ मा बोर्डले लण्डनको डब्लुटीएम, बर्लिनको आईटीबी र भारतको साट्टे जस्ता प्रमुख अन्तर्राष्ट्रिय पर्यटन मेलाहरूमा नेपालको बलियो उपस्थिति जनाएको थियो । ‘निजी क्षेत्रसँगको सहकार्यमा बोर्डले ती मञ्चहरूमा नेपालको ‘रि–ब्रान्डिङ’ ग-यो,’ सीईओ जोशीले भने ।

  • बजारको फेरिएको समीकरणः चीन सुस्ताउँदा अमेरिका र भारतको भर

सन् २०२५ को ११ महिनाको तथ्याङ्कलाई कोभिडअघिको ‘बेन्चमार्क’ वर्ष सन् २०१९ सँग तुलना गर्दा नेपालको पर्यटन बजारमा संरचनात्मक परिवर्तन आएको देखिन्छ । सन् २०१९ को ११ महिनामा १० लाख ९६ हजार पर्यटक आएकोमा यस वर्ष सोही अवधिमा १० लाख ६० हजार भित्रिएका छन् । यो संख्या केवल ३.३ प्रतिशतले मात्र कम हो । तर स्रोत बजारमा भने ठुलो परिवर्तन देखिएको छ ।

पश्चिमा मुलुकहरू र अमेरिकाबाट नेपाल आउने पर्यटकको संख्या उत्साहजनक छ । कोभिड अगाडि सन् २०१९ मा अमेरिकाबाट ८६ हजार ९९४ पर्यटक आएकोमा सन् २०२५ को ११ महिनामै १ लाख ५ हजार २३९ जना भित्रिएका छन् । यो कोभिड अघिको तुलनामा २१ प्रतिशतको वृद्धि हो ।

पर्यटन बोर्डले अमेरिकी बजारमा गरेको ‘लक्जरी’ र ‘एडभेन्चर’ केन्द्रित प्रचारप्रसारले काम गरेको देखिन्छ । डलरको भाउ बढेसँगै अमेरिकी पर्यटकका लागि नेपाल सस्तो गन्तव्य बन्नु र हवाई सञ्जालमा भएको सुधारले पनि यसमा टेवा पु-याएको बोर्डले जनाएको छ ।

  • दक्षिण एसियाली बजारको वर्चस्व

छिमेकी मुलुक भारत नेपालको पर्यटनको सधैँ प्रमुख आधारस्तम्भ रहँदै आएको छ । कोभिड अघिको तुलनामा भारतीय पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको छ । सन् २०१९ को ११ महिनामा २ लाख ३० हजार भारतीय पर्यटक आएकोमा सन् २०२५ मा यो संख्या बढेर २ लाख ६२ हजार ३४५ पुगेको छ । यो १३.७ प्रतिशतको वृद्धि हो ।

सबैभन्दा आश्चर्यजनक वृद्धि भने बंगलादेशबाट भएको छ । सन् २०१९ मा करिब २२ हजार बंगलादेशी पर्यटक आएकोमा सन् २०२५ मा यो संख्या १३१ प्रतिशतले बढेर ५० हजार ९४० पुगेको छ । बंगलादेशमा बढ्दो मध्यमवर्गीय जनसंख्या र नेपालसँगको सहज ‘कनेक्टिभिटी’का कारण बंगलादेशीहरूका लागि नेपाल पहिलो रोजाइको वैदेशिक गन्तव्य बन्दै गएको पर्यटन व्यवसायी बताउँछन् ।

  • चिनियाँ बजारको चिन्ता

नेपालको पर्यटनमा सधैँ उत्साह थप्ने उत्तरी छिमेकी तथा कोभिड अघिको दोस्रो ठुलो स्रोत बजार चीनबाट हुने आगमन भने अझै बौरिन सकेको छैन । सन् २०१९ को ११ महिनामा १ लाख ५२ हजार ८६८ चिनियाँ पर्यटक नेपाल आएका थिए । तर सन् २०२५ को सोही अवधिमा यो संख्या ८६ हजार ८०० मा सीमित भएको छ । यो कोभिडअघिको तुलनामा ४३.२ प्रतिशतको गिरावट हो ।

चीनको अर्थतन्त्रमा देखिएको सुस्तता र अन्तर्राष्ट्रिय भ्रमणमा चिनियाँ सरकारको नीति अझै पूर्ण रूपमा खुकुलो नहुनु यसका कारण हुनसक्ने ट्रेकिङ एजेन्सीहरूले जनाएका छन् ।

त्यस्तै थाइल्याण्ड, जापान र दक्षिण कोरियाजस्ता पूर्वी एसियाली मुलुकहरूबाट हुने आगमन पनि कोभिड अघिको तुलनामा क्रमशः २७, १९ र २२ प्रतिशतले कम देखिन्छ । समग्र एसियाली समूहमा २८.६ प्रतिशतको गिरावट देखिएको छ ।

  • युरोपबाट आउने पर्यटकमा सुधार

मुख्य पर्यटकीय सिजन मानिने नोभेम्बर महिनामा १ लाख १६ हजार ५५३ पर्यटक भित्रिएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.८ प्रतिशतले बढी हो । यद्यपि यो संख्या सन् २०१९ को नोभेम्बर (१ लाख ३० हजार) को तुलनामा भने १०.६ प्रतिशतले कम हो ।

तर यसमा युरोपबाट आउने पर्यटकको संख्यामा भने सुधार देखिएको छ । सन् २०१९ को नोभेम्बरको तुलनामा यस वर्ष युरोपेली पर्यटकको आगमन १ प्रतिशतले बढी छ भने अघिल्लो वर्ष २०२४ को तुलनामा ७.२ प्रतिशतले वृद्धि भएको छ । यसैगरी काठमाडौँ, पोखरा, चितवन र लुम्बिनीका तारे होटलहरूको अकुपेन्सी दरमा पनि सुधार हुँदै गएको होटल संघ नेपाल (हान) ले जनाएको छ ।

  • चिनियाँ पर्यटक फर्काउनु चुनौती

तथ्याङ्क उत्साहजनक भए पनि चुनौती सकिएका छैनन् । चिनियाँ पर्यटकलाई पुरानै लयमा फर्काउनु अहिलेको मुख्य चुनौती हो । यसका लागि नेपाल पर्यटन बोर्डले चीन लक्षित विशेष प्याकेज र हवाई सञ्जाल विस्तारमा पहल गर्नुपर्ने पर्यटन व्यवसायी साह बताउँछन् ।

पर्यटन बोर्डले आगामी वर्षहरूमा गुणस्तरीय पर्यटक भित्र्याउने र पर्यटकको बसाइ अवधि लम्ब्याउने रणनीति लिने बताएको छ । ‘हामीले संख्यामा मात्र होइन, गुणस्तरमा पनि ध्यान दिएका छौँ । जेनजी आन्दोलनजस्ता घटनाक्रमहरू आन्तरिक राजनीति र लोकतन्त्रको एउटा पक्षका रूपमा केन्द्रित विषय हो, जसले पर्यटकलाई तर्साउँदैन भन्ने सन्देश दिन हामी सफल भएका छौँ,’ बोर्डका एक सदस्यले भने ।

समग्रमा सन् २०२५ को ११ महिनाको तथ्याङ्कले नेपालको पर्यटन उद्योग अत्यन्तै बलियो, परिपक्व र लचिलो रहेको प्रमाणित गरेको छ । चिनियाँ र पूर्वी एसियाली बजार सुस्त हुँदाहुँदै पनि अमेरिका, भारत र बंगलादेशका पर्यटक आगमनमा देखिएको उच्च वृद्धिले समग्र आगमनलाई सन्तुलित बनाएको पर्यटक व्यवसायी बताउँछन् ।

सन् २०१९ कै हाराहारीमा (९६.४%) पर्यटक भित्रिनु र संख्या १० लाख ६० हजारभन्दा माथि पुग्नुले सन् २०२६ नेपालको पर्यटनका लागि उत्साहजनक हुने सरोकारवालाहरूको अपेक्षा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमृत चिमरिया
अमृत चिमरिया
लेखकबाट थप