बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
‘वारपार’मा एमाले सचिव पद्मा अर्याल

‘भदौ २४ केपी ओलीविरुद्ध मात्र होइन, राज्य लक्षित रहेछ’

बिहीबार, १८ मङ्सिर २०८२, १८ : ४४
बिहीबार, १८ मङ्सिर २०८२

काठमाडौं । पार्टीको ११ औं महाधिवेशन नजिकिँदै जाँदा नेकपा एमालेमा सरगर्मी बढेको छ । जेनजी आन्दोलनपछि सबैजसो पार्टीमा नेतृत्व हस्तान्तरण र पुनर्गठनको बहस चल्दा एमाले अलि भिन्न देखिएको छ । यद्यपि जेनजी आन्दोलनको रापतापले नै एमालेलाई महाधिवेशनसम्म पुर्‍याएको चाहिँ हो । 

महाधिवेशनपछि एमालेको नेतृत्वमा को आउला ? ईश्वर पोखरेलले पनि अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिसकेकाले केपी ओली नै हुन्छन् भन्ने ग्यारेन्टी त रहेन । ‘वारपार’मा अन्तर्वार्ताका लागि रातोपाटी स्टुडियोमा आएकी एमाले सचिव तथा पूर्वमन्त्री पद्मा अर्याल अबको अध्यक्ष पनि केपी शर्मा ओली नै हुने दाबी गर्छिन् ।  ‘पार्टीलाई धुलोबाट उठाएर ओलीले नै बचाएको’ र गत निर्वाचनमा घेराबन्दी र महागठबन्धनका बाबजुद लोकप्रिय मतमा एमालेलाई पहिलो पार्टी बनाएको उनको जिकिर छ । 

‘वारपार’मा अर्यालले जेनजी आन्दोलनको परिस्थिति, त्यसपछिका घटनाक्रम, ओली सत्ताच्युत हुनुका कारणबारे आफ्नै तर्क गरेकी छन् । साथै, एमाले महाधिवेशन र नेतृत्वमा प्रतिस्पर्धाको विषयमा पनि उनीसँग विस्तारमा कुराकानी गरिएको छ । प्रस्तुत छ, अन्तर्वार्ताको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न सकिनेछ) :

महाधिवेशनको तयारी चाहिँ कस्तो भइरहेछ, कहाँ पुग्यो ?

महाधिवेशनको तयारी लगभग सकिएको छ । किनकि यो महाधिवेशनमा धेरै त्यस्तो एक्सरसाइज (अभ्यास) गर्नुपर्ने विषय केही पनि रहेनन् । विधान महाधिवेशनले दस्तावेजहरू टुङ्ग्याइसकेको छ । अब ती दस्तावेजहरूलाई अन्तिम रूप दिने कुरा मात्रै हो, त्यहाँबाट पारित भएर आएकालाई महाधिवेशनले अनुमोदन गर्ने कुरा मात्रै हो । त्यसैले त्यो पाटोमा धेरै समय दिनु नपर्ने, छलफल गर्नु नपर्ने भयो । 

राष्ट्रिय महाधिवेशन जो नेतृत्व चयनसँग मात्रै जाने भएपछि त्यही दिशातर्फ मात्रै जाने रहेछ । उद्घाटन सत्र सार्वजनिक गर्ने, सभाका बिचमा गर्ने भन्ने पार्टीले जे सोच बनाएको छ, त्यसमा अलिकति केन्द्रित भएको छ । अरू त प्रतिनिधि छनोट भइसकेपछि प्राविधिक पाटोको कुरा हो । त्यसैले लगभग हामी अन्तिम चरणमै पुगिसकेका छौँ ।

आठौँ र नवौँ महाधिवेशन जस्तो हुने भयो ११ औँ महाधिवेशन, होइन ? दुईवटा प्यानल बनाएर निर्वाचन लड्ने ?

नेतृत्वको तहबाट प्रयत्न गरेर सर्वसम्मतिका निम्ति, एकताबद्ध पार्टी कमिटी निर्माणको निम्ति गर्ने काम बाँकी नै छ । यद्यपि केही-केही मेरो सूचना अनुसार अध्यक्षले व्यक्तिगत छलफल त गर्नुभएको छ । तैपनि अब टुङ्ग्याउनुपर्‍यो भन्ने ढङ्गले जुन छलफल हुनुपर्ने हो, त्यतातिर गइनसकेको अवस्था छ । अब महाधिवेशन प्रतिनिधि छनोट टुंगिएपछि सम्भवतः अध्यक्षको सेड्युल (कार्यतालिका) मा त्यो कार्यक्रम छ भन्ने म बुझ्छु । 

Padma Aryal2

अहिले त महाधिवेशन घोषणा भयो । अब नेतृत्वको छलफल खुला गरियो । खुला गरिसकेपछि उठ्न मन भएका मान्छेहरूले 'म उठ्छु' भन्ने, दाबी प्रस्तुत गर्ने, आफू प्रस्तुत हुने, कसैलाई समर्थन गर्न मन भएका मान्छेहरूले 'मैले त फलानालाई समर्थन गर्छु' भनेर भन्ने, यो अहिले बहसको निम्ति, छलफलको निम्ति छुट भइसकेपछि त्यो स्वभाविक हो । आजको चरण भनेको त्यही चरणमा छ । 

तपाईंले एउटा महत्वपूर्ण सङ्केत गर्नुभयो, जो अध्यक्षको प्रत्यासी भनेर बाहिर देखिइसकेको छ, वर्तमान अध्यक्ष र वरिष्ठ उपाध्यक्षबिच । उहाँहरुबिच सहमति हुनसक्ने सम्भवना पनि छ ?  

अध्यक्ष (केपी शर्मा ओली) ले पहल गर्नुहुन्छ । अब उहाँको पहल के हो भने ओपन सेक्रेट कुरा भन्दिन्छु, उहाँले मेरो मातहतमा हामी सबै समेटिएर जाऔँ भन्ने प्रस्ताव गर्नुहुन्छ ।

सहमति चाहिँ गरौँ तर मेरा नाममा होइन त ?

त्यो त उहाँ आफैं पनि बोल्नुभएको छ । कार्यकर्ता पनि एक ढङ्गले प्रस्तुत भइसकेका छन् । त्यसैले 'मेरो नेतृत्वमा अब एकताबद्ध पार्टी निर्माण गरौँ' भन्ने कुरामा पार्टी अध्यक्षले कुनै चीजको कसर राख्नुपर्ने पनि छैन, राख्नुहुन्छ भन्ने लाग्दैन ।

भनेको ईश्वर पोखरेलसँग उहाँले अध्यक्षकै कुरामा पनि संवाद गर्न सक्नुहुन्छ, सम्भावना छ ?

ईश्वर कमरेडले त आफ्नो चाहना त राख्नुहुन्छ नि । उहाँले मलाई छोड्नुस् भन्नुहोला । निष्कर्षले के सही परिणाम दिन्छ कि दिँदैन, हामीले अपेक्षा गरेको परिणाम दिन्छ कि दिँदैन, त्यो चाहिँ 'वेट एण्ड सी' मै छ । 

एउटा मलाई लागेको, यदि म गलत रहेछु भने सच्याइदिनुहोला । प्रायः शीर्ष नेताहरू सबैसँग नजिक बसेर काम गरेको अनुभव छ । तपाईँलाई कहिले वामदेव गौतमको मान्छे भनियो, अब हो कि होइन थाहा छैन मलाई । झलनाथ खनालको पनि त्यत्तिकै किचेन क्याबिनेटमै हुनुहुन्थ्यो । अहिलेको अध्यक्षसँग पनि त्यत्तिकै निकट भएर काम गर्नुभयो । सायद माधव नेपालसँग पनि तपाईँले काम गर्नुभयो । अब विद्या भण्डारीसँग पनि यसै तपाईँको छँदै थियो । भनेपछि त अहिले त ईश्वर पोखरेललाई मिलाएर हुँदैन नि त फेरि, विद्या भण्डारीलाई सहमत गराउनुपर्छ होइन ?

पहिले मसँगै बोलिएको, जोडिएको कुरा गर्छु । म एकदम 'टु दी पोइन्ट'  कुरा गर्छु धेरै पृष्ठभूमिका कुरा गर्दिन । जहाँसम्म वामदेव गौतम कमरेडको कुरा हो, उहाँसँग एउटा सन्दर्भले जोडैको हो । महाकाली सम्झौता भइरहँदा हामी त साना-सानै थियौँ उमेरको हिसाबले पनि, तर सङ्गठित भएर जिम्मा लिएर काम गरेको चाहिँ समय भइसकेको थियो । त्यतिखेर महाकाली सन्धि बेठिक भयो, नेपाल राष्ट्र ठगियो भन्ने जुन एजेन्डा बाहिर प्रस्तुत भएको थियो । त्यो एजेन्डाले हामीलाई तानेको हो । राष्ट्रवादी एजेन्डा लाग्यो ।

त्यस कुराको नेतृत्व वामदेव कमरेडले गर्नुभएको थियो र त्यो कारणले छैठौँ राष्ट्रिय महाधिवेशनमा वामदेव कमरेडसँग जोडिएको हो । 

अनि त्यसपछि त्यसको लोगो लाइदिने, त्यो ढङ्गले प्रचार गर्ने, त्यो राजनीतिको संस्कार नै भयो । पछि त माले भनेर खप्की खाइरहनुपर्ने भयो । अब पछाडि, अब जहाँसम्म त्यसपछि निर्माण भएको पार्टीको नेतृत्वको कुरा हो, मेरो मान्यता के हो भन्नुहोला भने हाम्रा असहमति राख्ने हाम्रा पद्धतिहरू छन् । हामी हाम्रा पद्धतिभित्र रहेर हाम्रा असहमतिहरू राख्छौँ । नेतृत्वसँग पनि हाम्रा कुराहरू भजाउँछौँ, नभजाउने कुरा होइन । तर सार्वजनिक रूपमा हामी के गर्दैनौँ भने जो नेतृत्वलाई एउटा कार्यकालको निम्ति विश्वास गरेर महाधिवेशनले चुन्छ, त्यो महाधिवेशनले चुनिसकेको नेतृत्वलाई सफल बनाउनुपर्छ भन्ने मेरो मान्यता हो ।

चुन्ने बेलामा मेरो आफ्नो फरक मत थियो भने पनि चुनिसकेपछि जुन नेतृत्वलाई महाधिवेशनले अनुमोदन गर्‍यो त्यो नेतृत्व अर्को महाधिवेशनको निम्ति सबै पार्टी पङ्क्तिले सहयोग गर्नुपर्छ भन्ने मान्यता म आजका दिनमा पनि राख्छु । त्यो बेला पनि त्यही थियो, आज पनि त्यही छ । त्यसैले जो नेतृत्वमा भयो त्यसलाई सहयोग गर्नुपर्छ भन्ने मान्यताले मैले सबैलाई सहयोग गरेर आएको मान्छे हो । 

संस्थापनमा रहेर बस्नुभयो भन्नुपर्‍यो होइन ?

सहयोग गरियो, नेतृत्वलाई सहयोग गरियो, त्यही हो ।

अस्ति केही पदाधिकारीहरूलाई विज्ञप्ति नै निकालेर अहिलेको अध्यक्षलाई आगामी अध्यक्षका लागि पनि समर्थन गर्ने भन्ने आयो । त्यहाँ तपाईंको पनि नाम देखियो नि ?

आयो । म त लगभग बोलेकै थिएँ भन्ने लाग्छ । त्यस्तो कुनै खुल्नुपर्ने कुराको हिसाबले होइन । केही-केही साथीहरूको बारेमा केही प्रश्न थिए । अब कति त्यत्तिकै थियो होला, कतिपय नियोजित थियो होला, त्यो आफ्नै ठाउँमा छ । जुन हिसाबले भए पनि केही-केही साथीहरूको बारेमा अलि दुविधा सिर्जना हुने गरी यता र उता, यता र उता बनाइरहेको सन्दर्भलाई यो अलिकति पब्लिकली (सार्वजनिक रूपमा) क्लियर (प्रष्ट) गर्नुपर्छ भन्ने साथीहरूको सोच होला । 

अर्को कोणबाट के भयो भने यो अध्यक्षको सचिवालयले यस्तो गर्‍यो । अलरेडी भइरहेका मान्छेलाई पनि अनि यसो गरेर यो अफवाह सिर्जना गर्‍यो भन्ने केही उपमा दिएर चर्चा गरेको पनि मैले सुनेको छु । यसमा अध्यक्षको सचिवालयको कुनै रौं बराबरको हात पनि छैन, मैले बुझेको है । अरू पनि जो-जो साथीहरूको नाम जोडियो, कुनै ठाउँमा बसेर छलफल गरेर 'यसो गरौँ न' भन्ने हिसाबले त्यस्तो भएको कुरा होइन । 

अहिलेको अध्यक्षलाई अबको अध्यक्ष पनि बनाउने तपाईंहरूले भनिसक्नुभएको छ । किन उहाँलाई नै बनाउनुपर्‍यो भनेर प्रश्न गर्‍यो भने ? 

यस्तो छ, त्यो के हुन्छ भने…. 

त्यसमा अलिकति सजिलो बनाइदिन्छु म । उहाँ अब २०७१ देखि भनेपछि लगभग १२ वर्ष पार्टीको अध्यक्ष हुनुहुन्छ । १२ वर्षमा ६ वर्ष त उहाँ नै प्रधानमन्त्री हुनुहुँदो रहेछ । तर पनि अब गर्न के काम बाँकी रहेछ उहाँले र फेरि अध्यक्ष बनाउनुपर्ने ? 

एघारौँ राष्ट्रिय महाधिवेशनसँग जोडिएको विधान महाधिवेशनसम्म आउँदा हाम्रो पार्टी पङ्क्तिभित्र के-के कारणले हो, भए जतिका मान्छेहरू केपी ओली नै चाहिन्छ भन्ने ठाउँमा पुगे । कार्यकर्ताको साइकोलोजी पनि अब एक पटक त केपी ओलीले नेतृत्व गर्नुपर्छ भन्ने निर्माण हुँदै गयो । विधान महाधिवेशनले लगभग त्यो साइकोलोजीलाई अनुमोदन गर्‍यो ।

भदौ २३ मा मुलुकमा एउटा राजनीतिक परिस्थिति सिर्जना भयो, राजनीतिक शक्ति सन्तुलनमा पनि परिवर्तन भयो । केही प्रश्नहरू उठे । त्यो भन्दा अगाडि त्यस्तो खास जटिल ढङ्गले उठेको थिएन । पूर्व राष्ट्रपतिज्यूको थोरै सक्रिय हुने चाहना हो कि भन्ने थियो, नत्र त्यो बाहेक अरू त्यस्तो खालको केही पनि थिएन । त्यो बीचमा पनि नेतृत्वको हिसाबले केपी कमरेड धेरैसँग बसेर संवाद गरेकै मैले बुझ्छु ।

भदौ २३ र २४ गतेको घटनापछि पार्टीभित्र पनि डिबेट सुरु भयो केपी ओली नेतृत्वमा रहन हुन्छ कि हुँदैन भनेर । बाहिरबाट पार्टी विरोधीहरूले, अब पार्टीभित्रबाट केही-केही कारणले होला, म कसैको त्यो सदासयतामाथि पनि धेरै प्रश्न गर्दिन । प्रश्न उठिसकेपछि अलि गम्भीर हुने ठाउँमा के पुगेको हो भने बाहिरबाट विरोधीले यति धेरै आक्रमण गरे किन 'यसलाई जसरी पनि फ्याँक्नुपर्छ, पार्टी नेतृत्वबाट पनि फ्याँक्नुपर्छ, राज्यको नेतृत्वबाट पनि फ्याँक्नुपर्छ' भन्ने जुन प्लान (योजना) बनाएर आए, त्यो प्लानलाई सहयोग पुग्ने गरी साथ दिने कि नदिने भन्ने हामी जस्ता कार्यकर्ताको निम्ति अगाडिको प्रश्न हो । 

तपाईंले भन्नुभयो अझ बढी बाहिरबाट आयो, पार्टीभित्र त फाट्टफुट्ट उठ्यो । त्यो भनेको चाहिँ एमाले विरोधी कुरा थियो कि केपी ओली विरोधी कुरा थियो भन्ने कुरा छुट्टाउन सकिएन कि क्या हो त्यसो भए ?

भदौ २३ र २४ को घटना नघट्दासम्म यो केपी ओली विरोधी कुरा हो भन्ने अलि-अलि भ्रम थियो होला मान्छेहरूलाई । २३ र २४ को घटनाले केपी ओली विरोधी मात्रै थिएन भन्ने पुष्टि गर्‍यो नि । केपी ओली विरोधी मात्रै थियो, केपी ओलीलाई सत्ताबाट हटाउने कुरा मात्रै थियो भने सत्ताबाट हटाएपछि, केपी ओलीले राजीनामा दिएपछि कोर्स बन्द हुनुपर्थ्यो कि पर्दैनथ्यो ? जब केपी ओलीले राजीनामा दिनुभयो त्यसपछी अगाडि त बढ्दैनथ्यो होला नि । माग पूरा भयो फर्के हुन्थ्यो नि त । 

विध्वंश त २३ गते भन्दा २४ गते भयो नि धेरै । २४ गते केपी ओलीले राजीनामा दिएपछि भयो । बेसी विध्वंश भएपछि केपी ओली त एउटा बहाना बनाइएको थियो । त्यसैले त्यो विरोध भनेको केपी ओली विरुद्धको थिएन । एमाले विरुद्धको पनि मात्रै पनि रहेनछ । एमालेलाई मात्रै गर्‍यो त ? कांग्रेसलाई किन छोएको ? माओवादीलाई किन छोएको ? अरू-अरूलाई किन छोएको ?

केपी ओली विरोधीलाई पनि छोयो ?

छोयो । यो एमाले विरुद्धको थियो, केपी ओली विरुद्धको थियो भन्ने कुरा त्यो आन्दोलनबाट खण्डित भयो । जे आन्दोलनबाट गतिविधि भए, त्यो गतिविधिले त्यो खण्डित गर्‍यो । हेर्दा साँच्चै भन्ने हो भने यो कुनै पार्टी लक्षित, कुनै नेता लक्षित भन्दा पनि राज्य लक्षित नै रहेछ । राज्यलाई असफल बनाउने । हाम्रो राष्ट्रिय स्वाभिमान माथि प्रश्न चिन्ह खडा गर्ने ।

त्यो पार्टी अध्यक्षले पनि भन्नुभएको छ, यहाँभित्रको मात्रै खेल होइन, अलि वैदेशिक पनि छ भन्ने खालको कुरा हो तपाईंको पनि ? 

त्यो त ओपन सेक्रेट कुरा हो । 

नयाँ नक्सा जारी गर्दा त्यसलाई चुच्चे नक्सा पनि भनिन्छ । त्यसबेला तपाईं आफैं भूमि सुधार मन्त्री हुनुहुन्थ्यो, तपाईँले मसँगको अन्तर्वार्तामा 'अहिले पनि म असुरक्षित फिल (महसुस) गरिरहेको छु यो नक्सा जारी गरेपछि' भन्नभएको थियो होइन ? 

यो पब्लिकली मैले भनेको हो ।  बोलेको कुरा मैले त भन्या हो । किनभने मलाई थाहा छ नि मैले के-के भोगें भन्ने त । कस्ता-कस्ता प्रेसर (दबाब) भोगेँ, कस्ता-कस्ता खालका अफर आए, त्यो त मलाई थाहा छ नि । म एउटा राज्यको जिम्मेवार ठाउँमा थिएँ । राज्य सञ्चालन गर्ने एकजना सदस्य थिएँ ।

तपाईं त सम्बन्धित मन्त्रालय, जो नक्सा नै कोर्ने मन्त्रालयमा हुनुहुन्थ्यो, मन्त्री त अरू पनि थिए, अरूलाई त्यत्रो चासो पनि थिएन होला । त्यस्तो थ्रेट (धम्की) पनि फिल भएन होला नि त उनीहरूलाई त ?

नेपालको सिमाना त सुगौली सन्धिले निर्धारण गरेको हो नि । कहीँबाट देखिने गरी हस्तक्षेप थियो, कतिपय मुलुकबाट देखिने गरी हस्तक्षेप थियो, कतिपय मुलुकबाट नदेखिने गरी थियो । कहीँबाट धेरै हुन्थ्यो, कहीँबाट कम हुन्थ्यो ।

Padma Aryal4

त्यसैले 'आकाशको छिमेकी र भूगोलको छिमेकी' भन्छौँ नि अहिले हामी । परराष्ट्र उसमा त्यो परिभाषा छ अहिले ?

दुनियाँले लगभग बुझिसकेको छ कहाँ-कहाँको हात थियो भन्ने कुरा । यत्ति हो आन्तरिक कुरा मात्रै होइन, बेसी चाहिँ बाह्य नै हो ।

तर मानिसहरूको प्रश्न के छ भने जो राज्य सञ्चालन गर्छ, कार्यकारी प्रमुख हुन्छ, उसलाई हामीले ‘कोट अन कोट’ त्यस्तो भाषा अब कति ठीक हुन्छ, हामीले 'तपाईँ देशको गोठालो हो है, हाम्रोतिर केही चोरी हुन्छ कि, हाम्रोतिर अलि राम्रो बाली अर्काले आएर खाइदिन्छ कि, चोर बाख्राहरू हुन्छन् कि' भनेर उहाँलाई देशको गोठालो राखेको हो नि त हामीले । अनि उहाँले नै त्यसो भन्न मिल्छ त ? जिम्मेवारी लिनु पर्दैन उहाँले ? 

प्रश्न गर्न पाइयो ।

'रेखदेख गर्नुस् है' भनेको, 'अँ मलाई थाहा नै छैन' भनेर उहाँ हिँड्दिनुभयो नि ।

प्रश्न गर्न पनि पाइयो, जवाफदेहिता पनि आफ्नो ठाउँमा छ । नैतिक जवाफदेहिता, नैतिकता पनि आफ्नो ठाउँमा छ । तर रियालिटी के हो भने केपी ओलीले नेतृत्व गरेको समयमा घटना घटेको साँचो कुरा हो । तर यो घटना घटाउनमा केपी ओलीको भूमिका हो भन्ने कुरा त होइन नि । कसैले भन्दैन नि त्यो कुरा त ।

थाहा नपाउनु चाहिँ उहाँको कमजोरी हो नि ? 

त्यो चाहिँ राज्यका संयन्त्रहरूको कुरा भयो । 

रेखदेख गर्न नसक्नु ?

हाम्रा राज्यका संयन्त्रहरूले सरकारलाई सहयोग गरे कि गरेनन् ? राज्यको पक्षमा उभिए कि उभिएनन् ? त्यो तपाईँ हामीले बाहिर बोल्ने होइन, मनमनै त्यसको चाहिँ समीक्षा गर्ने हो जस्तो लाग्छ मलाई ।

आज एउटा गम्भीर प्रश्न चाहिँ भदौ २३ गतेको घटनाको असर चाहिँ २४ गते हो । अब २४ गतेलाई त्यो मात्रै, २३ गतेको मात्रै कारण त मान्न सकिँदैन, तपाईँले भनेजस्तो केही न केही कुरा त छ । तर पनि मूल कारण त त्यो हो, केपी ओली त्यतिबेलाको कार्यकारी प्रमुख हो मुलुकको । थोरै जिम्मा त लिए हुन्थ्यो नि नि उहाँले भन्ने मान्छेहरूको चाहना छ के । मानौँ त्यो घटना नै घटेको थिएन जस्तो गरेर बोल्नुहुन्छ उहाँ त ?

हामीले बैठकमै त्यो दुःखद् घटना भनेर निष्कर्ष निकालैका छौं । दुःखद् मात्रै होइन, देशद्रोही खालको जुन प्रवृत्ति देखियो, जे गतिविधि देखियो, यसलाई त स्वाभाविक भनेकै छैन नि । यो अस्वाभाविक हो । हामीले त गम्भीरतापूर्वक भनेका छौँ । तसर्थ कत्ति पनि भएन भन्ने कुरा होइन, यत्ति कुरा हो कि 'हाम्रा कारणले भएको त कसरी भन्ने त नि ?' त्यो कसैले पनि भन्छ जस्तो लाग्दैन । 'यो यो कारणले तिम्रा कारणले नै हो' भनेर त कसैले भन्छ जस्तो पनि लाग्दैन । 

२३ को कारणले २४ होइन, यो त प्लान (योजना) भित्रको रहेछ भन्ने कुरा त त्यो डिस्कर्डमा भएको कुराले देखाउँछ नि । 

डिस्कोर्डले निकालेको ?

हो नि । त्यस्तो डरलाग्दो सङ्कटबाट बाँचेका रहेछौं नि । प्राण घातक बम व्यक्ति-व्यक्तिकहाँ फाल्ने, पुलिस जलाउने, अनि नेतालाई गर्ने, त्यस्तो डरलाग्दो कुरा, बिचरा ती जेनजी भाइबहिनीको प्लान हो त त्यो ? जेनजी भाइबहिनीको प्लान त होइन नि ।

त्यो थाहा नपाउने हाम्रो राज्य संयन्त्र, त्यसको नेतृत्व गर्ने कार्यकारी प्रमुख भन्यो भने ?

हाम्रो जुन सूचना संयन्त्र हो, कमजोर भयो । 

भदौ २२ गते बेलुका झन्डै १२ बजेसम्म तपाईंहरुका पार्टी अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री भाषण गर्दै हुनुहुन्थ्यो गोदावरीमा । 'अब ८४ मा यसो गर्ने, भोलि यसो गर्ने, पर्सि यसो गर्ने' भनेर । भोलिपल्ट बिहान त्यस्तो हुँदोरहेछ भन्ने थाहा भएनछ होइन ?

प्रधानमन्त्रीज्यू एक हप्ता चीन भ्रमणको तयारी र भ्रमणमा व्यस्त हुनुभयो । फर्केलगत्तै गोदावरीको कार्यक्रममा तीन दिन व्यस्त रहनुभयो । यसबीचमा उहाँले बाहिरी सूचना धेरै लिन पाउनुभएन। गोदावरीको कार्यक्रम सकेर आएपछि उहाँलाई सुरक्षा निकायले जे ब्रिफिङ गर्‍यो, उहाँ त्यसमै भर पर्नुभयो ।

Padma Aryal5

सायद उहाँलाई 'दुई–चार सय विद्यार्थी आउँछन्, नारा लगाउँछन् र जान्छन्' भन्ने सामान्य रिपोर्टिङ गरियो । त्यो रिपोर्टिङ गलत थियो वा सूचना लुकाइयो, त्यो समीक्षाको विषय हो । तर कार्यकारी प्रमुखले विश्वास गर्ने त आफ्नै संयन्त्र (नेटवर्क) लाई नै हो ।

अब एमालेतिरै फर्कौं । पार्टी र नेतृत्वमाथि आक्रमण भयो भन्दैमा केपी ओली नै फेरि अध्यक्ष हुनुपर्छ भन्ने तपाईँको तर्क जायज छ ?

अहिले केपी ओलीलाई जसरी पनि बहिर्गमन गराउनुपर्छ भनेर बाह्य शक्तिहरू लागिरहेका छन् । यो विरोधको प्रवृत्ति हेर्दा पार्टीभित्रभन्दा पार्टी बाहिरका शक्तिहरूको हात बढी देखिन्छ । हाम्रा प्रतिस्पर्धी वा अहित चाहनेहरूको चाहनाअनुसार एमालेले नेतृत्व छान्ने कुरा हुँदैन । उनीहरूले सिर्जना गरेको परिस्थितिले हामीलाई स्वतन्त्रतापूर्वक नेतृत्व चयन गर्ने वातावरण नै दिएन । त्यसैले यो बाह्य हस्तक्षेपका विरुद्ध पनि केपी ओलीको निरन्तरता आवश्यक देखिएको हो ।

पटक–पटक एउटै व्यक्तिलाई दोहोर्‍याउनुको साटो उहाँलाई विश्राम दिएर अर्को पुस्तामा नेतृत्व हस्तान्तरण गर्दा हुँदैनथ्यो ? उहाँ सफल भइसक्नुभयो त भन्नुहुन्छ, तर बाहिर त असफल भन्छन् नि ?

उहाँलाई 'असफल' भन्ने कुरामा म सहमत छैन । उहाँले यो पार्टीलाई धुलोबाट उठाएर बचाउनुभएको हो । कुनै बेला एमालेको झन्डा र सूर्य चिह्न पनि पाइँदैन कि भन्ने त्रासमा हामी थियौँ । त्यस्तो सङ्कटबाट पार्टीलाई जोगाएर, घेराबन्दी र महागठबन्धनका बाबजुद लोकप्रिय मतमा पहिलो पार्टी बनाउने काम केपी ओलीले नै गर्नुभएको हो ।

अहिलेको राष्ट्रिय राजनीतिमा देखिएको अस्थिरता, सङ्कट र बाह्य चलखेललाई चिर्न निडर र साहसी नेतृत्व चाहिन्छ । निर्णय क्षमता र नाकाबन्दी, कोरोना महामारीजस्ता संकट व्यवस्थापनमा उहाँ अब्बल देखिनुभयो नि । अहिले पदाधिकारीमा रहेका हामी सबैसँग तुलना गर्दा क्षमता र अनुभवका हिसाबले उहाँ नै उपयुक्त हुनुहुन्छ ।

केपी ओलीलाई नै विकल्पहीन मान्दा एमालेले विधि र पद्धति छोडेर व्यक्तिपूजा गर्न थाल्यो भन्ने आरोप पनि छ नि ?

हामीले विधि र पद्धति छोडेका छैनौँ । केपी ओली अहिलेसम्म महाधिवेशनबाट निर्वाचित भएरै आउनुभएको हो, टीका लगाएर होइन । आठौँ, नवौँ र दशौँ महाधिवेशनमा उहाँले प्रतिस्पर्धा गर्नुभयो । अहिले पनि सहमति नभए उहाँ चुनाव लड्न तयार हुनुहुन्छ । लोकतान्त्रिक विधिबाटै कार्यकर्ताले उहाँलाई चुनेका हुन् । यसपटक पनि कार्यकर्ताको मनोविज्ञान र भावनात्मक केन्द्र केपी ओली नै हुनुहुन्छ ।

पूर्वराष्ट्रपति विद्या भण्डारी र अध्यक्ष ओलीबिचको सम्बन्धमा देखिएको चिसोपन र उहाँको सदस्यता नवीकरणको विवाद नि ?

उहाँहरूबिच जुन तिक्तता सार्वजनिक रूपमा देखियो, त्यो हामी कसैलाई पनि शोभनीय र मीठो लागेको छैन । विगतमा उहाँहरू एक–अर्काको राम्रो सहयोगी हुनुहुन्थ्यो । विद्या भण्डारीको सदस्यता नवीकरणको विषयमा पार्टीमा छलफल भएकै हो । मेरो व्यक्तिगत धारणाभन्दा पनि पार्टीले यसलाई गम्भीरतापूर्वक लिएर असमझदारी हटाउन पहल गर्नुपर्छ । यो तिक्तता लामो समय रहनु हुँदैन ।

महाधिवेशन प्रतिनिधि छनोटमा झन्डै ४० प्रतिशत सङ्गठित सदस्य सहभागी भएनन् भन्ने कुरा आएको छ । के यो पार्टीप्रतिको वितृष्णा हो ?

यसलाई वितृष्णा भन्न मिल्दैन । यो मूलतः सूचना र व्यवस्थापनको कमजोरी हो । हामीले केन्द्रबाट 'सकेसम्म सर्वसम्मत गर' भन्यौँ । जिल्ला र स्थानीय कमिटीले 'सहमति भइहाल्छ, किन दुःख दिने' भनेर सबै सदस्यलाई खबर गरेनन् वा ढिलो खबर गरे । धेरै सदस्यहरू 'मेरो सहभागिता बिना पनि सहमति हुन्छ' भन्ने ठानेर गएनन् । यसको हामी समीक्षा गर्छौं, तर यो पार्टीप्रतिको वितृष्णा होइन ।

११ औँ महाधिवेशनपछि एमालेमा पद्मा अर्यालको भूमिका के हुन्छ ?

अहिले हाम्रो मुख्य जोड सिङ्गो पार्टीलाई एकताबद्ध बनाउने र सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्नेमा छ । यदि सहमति भयो भने नेताहरूको व्यवस्थापन त्यहीअनुसार हुन्छ । प्यानलगत प्रतिस्पर्धा भयो भने परिस्थिति अर्कै हुन्छ । त्यो विषय नेतृत्वसँग बसेरै छलफल हुन्छ । व्यक्तिगत चाहनाले मात्रै सबै कुरा निर्धारण गर्दैन ।

भिडियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप