शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

भदौ २३ र २४ को घटनापछि देश प्रतिक्रान्ति तर्फ बढ्यो: अध्यक्ष ओली

प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्नाविरुद्ध प्रमाण तयार गर्न चुनौती
शनिबार, २० मङ्सिर २०८२, १६ : ०९
शनिबार, २० मङ्सिर २०८२

सारांश

  • केपी शर्मा ओलीले भदौ २३ र २४ को घटनापछि देश प्रतिक्रान्ति तर्फ अघि बढेको बताएका छन्।
  • ओलीले वर्तमान सरकारलाई असंवैधानिक र लोकतन्त्रको उपहास भएको आरोप लगाउँदै प्रतिनिधि सभा पुनर्स्थापनाको माग गरे।
  • उनले नेकपा एमाले देश, जनता, लोकतन्त्र, सुशासन, विकास र संविधानको पक्षमा रहेको दाबी गर्दै चुनावको वातावरण बनाउन चुनौती दिए।

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ को घटनापछि देश प्रतिक्रान्ति तर्फ अघि बढेको बताएका छन्। शनिबार नेकपा एमालेको ११औँ महाधिवेशनको लागि नवयुग ई-बुलेटिन शुभारम्भ गर्दै ओलीले प्रतिगमन हटाएर देश र संविधानलाई मूल बाटोमा ल्याउनु आजको आवश्यकता रहेको बताएका हुन्।

उनले भने, “देशमा फेरि एक पटक प्रतिगमन भएको छ, यो प्रतिगमन देशका लागि दुर्भाग्य हो, यसलाई क्रान्ति भनेर महिमामण्डन गर्नु बुद्धिहीनता हो, आगजनी, तोडफोड र लुटपाट क्रान्ति हुन सक्दैन।”

ओलीले अहिले विधि प्रक्रिया बिना नै कुर्सीमा बसेर आफूलाई सरकार घोषणा गरिएको भन्दै यो लोकतन्त्र माथिको उपहास भएको दाबी गरे। उनले असंवैधानिक सरकारले असंवैधानिक तरिकाले विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापित गर्नुपर्ने धारणा राखे। उनले अब पुराना पार्टी सकिए भन्न नसोच्न आग्रह गर्दै पार्टीहरूकै सरकार बन्ने दाबी गरे।

अध्यक्ष ओलीले सरकारले छानबिन गर्न भनि बनाएको आयोगलाई जनतालाई झुक्क्याउने बुख्याचा भएको स्पष्ट पारे। उनले प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्नाविरुद्ध प्रमाण तयार गर्न चुनौती दिए।

आफूभन्दा साढे तीन महिना कान्छी प्रधानमन्त्री कुन जेनजीको सरकार भन्दै ओलीले प्रश्न गरे, "जान्नु न सुन्नु, चुनाव लड्नु न होर्नु, कताको सरकार?" उनले अहिलेको सरकारलाई अनाडी सरकार भएको बताउँदै विभिन्न अनधिकृत काम गरिरहेको आरोप लगाए।

ओलीले सरकार चुनाव गराउनको लागि बनेको हो भने चुनावको वातावरण बनाउन चुनौती दिए। उनले जेलका अपराधी र प्रहरीका हतियार बाहिर राखेर चुनाव हुन नसक्ने स्पष्ट पारे। राजनीतिक दलहरू प्रति वैरभाव र अपराधी तथा हतियार बाहिर राखेर कुनै पनि हालतमा चुनाव हुन नसक्ने उनको धारणा छ। उनले सरकारलाई निर्वाचन गराउने भन्दा पनि पुराना दल आउँछन् भन्ने डर भएको बताए।

ओलीले नेकपा एमाले देश, जनता, लोकतन्त्र, सुशासन, विकास, संविधानको पक्षमा लगातार गतिशील पार्टी भएको दाबी गरे। उनले देश र दुनियाँको ध्यान एमालेप्रति रहेको बताउँदै एमालेले आफूलाई धेरै अपडेट गर्न जरुरी रहेको बताए।

उनले देश अहिले विभाजित अवस्थामा रहेको बताउँदै यतिबेला अत्यन्त सघन ढङ्गले एमालेका क्रियाकलाप सम्प्रेषित गर्नुपर्ने धारणा राखे। "सत्य सम्प्रेषण गर्ने कुरा सजिलो छैन तर त्यो नेकपा एमाले र एमालेको मुख पत्रले गर्छ," उनले भने।

ओलीले नेकपा एमाले देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, स्वतन्त्रता र स्वाभिमानको पहरेदार भएको दाबी गरे। लोकतन्त्र ल्याउन त्याग, तपस्या र बलिदान गरेको शक्ति भएकाले लोकतन्त्रलाई कमजोर पार्न र सिद्ध्याउन एमालेले नदिने प्रतिबद्धता उनले व्यक्त गरे। उनले प्रतिकूल अवस्थामा अहिलेको संविधान बनेको र नेपाललाई जातीय आधारमा धुजा-धुजा पार्न खोज्दा जोगाएर संविधान ल्याइएको बताए। देशको बिग्रिएको अर्थतन्त्रलाई एमालेले सकारात्मक दिशामा ल्याउने काम गरेको र विश्व मञ्चमा नेपालको भूमिकालाई देखिने गरी स्थापित गर्ने काम एमालेबाट भएको उनले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप