शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सर्वोच्चको किर्ते पत्र देखाएर पद जोगाउन खोजेका निलम्बित वडाध्यक्षमाथि कारबाही गर्न पत्राचार

बिहीबार, १८ मङ्सिर २०८२, १४ : १३
बिहीबार, १८ मङ्सिर २०८२

सारांश

  • जीतपुर सिमरा उपमहानगरपालिकाका वडाध्यक्ष ताराबहादुर कार्कीले सर्वोच्च अदालतको कागजपत्र किर्ते गरेको प्रमाणित भयो।
  • कार्कीले सफाइ पाएको भन्दै पुनर्बहालीका लागि निवेदन दिएपछि सर्वोच्चको फैसला किर्ते भएको पुष्टि भयो।
  • उपमहानगरपालिकाले कारबाहीका लागि प्रहरीलाई पत्राचार गर्‍यो, र कार्की हाल फरार छन्।

शारदा पोखरेल । भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका जीतपुर सिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष ताराबहादुर कार्कीले सर्वोच्च अदालतको कागजपत्र किर्ते गरेको प्रमाणित भएको छ ।

कार्कीले गत बुधबार सर्वोच्च अदालतबाट सफाइ पाएको भन्दै पुनर्बहालीका लागि उपमहानगरमा लिखित निवेदन दिएका थिए । उनले बुझाएको निवेदनसहितको कागजपत्रमाथि उपमहानगरले सर्वोच्च अदालतलाई सफाइ पाएरनपाएको सम्बन्धमा जवाफ मागेपछि सर्वोच्चको फैसला किर्ते भएको प्रमाणित भएको हो । 

सर्वोच्च अदालतले उपमहानगरलाई पठाएको पत्रमा भनिएको छ, 'उपरोक्त सम्बन्धमा पुनरावेदकरनिवेदक ताराबहादुर कार्की र विपक्षी नेपाल सरकार भएको घुस मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर प्रतिवादी कार्कीले दायर गरेको मुद्दा हाल चालु अवस्थामा रहेको र नियमित पेसीमा भएकोले फैसलासमेत नभएको व्यहोरा जानकारी गराइन्छ ।'

सर्वोच्चले पत्रमार्फत ०८१–अच्–०६२२ मुद्दा २०८१ असोज ४ गते दायर भई हाल चालु अवस्थामा रहेको जनाएको छ । 

कार्कीको मुद्दामा भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’को क्रममा कागजपत्र जलेर नष्ट भएको पछिल्लो सर्वोच्चको पेसीमा उल्लेख छ । उपमहानगरले आन्दोलनमा कागजपत्र जलेको मौका छोपेर वडाध्यक्ष कार्कीले सफाइ पाएको किर्ते फैसला बनाएर ल्याएको जनाएको छ । 

कार्कीले सर्वोच्चको लेटर प्याड र छाप किर्ते गरेर सफाइ पाएको फैसलामा सर्वोच्चका शाखा अधिकृत योगेन्द्र पराजुलीको हस्ताक्षर रहेको छ । कार्कीले उपमहानगरमा बुझाएको सर्वोच्चको किर्ते पत्रमा उल्लेख छ– 'उपरोक्त सम्बन्धमा पुनरावेदन र निवेदक ताराबहादुर कार्की र प्रत्यार्थीरविपक्षी नेपाल सरकार भएको घुस लिई भ्रष्टाचार गरेको मुद्दामा तपाईंले फैसलाको जानकारी पाऊँ भनी यस अदालतमा निवेदन पेस दिएकोमा उक्त मुद्दा २०८२ भदौ २० मा इजलाससमक्ष पेस हुँदा तपाईंले आरोपदाबीबाट सफाइ पाउने ठहरी फैसला भएको राय किताबबाट देखिएको व्यहोरा जानकारी गराइन्छ ।'

t5

भदौ २० गते सफाइ पाएको भनिएको मुद्दामा कार्की आफैँले भदौ २२ गतेको मिति उल्लेख भएको पत्र उपमहानगरमा बुझाएका थिए । फैसला भएको दुई दिनभित्र कार्की आफैँले कागजपत्र बोकेर ल्याउनु शंकास्पद देखिएको भन्दै उपमहानगरले छानबिन सुरु गरेको हो ।

t6

कार्की २०८१ माघ १० गते विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका हुन् । गत वर्ष पुस २ गते घरबाटो सिफारिसमा सेवाग्राहीसँग ५ लाख नगद रकम लिएको अवस्थामा अख्तियारको टोलीले कार्कीलाई नियन्त्रणमा लिएर कारबाही अगाडि बढाएको थियो । 

कारबाहीका लागि प्रहरीलाई पत्राचार

जीतपुर सिमरा उपमहानगरपालिकाले सर्वोच्चको कागजपत्र किर्ते गर्ने निलम्बित वडाध्यक्ष ताराबहादुर कार्कीलाई कारबाहीका लागि प्रहरीलाई पत्राचार गरेको छ । उपमहानगरले मंगलबार इलाका प्रहरी कार्यालय सिमरालाई आवश्यक छानबिन तथा कारबाही गर्न पत्राचार गरेको हो । 

t7

जीतपुर सिमरा उपमहानगरका प्रमुख राजन पौडेलले सर्वोच्चको कागजपत्र किर्ते भएको अदालतले नै प्रमाणित गरिसकेकाले कारबाहीका लागि प्रहरीलाई पत्राचार गरिएको बताए । यता, इलाका प्रहरी कार्यालय सिमराले भने सरकारी वकिलसँग छलफल गरेर मुद्दाको सक्कल कागजपत्र मगाएर अनुसन्धान सुरु गर्ने जनाएको छ । इलाका प्रहरी कार्यालय सिमराका प्रमुख वेदप्रकाश जोशीले वडाध्यक्ष कार्की हाल फरार रहेको जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप