शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रतिनिधिसभा चुनाव

चुनावका लागि उम्मेदवार सिफारिस गर्न तल्ला कमिटीलाई जसपा नेपालको परिपत्र

बुधबार, १७ मङ्सिर २०८२, १७ : ०५
बुधबार, १७ मङ्सिर २०८२

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेर पठाउन मातहतका कमिटीलाई परिपत्र गरेको छ । प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उम्मेदवारको नाम सिफारिस गरेर पठाउन जिल्ला र प्रदेश कमिटीलाई परिपत्र गरिएको जसपा नेपालका महासचिव लालबाबु राउतले जानकारी दिए । 

प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय समितिले क्षेत्रीय भेला बोलाएर त्यस भेलाबाट कम्तीमा तीन जना उम्मेदवारको नाम चयन गरी पुस १० गतेभित्र जिल्ला समितिमा पठाउने र जिल्ला समितिले प्रत्येक क्षेत्रबाट कम्तीमा ३ जनाको नाम पुस १५ गतेभित्र प्रदेश समितिमा पठाउनुपर्ने परिपत्रमा उल्लेख छ । जिल्लाबाट प्राप्त उम्मेदवारको नाममा आवश्यक छलफल गरी प्रत्यक्षका लागि कम्तीमा तीन जनाको नाम पुस २० गतेभित्र केन्द्रमा सिफारिस गर्न जसपा नेपालले भनेको छ । 

प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय समिति गठन हुन नसक्ने अवस्थामा वा एक मात्र निर्वाचन क्षेत्र रहेका जिल्लामा संसदीय निर्वाचन क्षेत्र समन्वय समितिले गर्ने काम जिल्ला समितिले नै गर्ने परिपत्रमा भनिएको छ । 

समानुपातिकतर्फ प्रत्येक जिल्लाबाट जिल्ला समितिले कम्तीमा तीन जना पुरुष र तीन जना महिला जातीय क्लस्टर अनुसार समावेशी हुने गरी प्रदेश समितिमा आगामी पुस १ गतेभित्र पठाउन भनिएको छ । प्रदेश समितिले प्राप्त गरेको उक्त नामावलीमाथि छलफल गरी आफ्नो राय सहित उम्मेदवारहरूको नाम पुस ५ गतेभित्र केन्द्रीय कार्यालयमा पठाउन परिपत्र गरिएको छ ।
 
पार्टी विधान अनुसार योग्यता पूरा गरेका कोही पनि संगठित पार्टी सदस्यले प्रत्यक्ष वा समानुपातिकतर्फ उम्मेदवार हुन चाहेमा सोझै केन्द्रीय कार्यालयमा आवेदन दिनसक्ने पनि जसपा नेपालले उल्लेख गरेको छ । यसरी प्राप्त भएको आवेदनमाथि संघीय संसदीय बोर्डले सम्बन्धित जिल्ला र प्रदेश समितिसँग परामर्श गरी आवश्यक निर्णय लिने जसपा नेपालका महासचिव राउतले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप